जीवनको एक समय यस्तो थियो जतिबेला भुइँमा हिँडिरहेका कमिला देख्दा पनि प्रदीप ढकालका पाइलाहरु आफैं रोकिन्थे।
संस्कृत शिक्षाले सुसंस्कृत भइरहेको त्यही ठिटो एक दिन डाक्टर बनेर पशुपतिर सोझिन्छ।
यी उनै प्रदीप ढकाल हुन्, जसले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएर पशुपतिनाथलाई खुलेआम लुटेर गए।
आज यिनै प्रदीप ढकाल अख्तियारको कठघरामा छन्। अनि अकुत सम्पत्ति जम्मा गरेको आरोपको सामना गरिरहेका छन्।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको हो।
ढकाल पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा समेत विवादमा परेका थिए। अख्तियारले बिगो रकम र कैद सजायको माग गरेको छ।
स्याङ्जादेखि पशुपतिको लुटसम्म
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त भएको दुई दिनपछि अर्थात् २०७४ साल भदौ २ गते बिबिसी नेपाली सेवामा एउटा छोटो अन्तर्वार्ता दिँदै डा. प्रदीप ढकालले भनेका थिए, ‘पशुपतिनाथका लागि बालुवा बेचेको पैसा जरुरी छैन। त्यहाँ (गोठाटारको करिब ५३४ रोपनीमा फैलिएको थुम्काहरू) बरू वृक्षारोपण गरौं। योगाश्रम बनाऔं। अलि सर्जनात्मक रुपमा सोचौं। त्यस्तो गर्दा विरोध र विवादहरू आउँछ भन्ने लाग्दैन।’
र, पदावधिको उत्तरार्द्धमा पुग्दै गर्दा डा. ढकाल अहिले निकै विवादित भएका छन्। सुरूवातका उनका ती ‘लालित्य’ लवजहरू पशुपतिमा बिताएका ४ वर्ष यसरी बदनाम भए कि, सामान्य फूल व्यापारीमाझमा समेत उनी ‘पशुपतिको पैसा खाने हाकिम’ भनेर चिनिए।
स्याङ्जाको एउटा सामान्य ब्राह्मण कुलमा जन्मिएका ढकाल संस्कृत पढ्नका लागि काठमाडौं छिरेका हुन्। उनका बुवा त्यो बेला सरकारी जागिरे थिए। जहाँ-जहाँ सरुवा हुन्थ्यो उनीहरू सबै परिवार बोकेर उतै जान्थे। त्यसैले प्रदीप ढकाल र उनका अरु भाइ-बहिनीहरू पनि उतै उतै गए र ठाउँ-ठाउँमा विद्यालय तहको शिक्षा लिए।
पछि उनले पाटन क्याम्पसमा संस्कृतबाट स्नातक गरे। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेपछि बनारसको हिन्दू विश्वविद्यालयबाट उनले विद्यावारिधि गरे।
‘हिन्दू धर्ममा शान्तिको अवधारणा’ विषयमा पिएचडी गरेका ढकाल क्याम्पसकालमा राम्रा राम्रा कविता लेख्थे। उनले थुप्रै गीत तथा कविताका कितावहरू लेखेका छन्। अरू धार्मिक किताबहरु लेखेका छन्।
त्यो बेलासम्म काठमाडौंमा उनको घर थिएन। डेरामा साथीहरूसँगै बस्थे। उनीसँगै क्याम्पस जीवन बिताएका उनका सहपाठीहरूले चिनेका प्रदीप ढकालको रुप थियो, सामान्य लवाइ खवाइ।
उनीसँग पैसासमेत हुँदैनथ्यो। साथीहरूले नै उनलाई पढ्नका लागि सहयोग गर्थे। कापी किताबदेखि कतिपय साथीहरूले उनलाई कपडासमेत किनिदिन्थे।
