पण्डित चाणक्यले भनेका छन्, ‘शिक्षकको काखमा निर्माण र प्रलय पल्लवित हुन्छ ।’ यो भनाइले शिक्षक र शिक्षण पेसाको महŒव एवं शक्तिलाई दर्साउँछ । प्राचीनकालदेखि शिक्षण पेसालाई सम्मानित पेसाको रूपमा हेरिन्छ । वर्तमान भौतिक तथा सूचना प्रविधिको युगमा समाज जुन ढंगले रूपान्तरित हुँदै गएको छ, शिक्षण पेसाको महŒव स्खलित हुँदै गएको विडम्बनापूर्ण अवस्था छ । हाम्रो देशमा त झन् शिक्षण कार्यलाई समाजले पेसाको रूपमा नै अंगीकार गरेको देखिँदैन । अन्य रोजगारीको अवसर प्राप्त गर्न नसक्नेहरू मात्र शिक्षण कार्यमा संलग्न हुन्छन् जस्तो मनोविज्ञानले नेपाली समाज निर्देशित छ । शिक्षण पेसामा लागेकाहरूलाई अन्य क्षेत्रको तुलनामा आर्थिक लाभ कम हुने हुँदा समाजमा सम्मानित जीवन बिताउन नसकिने बुझाइ पनि शिक्षकहरूमा देखिन्छ । विशेषतः निजी विद्यालयका शिक्षकप्रति आममनोविज्ञान सोचेजस्तो छैन ।
वास्तवमा शिक्षण पेसा अन्य सबै पेसाहरूको जननी हो भन्ने यथार्थलाई कसैले पनि नकार्न सक्दैन । जुन देशमा शिक्षण पेसा र शिक्षकमा राज्यको समुचित लगानी हुँदैन, आज त्यो देश विश्वमा अविकसित अवस्थामा रहेको छ । त्यस्ता अशिक्षित देश कैयौँ समस्यासँग जुधिराखेको छ ।