सय केजी सुन बरामद भएकाे घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
बुधबार साँझ झण्डै सय केजी सुन बरामद भएपछि त्यसकाे अनुगमन गर्ने गृहमन्त्री श्रेष्ठ शुक्रबार विमानस्थलस्थित भन्सार कार्यालय पुगेका हुन्।
उनीसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख भन्सार कार्यालय पुगेका छन्।
विमानस्थलको बाटो भएर छिरेको सुन दुई दिनअघि भन्सार पाससमेत भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटि उजागर गरेको छ।
भन्सारकाे अनुगमनपछि गृहमन्त्री श्रेष्ठले याे काण्डमा जसोसुकै भए पनि यसको नेक्सस केलाउने बताए।
यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि कुराकानी भएको बताउँदै उनले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ। जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं।’
गृहमन्त्री श्रेष्ठले विमानस्थलमा सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउनेभन्दा पनि समन्वय र एकीकृत भएर काम गर्नुपर्नेमा जोड दिए।
‘राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो’, उनले भने, ‘यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै कठोररूपले जिम्मेवार हुनुपर्छ, तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ।’