सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। अघिल्लो असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते कांग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन्।

कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाहले आफ्नो सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराइसकेका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ। नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सबैले उनलाई विश्वासको मत दिए ३६ पुग्न। उनी दुई तिहाइतर्फ उन्मुख देखिन्छन्।

आज मुख्यमन्त्री शाहलाई विश्वासको मत लिने वा नदिने भन्ने विषयमा दलहरूले दलको बैठक आह्वान गरेका छन्।

एमाले कांग्रेस र नाउपाले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेका छन् भने माओवादी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने सम्भावना रहेको छ। तर, उनीहरुले आज दिउँसो दलको बैठक राखेर यस विषयमा निर्णय गर्ने छन्।

१्१ सांसद रहेको राप्रपाका खेमादेवी विष्ट र स्वतन्त्र डा. तारा जोशीले पनि पक्षमा मतदान गर्ने सम्भावना क्षीण रहेको छ।

अहिलेसम्म विष्ट प्रतिपक्ष बेन्चमा बसेकी छन् भने जोशीले विपक्षमा मतदान गर्ने वा तटस्थ बस्ने विषयमा छलफल गरिरहेका छन्।

प्रकाशित मिति: : 2024-08-14 08:21:00

प्रतिकृया दिनुहोस्