२९ वटा अवार्डबाट सम्मानित
‘गल्ती भए माफी दिनु जाती हुन्छ, गल्ती भए माफी दिनु जाती हुन्छ। नासु दिए राखी दिनु जाती हुन्छ। समयले कहिले तितो बनाउँछ, कहिले मिठो बनाउँछ। समयले कहिले तितो बनाउँछ, कहिले मिठो बनाउँछ। जे भएपनि चाखी दिनु जाती हुन्छ।’
सिन्धुपाल्चोकमा जन्मिएकी कमला रिसालको बाल्यकाल कथा र कविता सुनेर बित्यो। सानाे छँदा हजुरबाआमाले रामायण र महाभारत पढेर सुनाइरहँदा उनी पनि किताबमा लेखिएका शब्दहरू बाजेबज्यैसँगै गुन्गुनाइरहन्थिन्।
हजुरबाआमासँग सिकेका कथा र कविताहरू उनले प्रकृतिलाई सुनाइथिन्। हिमाल, पहाड र शीतल हावासँग उनी बातचित गर्थिन्। तिनैलाई उनी आफ्नो साथी ठान्थिन्। ‘सानैदेखि मैले प्राकृतिक हरियालीलाई साथी बनाएकी थिएँ’, उनी सुनाउँछिन्।
बच्चा बेलादेखि नै किताब पढ्नमा रमाउने कमलाको विस्तारै साहित्यतर्फ चासो बढ्दै गयो। दिनभरि स्कुलमा व्यस्त हुने उनी रातको समयमा कथा र कविता कोर्थिन्। १२ वर्षको उमेरमा त उनी लेखक बनिसकेकी थिइन्।
‘त्यतिखेर म कक्षा ८ मा पढ्थेँ। मैले लेखेका कथा र कविता स्कुलको कार्यक्रममा सुनाइथ्यो। मलाई स्कुलमा लेखक भनेर बोलाइन्थ्यो’, उनले भनिन्।
वि.सं. २०६० सालमा ‘एसएलसी’ पूरा गरेर उनी काठमाडौं आइन्। २०६१ सालमा उनले पद्मकन्या बहुमुखी क्याम्पसमा ‘आइए’ पढ्न सुरु गरिन्।
‘नेपाली भाषा हराउँदै गएको कारण मलाई नेपाली व्याकरण पढ्न इच्छा जाग्यो’, आफूले पढेको विषय खुलाउँदै उनले भनिन्, ‘त्यसपछि मैले मेजर नेपाली लिएर पढेँ।’
अध्ययनका लागि गाउँ छाडेर काठमाडौं आएकी उनले आफ्नो खर्च जुटाउनका लागि काम गर्ने निधो गरिन्। नभन्दै उनले एकदिन कान्तिपुर पत्रिकामा छापिएको एक विज्ञापन देखिन्। जहाँ लेखिएको थियो, ‘एक जना शिक्षक चाहियाे।’
शिक्षक पदका लागि आवेदन दिएकी कमला नाम निकाल्न सफल भइन्। २०६१ सालदेखि उनले कक्षा ९ का विद्याथीहरूलाई पढाउन थालिन्। राजधानीको ‘प्रभात स्कुल’ मा पढाउन सुरु गरेकी उनले आफ्नो पढाइका साथै लेखाइलाई पनि सुधारिन्।
आफूले पढाएका विद्यार्थीहरूले भनेको नमान्दा निराशिने उनी बालबालिकाकाे व्यवहारलाई कथा र कवितामा लेख्थिन्। ‘कहिलेकाहीँ भाइबहिनीहरूले मन दुखाउँदा म त्यो कुरालाई लेखेर राख्थेँ, मन भुलाउँथेँ’, उनले बताइन्।
पढाउन थालेको डेढ वर्षपछि उनले सदाका लागि स्कुल छाडिन्। जसको कारण थियो, उनको अध्ययन। ‘मलाई दिउँसोको कलेज पढ्ने मन थियो। स्कुल पढाउन भ्याइनँ, त्यसैले पढाउन छाडेँ’, उनले भनिन्।
शिक्षक पेशा छाडेपछि उनी कथा र कविताहरू लेख्नमा पोख्त हुन थालिन्। उनले लेखेका लेखहरू गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोष्टलगायतका पत्रिकाहरूमा छापिन थाले।
बालबालिकाहरूका लागि धेरै लेखहरू लेखेकी उनलाई अझै याद छ, गोरखापत्रमा छापिएको पहिलो कविता। ‘सुनचाँदी हिरासँग जोखिँदैन ज्ञान, चुलीचुली भएपनि पोखिँदैन ज्ञान’ पत्रिकामा पहिलोपटक छापिएको कवितालाई उनी गुन्गुनाउँछिन्।
