पर्खाइको सरल रेखा यसरी तन्किरहँदा
ढुङ्गामा प्राण भरिन्थ्यो होला
काँडाहरू मुस्कुराउँथे होलान्
तर कवितांशहरू कविता बनिदिँदैनन् !
यहीबेला
अनायास एउटा विम्ब आउँछ - काँडो !
वर्षौँदेखि घर आँगनमा समयका काँडाले
खुसीका पाइतालाहरु घोचिएकै छन्!
सम्झन्छु- हजुरबुवा र हजुरआमाको पालादेखि नै
जाडो/गर्मी छल्न घर छोड्ने पर्यटक झैँ
अस्पतालको बजारमा आँसुको पैदल यात्रा गरिएकै छ
सँगसँगै ज्ञात-अज्ञात रोगका काँडाले आहत हुँदै
शरीरको खरिद बिक्री चलिरहेकै छ।
कविता लेख्ने प्रयास न हो!
झट्ट स्कुलका इतिहासका कक्षा सम्झन्छु -
महिन्द्र मल्लका आदर्श कहानीहरु चित्रित हुन्छन्!
देख्छु- राजैराजाको वर्तमान मेरो देश
जहाँ व्यथाको मन्दिरमा बाध्यताका मुद्रा चढाइन्छ!
र आफूले खाएर बचेको खुवाउने
उनीहरुका विचारका ताराहरू चमचमाइरहन्छन् !
उफ !
खै, कस्ता विम्ब, प्रतीकले कविता बनाउन सक्छन् !
अलमलमा छु
तर कविता लेखेर सुनाउनुछ -
यस्तो कविता -
जस्तो कि, हिउँको बर्को ओढेको सगरमाथा
पीडा फुलाएर मुस्कुराइरहेको लालीगुराँस
समृद्धि सुसाउँदै बगिरहने कर्णाली
देशको प्रसिद्धि देखाउने राराका ऐनाहरु
प्रेम मगमगाउने लुम्बिनीका फूलहरु!
फेरि अचानक गिलो माटो झैँ
यो मन फितलो र अपूर्ण हुन खोज्छ!
प्रिय कवि ! यी विम्बहरुले कविता बनाउन सक्छन्?
कविताहरू कवितामा दर्ता हुन सक्छन्?
आज सोध्नु छ -
कविताको सौन्दर्यलाई बेवास्ता गर्नेहरुलाई!
कविताको शक्तिलाई उपहास गरेर
मान्छेका छाती टेक्ने राजा मान्छेहरुलाई सोध्नु छ -
वास्तवमा यो कविता भयो कि भएन?