यो प्रसंग समाजवादी मोर्चाको हो। विषय प्रवेशअघि केहीबेर खेल र पुस्तकका कुरामा तैरिन खोजौं, ‘द फङ्सन अफ द एक्जुटिभ’ पुस्तकका लेखक चेष्टर आइ बानार्डले आफ्नो पुस्तकमा नेतृत्वले कसरी सामाजिक र मनोवैज्ञानिक ढङ्गले विश्लेषणसहित काम गर्ने भन्ने विषयमा खुलेर लेखिदिएका छन्।
उनको एउटा लेक्चरको शीर्षक ‘माइन्ड इन इभ्रीडे अफियर्स’ मा ‘लजिकलु र ‘नन लजिकल’का विषयमा गजवले आफ्नो प्रस्तुति दिएका छन्।
समाजवादी मोर्चा यतिबेला ‘लजिकल’ छ वा ‘नन लजिकल’? यो अहिलेको पेचिलो बहस र एउटा त्यस्तै प्रश्न पनि हो।
राजनीति हरेक खाले सम्भावनाको प्रचुर मात्रा रहने विषय हो।
तासको खेलमा कहिलेकाहीँ ‘एक्का’ पनि मर्नसक्छ। मौका परे ‘गुलाम’ले गेम बदलिदिन्छ। त्रुपको एक्काभन्दा कहिलेकाहीँ ‘बादशाह’हरूले गेम चेन्ज गर्नसक्छन्। उता राजनीतिमा ‘जोकर’ पनि ‘एडजस्ट’ हुन्छन् तर खेल त्यसमाथि पनि फुटबलमा मुलतः स्ट्राईकर आवश्यकता हुन्छ।
त्यसरी नै राजनीतिमा पनि बेलाबेला स्ट्राईकर निस्कन्छन्।
अर्को खेल छ, क्रिकेट। क्रिकेटको ‘पारी’ महत्वपूर्ण रहन्छ। राजनीति त्यसमाथि पनि सत्ताको आयु क्रिकेटको ‘पारी’ जस्तै दखिन्छ।
अहिले नेपालको राजनीतिमा स्ट्राईकर हुन्, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। चुनावअघि बनेको मोर्चा नेपाली कांग्रेससँगको सहकार्यलाई चुनौती दिएर ‘मिराकल’ गर्दै पछिल्लो राजनीतिक पारीमा एमालेको समर्थन जुटाएर प्रधानमन्त्री भए, दाहाल। हातबाट सत्ता गुमाएको कांग्रेसले ‘गुलाम’ दाउ चाल्यो र राष्ट्रपतिसहित प्रदेश सरकारमा बलियो हिस्सा लियो।
कतिपयले राजनीतिलाई दिमागको खेल पनि भन्छन्। व्यक्तिगत रुपमा मलाई फुटबल मनपर्छ। म हेर्छु कि फुटबलमा गोल गरेर पनि खेल जित्न सकिन्छ, गोल रोकेर पनि विजयी भइन्छ। तर राजनीतिमा अवसर हेरेर नेताहरूले लक्ष्यसँगै उम्मेदवार नै बदलदिन्छन्, टिम जाबोको त के कुरा। ‘डमी क्यान्डिडेट’ त कति हो कति! राजनीतिमा विधान त के संविधान बदल्दिन्छन्। तर खेलमा नियम र टिम सधैँ महत्वपूर्ण रहन्छ। जो कि पहिल्यै तय हुन्छ।
आम रुपमा र बुझिने भाषामा भन्नुपर्दा कुनै निश्चित परिवेशमा विभिन्न राजनीतिक दलहरूका बीचमा सहकार्य गर्ने परम्परा अन्तर्राष्ट्रिय स्तरमा नै रहेको छ। नेपालमा पनि राजनीतिक रुपमा व्यवस्था परिवर्तनमा यसरी मोर्चा बन्ने परम्परा रहँदै आएको छ। तर कतिपय अवस्थामा चुनाव जित्ने र सरकार बनाउने खेलमा मोर्चावन्दी पनि हुन्छ।
पछिल्लो पटक ५४ सांसद संख्यासहित बनेको समाजवादी मोर्चा चर्चाको विषय छ। त्यसमा चुनाव बाहिर रहेका नेत्रविक्रम चन्द विप्लवको उपस्थिति पनि छ। जुन रणनीतिक रुपमा चातुर्यताको गतिलो उदाहरण हो।
मोर्चा बन्दा त्यसका आधार लोकतान्त्रिक व्यवस्था, सुशासन, आर्थिक समृद्धिसहितका विषयमा सहकार्य गर्ने भनेर कार्यकर्तालाई गोलबद्ध गर्ने प्रयास तततत् राजनीतिक दलका अगुवाहरूले सहमति जुटाए।
के साँच्चिकै यिनै विषयका लागि मोर्चा बनेको हो त? नागरिकस्तरबाट प्रश्न छ। त्यसो हो भने सत्तारुढ दलहरू लगभग सबै यी विषयमा एउटै बोली बोलिरहेका छन्। समस्या कहाँ देखिन्छ र!