विभिन्न लेख लेखर चर्चामा आएकी उनको नाम उदाउँदै गयो। साहित्य क्षेत्रमा लागेकी उनले उपनाम पाइन्, कमला रिसालबाट उनी कमला रिसाल ‘ज्योति’ भइन्। जुन नाम उनको पहिचान बन्यो। ‘जब म लेखक बनेर परिचित भएँ, तब मैले ज्योतिको उपनाम पाएँ’, उनले बिएल नेपाली सेवालाई सुनाइन्।
कमलमणि दीक्षितबाट मिल्यो साहित्यकार बन्ने प्रेरणा
नेपाली साहित्यको ‘नोबेल पुस्कार’ मानिने मदन पुस्कारका संस्थापक कमलमणि दीक्षितबाट साहित्यकार बन्ने प्रेरणा मिलेको उनी बताउँछिन्। ‘मैले उहाँको धेरै लेख, रचनाहरू पढ्थेँ। त्यहीँबाट मलाई साहित्यकार बन्ने चाह जाग्यो’, उनले भनिन्।
नेपालका चर्चित कविहरूलाई आफ्नो गुरू मान्ने उनी भन्छिन्, ‘कथा, कविता लेख्न र पढ्न मेराे सानैदेखिको चासो विषय थियो। तर कसरी लेखाइलाई सुरुवात गर्ने त्यो कुरा मैले प्रख्यात कविहरूबाट जानेँ।’
जब उनी कक्षा ९ मा अध्यनरत थिइन्, तब उनले ‘मेरो प्यारो ओखलढुङ्गा’ नामक कविता पढिन्। ‘तिम्रै सुन्दर हरियालीमा, तिम्रै शीतल वक्षस्थलमा, यो कविको शैशवकाल बित्यो, हाँस्यो, खेल्यो, वन–कुञ्ज घुम्याे, मेरो प्यारो ओखलढुङ्गा।’ सिद्दीचरण श्रेष्ठले लेखेको त्यो कविता पढेर उनमा पनि रहर जाग्याे।
कविले कवितामा ओखलढुङ्गाको वर्णन गरेझैँ कमलालाई पनि आफ्नो सुन्दर गाउँलाई कवितामा उतार्न मन लाग्यो। उनले पनि ‘मेरो प्यारो सिन्धुपाल्चोक’ भनेर एउटा कविता रचिन्। त्यतिमात्र होइन, उनले आफूलाई मनपर्ने तिहारलाई पनि ‘मेरो प्यारो चाड तिहार’ शीर्षक बनाएर कविता लेखिन्।
नेपालका प्रख्यात कवि र साहित्यकारबाट प्रेरणा मिलेर लेख्न जानेकी कमलाको लेख पत्रपत्रिकामा मात्र छापिएन, उनले दुई वटा किताब नै निकालिन्।
वि.सं. २०६६ पौष ४ गते उनको पहिलो पुस्तक ‘परेलीका बारहरू’ विमोचन भए। आफूले लेखेका रचनाहरू पुस्तकमा छापिँदा उनी निकै खुसी थिइन्, जुन खुसी उनको जिन्दगीकाे सबैभन्दा खुसीका क्षण थियो।
‘गजल लेखिएका पुस्कत विमोजन भएपछि मैले चौतर्फी प्रशंसा पाएँ। प्रख्यात कविहरूले पनि मलाई हौसला दिनुभयो। जसकाण मभित्रको आत्मविश्वास बढ्दै गयो’, पहिलो पटक पुस्तक विमोजन भएको क्षण सम्झँदै उनले भनिन्।
आफूले लेखेका पुस्तकबाट पाएको ‘तारिफ’ बाट खुसी भएकी उनले वि.सं. २०७१ सालमा अर्को किताब ‘गोधली समय’ निकालिन्। जुन पुस्तकले उनको चर्चा शिखरमा पुर्याइदियो। त्यही साल उनी तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमबाट पुरस्कृत भइन्। ‘विश्व नेपाली नारी साहित्य सम्मेलन’ मा कमला तेस्रो भइन्। ‘पहिलो र दोस्रो मभन्दा सिनियर कविहरू हुनुभयो’, उनले बताइन्।
आफूले रचना गरेका कथा, कविताहरूका कारण उनी कयौं अवार्डहरूबाट सम्मान भइन्। त्यसको कुनै लेखाजोखा छैन तर २०६९ सालमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट सम्मानित भएको उनलाई हिजोझैँ लाग्छ। ‘२९ वटा अवार्ड पाएकाे छु जस्ताे लाग्छ तर कहिले त्यो ठ्याक्कै याद छैन’, उनले भनिन्।
कामसँगै पढाइलाई अघि बढाइरहेकी उनले २२ वर्षको उमेरमा ‘स्नाकोत्तर’ पूरा गरिन्। काम, दान र नाम पाएर सन्तुष्ट रहेकी कमलालाई लाग्थ्यो, ‘जिन्दगी भनेको खुसी हो।’ तर उनले सोचेको क्षणिक बनिदियो।
