एनआरएनए साउदी: निर्विराेध कार्यसमितिप्रति बहालवाला अध्यक्षकाे असहमति

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आगामी कार्यकालका लागि निर्विरोध कार्यसमिति चयन गर्ने प्रयास थालिएको छ।

प्राप्त जानकारीअनुसार हालसम्म वरिष्ठ उपाध्यक्षबाहेका अन्य पद सहमतिमै टुंग्याइएको छ। अध्यक्षका लागि अहिलेसम्म रवीना अर्यालको एकल उम्मेदवारी छ।

वरिष्ठ उपाध्यक्ष पदमा भने सहमति जुट्न सकेको छैन।

१५ जुलाइसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो। वरिष्ठ उपाध्यक्षबाहेक अन्य पदमा दोहोरो उम्मेदवारी परेको छैन।

वरिष्ठ उपाध्यक्षमा भने उमेश भट्टराई र विशाल कुमार श्रेष्ठको उम्मेदवारी परेको छ।

निर्वाचन संयोजकको जिम्मेवारी पाएका मध्यपूर्व क्षेत्रीय संयोजक राजेन्द्र अर्याल (जोन) का अनुसार वरिष्ठ उपाध्यक्ष पदमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ।

उपाध्यक्षमा उम्मेदवारी दिएका राज कुमार गिरी, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुवेदी निर्विरोध चुनिएका छन्।

यस्तै महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सह–कोषाध्यक्षमा दुर्गा बहादुर काउचा चयन भएका छन्। यसैगरी, युवा संयोजकमा विष्णु रावत र महिला संयोजकमा लक्ष्मी थापा मगर निर्विरोध भएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदम बहादुर महत, दिपक ढुंगाना, अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले निर्वाचित भएका छन्।

त्यसैगरी, आइसीसी सदस्यहरुमा राम बहादुर क्षेत्री र दिपक रेग्मीको मात्र उम्मेदवारी परेको छ।

संघको अधिवेशन २८ जुलाइका लागि तय भएको छ। यही अधिवेशनले अहिले निर्विरोध भएकालाई अनुमोदन गर्नेछ।

बहालवाला अध्यक्षको विरोध

बहालवाला अध्यक्ष डम्बर यादवले भने अधिवेशन स्थगित भएको घोषणा गरेका छन्।

यादवले निर्वाचनसम्बन्धी प्रक्रिया विधानसम्मत नभएको आरोप लगाउँदै सामाजिक सञ्जालबाट अधिवेशन स्थगित गरिएको जनाएका छन्। उनले आइसीसीलाई समेत पत्रचार गरेर स्थगित गरिएको जानकारी दिएका छन्।

तर, अध्यक्षकै विरोधका बावजुत नयाँ कार्यसमितिमा सबैजसो पदमा निर्विरोध घोषणा भइसकेको छ।

एनआरएनए साउदीका एक पदाधिकारीका अनुसार कार्यसमितिका २४ जनामध्ये २१ जना सहमतिमै नयाँ कार्यसमिति चयन गर्न तयार थिए। ‘तर, यादव भने आफू फेरि अध्यक्षमा आउन विभिन्न बखेडा झिके। अधिकांशको मत सहमतिमा रवीनाजीलाई दिनुपर्छ, चुनाव गराउन हुँदैन भन्ने थियो,’ उनले भने, ‘बहुमतको आधारमा निणर्य हुने हो। अधिवेशन २८ जुलाइमै हुन्छ।’

यादवले भने निर्वाचन समितिका संयोजक अर्यालले आफ्नी श्रीमती रविनालाई अध्यक्ष बनाउन विधानको धज्जी उडाउँदै जवरजस्ती गरेको आरोप लगाएका छन्।

‘निर्वाचन समितिका संयोजकज्यु स्वयंले मसँग आफ्नी श्रीमतीलाई आगामी कार्यकालको अध्यक्षमा समर्थन गरिदिन अनुरोध गर्नुभएको थियो। यसो गरेर उहाँले संघको सर्वमान्य आचारसंहिताको बुंदा ३९ (ङ)मा खोजिएको निस्पक्षता र तटस्थता उलंघन गर्नुभएको साथै आचार संहिताकै बुँदा ४(क) मा निषेध गरिएको नातावाद र परिवारवादलाई बढावा दिनुभएको छ,’ यादवको आरोप छ।

बहुमतमा रहेका पदाधिकारी भने यादवले अनुशासनविपरीत सामाजिक सञ्जालबाट अधिवेशन स्थगित गरेको भन्दै उनलाई कारवाही गर्ने तयारीमा छन्। ‘उहाँ एक्लै उफ्रिएर केही हुँदैन। चित्त नबुझेका कुरा कार्यसमितिमा भन्ने हो, फेसबुकमा लेख्ने होइन,’ एक पदाधिकारी भन्छन्, ‘उहाँ अरु कसैको उक्साहटमा लाग्नु भएको छ।’

यादवलाई शेष घले पक्षका सल्लाहकार धरम केसीले उचालेको उनले बताए। यादव यसअघि सहमतिमै अध्यक्ष बनेका थिए। दुई वर्षे कार्यकाल विवादरहित चलाएपनि नेतृत्व हस्तान्तरणको समयमा भने उनी अल्पमतमा परेका छन्।

साउदीकै कतिपयले भने यादवकै पक्षमा समर्थन गरेका छन्। ‘पेलेरै जान खोजेपछि उहाँ विस्फोट हुनुभएको हो। उहाँ राम्रै छवि भएको, शान्त स्वभाव भएको व्यक्ति हो,’ यादव निकटका एक व्यक्तिले भने।

प्रकाशित मिति: : 2023-07-17 12:48:00

प्रतिकृया दिनुहोस्