धनगढीमा भेटिए डेंगु संक्रमित

कैलालीको धनगढी उपमहानगरपालिकामा डेंगुको बिरामी फेला परेको छ। वडा नम्बर–९, गौरीकिटानका एक १४ वर्षीय किशोरमा डेंगु संक्रमण पुष्टि भएको हो।  

केही दिनदेखि बिरामी ती बालकको रगत परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय, कैलालीले जनाएको छ। हाल उनको उपचार भइरहेको कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले बताए। 

वर्खायाम शुरु भएसंगै डेंगुका बिरामी भेटिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य चौकी जान आग्रह गरेको छ। टाउको दुख्नु, थकाइ लाग्नु, वाकवाकी लाग्नु, मांसपेशी तथा जोर्नी दुख्नु, वान्ता हुनु र एक्कासी ज्वरो आउनु डेंगु संक्रमणको लक्षण हो।

‘एजिस एजिप्टाई’ नामक पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुबाट बच्नका लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झयाल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2023-07-07 20:39:00

प्रतिकृया दिनुहोस्