प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
बैठक आज बुधबार दिउँसो १:३० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको एमालेका एक नेताले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक बोलाइएको हो।
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको सार्वभौमिकतामै असर परेको भन्दै यसबारे बैठकमा छलफल गर्ने ती नेताले बताए।
यसैगरी उक्त अभिव्यक्तिप्रति संसद बैठकमा प्रधानमन्त्रीसँग जवाफ माग्ने एमालेले तयारी गरेकाे छ। उक्त अभिव्यक्तिले संसद्को गरिमालाई आघात पुर्याएकाे भन्दै संसद्मा पनि यो विषय उठाउने एमालेले जनाएकाे छ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार आयाेजित एक कार्यक्रममा ‘उहाँ (प्रीतम सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू, साथीहरूसँग लगातार छलफल गर्नुभयो’ भन्ने अभिव्यक्ति दिएका थिए। साेही अभिव्यक्तिका कारण अहिले प्रचण्ड विवादमा तानिएका छन्।