उनले जाँड, रक्सी, चुरोट, बिँडी केही पनि खाँदैनथे। अहिले पनि खाँदैनन्। माछामासु पनि खाँदैनन्। त्यो बेला त उनले सुर्ती खानेहरूसँग हातसमेत मिलाउँदैनथे।
‘बाटोमा हिँड्दा ढुङ्गाहरू पनि पन्छाइदिन्थे, कसैलाई नबिझोस् भनेर बाँटोका काँडासमेत पन्छाएर हिँड्थे,’ उनीसँगै पाटन क्याम्पस पढेका उनका एक जना सहपाठी भन्छन्,‘पशुपति कोषमा छिरेर अहिले त उनी निकै प्रदूषित भइसकेका रहेछन्। त्यस्तो मन भएका व्यक्त्ति पैसाको भोकले बिग्रिए।’
पशुपतिमा आँखा गाडिरहेका ढकालले त्यहाँ छिर्नका लागि राजनीतिक सम्बन्ध बढाउन थाले।
सुरूमा उनी विजयकुमार गच्छदारका छोरा सुवास गच्छदारसँग सम्बन्ध बढाए। उनले अरू पनि राजनीतिक दलसँग सम्बन्ध बढाए।
मधेसवादी दल, नेपाली कांग्रेस तथा नेकपा एमाले र माओवादी केन्द्रसँग पनि उनको बलियो सम्बन्ध छ।
ढकाल सदस्य सचिव नियुक्त हुँदा गच्छदार भौतिक योजना र उपप्रधानमन्त्री थिए। त्यो बेला जितेन्द्रनारायण देव संस्कृती, पर्यटन तथा नागरिक उड्डयन तथा पर्यटनमन्त्री थिए। त्यो बेला गच्छदारहरू (नेपाल लोकतान्त्रिक फोरम)मा थिए र नेपाली कांग्रेस(शेरबहादुर देउवा) नेतृत्वको सरकारमा सहभागी भएका थिए।
पशुपति कोषमा नियुक्त्त भएपछि उनले राजेन्द्र महतोसँगको सम्बन्धका आधारमा आफ्नी बहिनी नरमाया ढकाललाई समानुपातिकबाट सांसद बनाए। नरमाया कुनै राजनीतिक पृष्ठभूमिकी होइनन्।
महतोले उनलाई (तत्कालीन राष्ट्रिय जनता पार्टी)का तर्फबाट खस, आर्य कोटामा राखेर सांसद बनाए। त्यो बेला पनि प्रदीप ढकालले महतोलाई ‘ठुलै रकम दिएर सांसद बनाएको’ चर्चा चलेको थियो। तर, पछि नरमाया ढकालले विभिन्न सञ्चारमाध्यमा अन्तर्वार्ता दिएर त्यो आरोपको खण्डन गरेकी थिइन्।
नियुक्ति हुनासाथ ‘पशुपतिनाथका लागि बालुवा बेच्न आवश्यक छैन’ भनेर अन्तर्वार्ता दिँदै हिँडेका ढकालले भित्रभित्रै भने गोठाटारको ५ सय ३४ रोपनीमा फिँजिएका सुन्दर थुम्कामुनिका बालुवामा आँखा गाडिसकेका थिए।
सुरूदेखि नै विवादित बन्दै आएको गोठाटारको माटो र बालुवा बेच्नका लागि उनले सुरुदेखि नै भरमग्दुर प्रयास गरे। कार्यकालको अन्तिमसम्म पनि उनले त्यो बालुवा बेच्ने प्रयास गरिरहे। अहिले पनि उनी त्यो बालुवा बेच्नका लागि टेन्डर दिने तयारीमै छन्।
कोषमा रहँदा उनले राजनीतिक दलका नेताहरूसँग पनि ‘अस्वभाविक’ सम्बन्ध बढाएको कोषकै कतिपय सदस्य तथा कर्मचारीहरू बताउँथे।
‘उहाँको टेबलमै धेरै नेताहरूका मान्छे आउँथे। राजनीतिक दल र नेतामात्रै होइन, नेताका मान्छे हौं भन्ने नाम चलेका ‘डन’हरूसँगको उठबस् पनि उत्तिकै हुन्थ्यो’ उनीनिकट कर्मचारीले भन्छन्।
ढकालले कोषको बोर्डको बैठकमा सदस्यहरूको उपस्थितिमा मात्रै हस्ताक्षर गराउँथे। निर्णयमा कहिल्यै गराउँदैनथे। पदाधिकारी तथा सदस्यहरूलाई धेरैजसो निर्णय त थाहै हुँदैनथ्यो।
