नुवाकोटको ककनी गाउँपालिका- ४ स्थित फुङफुङ्गे झरनामा असार १० गते आइतबार क्यानोनिङ मेला हुने भएको छ।
नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको सह-आयोजनामा कार्यक्रम हुन लागिएको हो।
सोहि झरनामा असार ३ देखि १० गतेसम्म स्थानिय लगायत पर्वतिय पर्यटनमा कार्यरत पथप्रदर्शकरुको २५ जना युवा-युवतीका समूहले परिचयात्मक क्यानोनिङ गाईड तालिम पनि लिइरहेका छन्।
तालिम लगत्तै १० गते क्यानोनिङ महोत्सव कार्यक्रम हुने आयोजकले बताएको छ।
काठमाडौंदेखि करिब २८ किमी दुरीमा रहेको ककनी राजधानी नजिकको पर्यटकीय गन्तव्य हो। ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा वाह्य पर्यटकको लागि उपयुक्त स्थल रहेको नेपाल क्यान्यनिङ संघका अध्यक्ष राजेन्द्र लामाले बताए।
सहासिक खेल मन पराउनेहरुलाई ककनीको सेरोफेरोमा रहेको फुङफुङे, सिस्नेरी, जलजले, लौके, सनछहरे, ठुल छहरे लगायतका झरनाहरुमा साता दिनसम्म क्यानिङको मज्जा लिन सकिने समेत उनले जनाकारी गराए।
पछिल्लो समय ककनी साहासिक पर्यटकिय गन्तव्यको केन्द्रको रुपमा विकासित हुँदैछ। यहाँ लोकल उत्पादन जस्तै ट्राउट् माछा, स्ट्रवेरी, हरियो सागसब्जी प्रशस्त उब्जनी हुन्छ।
पर्यटकहरुले स्थानिया लोकल परिकार सेवन गर्दै अन्नपुर्ण, मनास्लु, गणेश हिमाल, लाङताङ, जुगल, दोर्जेलाक्पा लगायत दर्जनौँ हिमालको अवलोकन पनि गर्न सक्छन्।
क्यानोनिङ एक सहासिक खेल 'एड्भेन्चर स्पोर्टस' हो, जसलाई तालिम प्राप्त अनुभवी व्यवासायिक गाइड र उपयुक्त सुरक्षित उपकरणहरुको आवश्यक पर्दछ।
के हो क्यानोनिङ?
क्यानोनिङ डोरीको सहयोगमा तुर्लुङ झुण्डिएर झरनामा भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिदै खेलिने साहसिक खेल हो। यसका लागि झरनाको शिरमा एंकर गाडिन्छ, त्यसमा डोरी अड्काइन्छ।
गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ। नेपालमा झरनामा खेल अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ पनि भनिन्छ।
क्यानोनिङ गर्दा आँट, दिमाग र धैर्यता चाहिन्छ जसको लागि विशेष पोशाक र जुत्ता लगाईन्छ। हार्नेस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लिने गर्दछ। फिगरएटले डोरीलाई सघाउँछ, क्याराभेनर डोरी र कम्मरमा बाँधिन्छ।
खेलाडीको हातमा ब्रेक हुन्छ जसले आफ्नो गति नियन्त्रण वा झरनामै रोकिएर भिझ्दै रमाईलो गर्न क्यानोनर आफैंले ब्रेक लगाउन सक्छ। क्यानोनिङ गर्नुअघि गाइडहरुद्वारा कसरी खेल्ने भनेर सिकाउँछन्।
जब डोरी समातेर ओर्लिन सुरु हुन्छ, तब डर हुन्छ। तर विस्तारै आत्मविश्वास बढ्छ। रोमाञ्चक अनुभूति मिल्दछ। फेदमा पुगेपछि सफलता हासिल गरेकोले चरम आनन्दको महुसुस हुन्छ।
नेपाल क्यानोनिङ एसोसिएसन (एनसिए)का अध्यक्ष राजेन्द्र लामाका अनुसार अमेरिका, युरोप र एसियाका विभिन्न देशमा यो खेललाई 'एडभेन्चर हिलिङ' का रुपमा प्रवर्धन गरिएको छ।
'क्यानोनिङले तनावबाट मुक्ति, आत्माविश्वास बढाउँछ र पानीको वहावले आनन्द मिल्छ' उनले भने। एनसिएले नेपालका करिब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको छ।
काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, लम्जुङको मर्स्याङदी भ्याली, काभ्रेको तेमाल, सिन्धुपाल्चोकका भोटेकोसी, धनकुटाको नमस्ते झरना, चितवानको जलजले, ओखलढुंगाको पकवली, धादिङको थाक्रे, लगायतका झरनाहरुमा सम्भाव्यता अध्ययन गरिसकेको छ। त्यसबाहेक स्याङ्जा, पर्वत, मनाङ, र सोलुमा पनि क्यानोनिङको सम्भावना रहेको उनी बताउँछन्।
झरनै-झरनाको देश नेपालमा क्यानोनिङ 'छाँगावरोहण' खेलको प्रचुर सम्भावना रहेको लामा बताउँछन्। क्यानोनिङको विकास गर्न सके नेपालको गाउँगाउँमा पर्यटनको माध्यमद्वारा युवाहरुलाई रोजगार प्रदान गरी मनग्य आम्दानी गर्न सकिन्छ।
क्यान्योनिङ एक रोमाञ्चक आउटडोर गतिविधि हो, जहाँ सहभागीहरूले पदयात्रा, चिप्लिटे खेल्ने, र्यापलिङ, पौडी खेल्ने, र उफ्रिने जस्ता विभिन्न क्रियाकलापहरु उपकरणको सहयोगमा झरनाको गल्छिहरुमा डोरीको सहयाताले उक्लिने र झर्ने गर्छन्।
क्यानोनिङ खेलको लागि शारीरिक तन्दुरुस्ती र सामान्यतया अनुभवी प्रशिक्षकहरूद्वारा निर्देशित सुरक्षा उपायहरूको ज्ञान चाहिन्छ । यो रोमाञ्चकारी साहसिक कार्य उत्साहले भरिएको अनुभव र प्रकृतिसँग गहिरो सम्बन्ध प्रदान गर्दछ।