मोर्चा निर्माणको जगलाई केलाउने हो भने यिनीहरूलाई त राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी मुख्य चुनौती भएर ‘वर्लिन वाल’ जसरी अघिल्तिर खडा छन्।
समाजवादी मोर्चाको पछिल्लो घोषणाका अघिपछि सरकारले कतिपय भ्रष्टाचारका मुद्दालाई निरुपण गर्न खोजेको असरका रुपमा पनि देख्नसक्ने आधार भेटिन्छन्। त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको सिंगापुर भ्रमण आसपासमा सत्ता समीकरणको फेरवदलको गन्ध लगत्तैमोर्चाले मुर्त रुप लियो। तर त्यस्तो परिवर्तन तत्काल पुष्टि हुन सक्ने आधार दखिएनन्।
लगत्तै सत्ता साझेदार दलहरूबीच बजेट वितरणमा पनि एकमत रहेन, बजेट बाँडफाँटमा माधवकुमार नेपालले आफ्नो आपत्ति रहेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए।
मूल विषय सत्ताको नेतृत्व गर्ने भागवण्डाको अवधिमा आकाङ्क्षीहरू त्रसित रहेको दखिन्छ। अन्य बाह्य कारण जे जस्ता रहे पनि विगतमा पनि नेकपाको विघटन सरकारको नेतृत्व सहज हस्तान्तरण हुन नसक्नु नै थियो भन्ने स्पष्ट भइसकेको छ।
यतिबेला फेरि सत्ता साझेदार दलहरूमा को कतिबेला प्रधानमन्त्री बन्ने भन्ने पूर्वसहमति पालना हुने कि नहुने भन्ने चिन्ता र डर दुवै प्रष्ट देख्न सकिन्छ। त्यसमाथि अन्य नयाँ दलहरूसँगको गठजोडमा बन्न सक्ने नयाँ समीकरणका सम्भावनाले सशर्त सत्ता साझेदारी गर्नेहरूलाई पिरोल्न थालेको आभाष हुन्छ।
खासगरी माधव नेपाल र उपेन्द्र यादव समाजवादी मोर्चालाई सत्ता समीकरणमा आफ्नो अनुकुल प्रयोग गर्ने रणनीतिमा रहेको बुझिन्छ। प्रचण्ड सत्ताको आयु लम्ब्याउने ध्याउन्नमा लागेको प्रष्टै हुन्छ। उता, कांग्रेसका शेरबहादुर देउवा राजनीतिक जीवनको उत्तरार्धमा ‘ह्याप्पी इण्डिङ्ग’ को पारी खेल्न चाहन्छन्। जस्तो कि एकजना महान क्रिकेटर खेल जीवनबाट सन्यास लिँदा त्यो अनुकुलताको खोजीमा रहन्छन् र बाँकी रिटायर्ड जीवन सन्तुष्टताका साथ बिताउन चाहन्छन्। यो खेलकुदमा नैतिक बलका रुपमा अपनाइने सत्य कुरा पनि हो।
मोर्चाका उपादेयता
पहिलो कुरा प्रचण्ड सशर्त बनेका प्रधानमन्त्री हुन्। शर्तअनुसार आफ्नो कार्यकाल पूरा गरेर त्यसलाई तन्काएर जान चाहनु, दोश्रो विषय- माधवकुमार नेपाल आफूसँगको संसदको यही कार्यकालमा सरकारको नेतृत्व गर्न चाहने अभिलाषा।
तेस्रो अन्तर्य उपेन्द्र यादवसँग यो परिवेशमा कतै प्रधानमन्त्री नै बन्नसक्ने उपायको खोजीमा त्यसो हुन नसके आफ्नै नेतृत्वमा सरकारमा महत्वपूर्ण स्थानसहित संगठनलाई सत्ताको बलमा ‘रिभाईब’ गर्ने चाहनाको उत्कण्ठा।
अर्को महत्वपूर्ण पक्ष, नेत्रविक्रम चन्द विप्लव पनि प्रचण्ड पछि माओवादी नेतृत्वमा पुनर्स्थापित हुने योजना बुन्दै गरेको देखिन्छ। अनि आफ्ना नजिकका कतिपय नेता तथा कार्यकर्तालाई कारावासमुक्त गराउने रणनीतिमा पनि विप्लव लागेका छन्।
यो मोर्चाले अर्को कुराको पनि संकेत के गर्दछ भने सत्ता साझेदारीमा विश्वासको खाडल बढ्दै छ।
हुन त नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि सुरु भएको राजनीतिक यात्रामा एकातिर दलहरूबीच मोर्चाबन्दी र अर्कोतिर दरबारसँगको मोर्चाबन्दी खुबै चल्यो। ०४६ सालको परिवर्तनको मोर्चाबन्दीले नयाँ रङ्ग थपेकै थियो। त्यसयता २०६२-६३ को सात दल र माओवादीबीच पनि मोर्चा नै बनेको सम्झनैपर्छ। त्यसभित्र बाह्य शक्तिको भूमिकालाई नकार्न सकिँदैन।
विट मार्दै गर्दा समाजवादी मोर्चाको निर्माणका भित्रि कुराहरू निकट भविष्यमा सतहमा आउन केही समय पर्खिनै पर्ला, जो कि कुनै पनि अर्थमा सफा राजनीतिको आधार बन्न सक्नुपर्छ। यो विषयको लजिकल र ‘नन’लजिकलले देशलाई कता लैजाने हो केही समय पर्खनैपर्ला।