ढकालले आफ्नोमात्रै एकल निर्णयमा गरेका कतिपय निर्णयहरूलाई पदाधिकारी तथा सदस्यहरूले समेत विरोध गरेका थिए। ‘मैले त उपस्थितिमै हस्ताक्षर गर्दा निर्णयहरूमा मेरो कुनै सहमति छैन भनेरै लेख्ने गरेको थिएँ,’ कोषका तत्कालीन एक जना सदस्यले भने।
धेरैजसो कर्मचारीहरूलाई उनले आफ्नो ‘नियन्त्रण’मा लिइसकेका थिए। उनको कार्यशैलीबाट ‘आजित’ भएका त्यो बेलाका एक जना सदस्य भन्छन्, ‘मन्दिर परिसरमा फूल, माला बेच्नेदेखि लिएर कार्यालयका कर्मचारीलाई समेत आफ्नो बनाइसकेका थिए।’
उसो त उनले सितिमिति बैठक डाक्दै डाक्दैनथे। सदस्यहरूले हैरानै पारेपछि ६ महिनामा मुस्किलले एकपटक बैठक हुन्थ्यो। त्यो पनि सबै पदाधिकारी र सदस्यहरूलाई थाहै हुँदैनथ्यो।
कहिले कुनै प्रस्तावहरू बैठकमै पेश गर्दैनथे। कहिले एउटा प्रस्ताव पेश गर्थे तर निर्णय भने अर्कै लेखिदिन्थे।
‘भानुभक्त ढकाल मन्त्री हुँदा मन्त्रीज्यू आफैंले तीन/चार पटक बैठक बोलाउन भन्नुभयो तर ढकालले एकपटक पनि बोलाएनन्,’ उनका पालाका एक जना सदस्य भन्छन्, ‘उहाँ जत्तिको भ्रष्टाचार गर्ने त नेपालमा सायदै होला। उहाँ त एक ‘निडर भ्रष्टाचारी’ हुनुहुन्थ्यो।’
कार्यकालभरि कतिपय सदस्य तथा पदाधिकारीहरूसँग उनको बोलचाल नै बन्द भयो। नयाँ मन्त्री आउँदा पनि उनले निरीक्षण भ्रमणका बेला अरू सदस्य तथा पदाधिकारीहरूलाई भेट्न दिँदैनथे।
साना होस् या ठुला योजनाहरू उनी आफैंले मात्रै निर्णय गरे।
पशुपति क्षेत्रमा जडान गरिएका ‘प्लिजिङ लाइट’को निर्णय त्यही विवादमध्यको एक हो। त्यो जडान गर्ने कम्पनीले करिब ६ करोडको बिल पेश गरेपछि तत्कालीन कोषाध्यक्ष डा. मिलन थापाले त्यसको भुक्तानी नै रोकिदिएका थिए।
ढकालले अन्तिम समयमा आफैं कोषमा दोहोरिनका लागि शक्तिकेन्द्र नधाएका होइनन्। तर, उनकै पालाका कोषाध्यक्ष मिलन थापाले बाजी मारे। अहिले थापा नै कोषका सदस्य सचिव छन्। ढकालले ‘अस्वभाविक’ खर्चहरु पेश गर्न थालेपछि कोषाध्यक्ष थापाले भुक्तानी रोकिदिएका थिए।
त्यतिमात्रै होइन, भारतीय अनुदानमा बनेको नेपाल-भारत मैत्री धर्मशालालाई लिजमा दिँदा पनि ढकालले त्यस्तै गरे। बतास अर्गनाइजेशनलाई त्यो धर्मशालामा होटेल चलाउनका लागि लिजमा दिन उनले निकै मेहनत गरे। लिजमा दिनका लागि कार्यविधि पनि बन्यो तर परिषद्ले त्यो कार्यविधि पास नगर्दै धर्मशाला उनले लिजमा चलाउन दिइसकेका थिए।
सबैभन्दा ठुलो विवाद त पशुपतिनाथमा ८५ कराेड खर्च गरेर राखिएको जलहरीमाथि भयो। ढकालकै पालामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकाे तर्फबाट ३० कराेड रुपैयाँ दिएपछि पशुपतिमा सुनको जलहरी राखिएको थियो। त्यही जलहरीमा पनि ढकालले निकै अनियमितता गरे।