भुइँचालोले बदलियो कमलाको जीवन
जीवनलाई सुन्दर सोच्ने कमलाको जीवनमा एकाएक तुफान आयो। जब २०७२ सालमा गएको विनाशकारी भूकम्पले उनको परिवार खोसेर लग्यो।
वैशाख १२ गते शनिबारका दिन उनी गाउँकी भाउजूलाई भेट्न चाबहिलको ‘मेडिकेयर अस्पताल’ गएकी थिइन्। त्यहीबेला अकस्मात् जमिन हल्लियो। अस्पतालका मान्छे चिच्याउन थाले। उनी पनि आत्तिएर सडकमा निस्किइन्। जहाँको दृश्य देखेर उनी आफैँ भक्कानिइन्। ‘सडकमा बाइकहरू लडिरहेको थियो, मान्छेको रुवाबासी चलिरहेको थियो’, ०७२ सालको भूकम्प स्मरण गर्दै उनले भनिन्।
७.८ रेक्टरको भूकम्पबाट तर्सिएकी उनले गाउँमा भएको परिवारलाई सम्झिँदै फोन गरिन् तर सम्पर्क हुन सकेन। ‘नेटवर्क नभएको कारण फोन लाग्न सकेन। मनमा डर पसेको थियो। बाआमासँग बोल्ने इच्छा थियो तर पूरा हुन सकेन’, उनले भनिन्।
गाउँमा लगातार कोसिस गरिरहेको उनको फोन दुई दिनपछि मात्र लाग्यो तर दुर्भाग्यवस उनको कुरा परिवारसँग हुन सकेन। जसको कारण थियो, परिवारको निधन। भूकम्पमा उनको बाआमा, मामामाइजू, फुपूफुपाजू, दाइ र दिदी परे। जो कहिल्यै नफर्किने गरी गए।
‘भूइँचालोमा मेरो सबै परिवार बित्नुभएछ। म र मेरो दाइ गाउँ बाहिर भएको कारण बाँच्यौँ’, स्वर्गीय परिवारलाई सम्झिएर भावुक भएकी कमलाले भनिन्, ‘त्यो दिन मलाई मेरो सर्वश्व नै गुमाए जस्तो लाग्यो।’
सात जनाको परिवारमध्ये उनी र दाइमात्र जीवित थिए। दाइ सम्झिएर उनले चित्त बुझाएकी थिइन् तर दाइले पनि संसार त्यागेर गए। दाइकै वियोगमा भाउजू पनि बितिन्। उनी एक्ली भइन्। ‘दाइ हुनुहुन्छ भनेर मन भुलाएकी थिएँ तर दाइको पनि निधन भयो। भाउनू दाइको सम्झनामा बित्नुभयो। म एक्लो भएँ’, विगत कोट्याउँदै उनले भनिन्, ‘त्यसपछि मेराे दाइका छोराछोरी मामाघरमा बस्न थाले।’
सपरिवार गुमाएर बिरक्तिएकी उनी विस्तारै कामबाट टाढिन थालिन् तर साथीहरूको साथका कारण कमला पुनः काममा जोडिइन्। ‘मलाई मेरा साथीहरूले तिमीलाई साहित्यले बचायो, चिन्ता नगर अब तिमीलाई केही हुँदैन भनेर सम्झाउनुहुन्थ्यो’, उनले भनिन्।
परिवार गुमाएर रमाउन थालेकी उनले आफ्नो लेखाइलाई निरन्तरता दिइन्। त्यही कारण त उनले साहित्य संगालोमा जोडिनुका साथै विभिन्न पत्रपत्रिकाकाे सह-सम्पादक भएर काम गरिन्। ‘नेपाली भाषामा मास्टर्स गरेको कारण मेरो व्याकरण राम्रो थियो। मलाई पत्रपत्रिकामा शुद्धाशुद्धी हेर्नका लागि राखिएको थियो’, उनले बताइन्।
उनको कामप्रति लगाव बढ्दै थियो तर २०७६ सालदेखि सुरु भएको कोरोना महामारीले कमलालाई पुनः थला पार्यो। बाहिर निस्किन नपाएकी उनी कामबाट पनि टाढा भइन्।
कोभिड–१९ को कारण घरभित्रै थुनिएकी उनले ‘यमराजको गोली’ शीर्षकमा मुक्तक लेखिन्। ‘सजिलो छ, जिन्दगानी बाँच्ने कला जान्यो भने। तिखा काँडा उम्रेजति भाँच्ने कला जान्यो भने। पढेरभन्दा परेर धेरै सिकिन्छ रे जीवनमा, त्यसै भाग्छ कोरोना बाँच्ने कला जान्यो भने’ कोरोनाकालमा आफूले लेखेको मुक्तक सम्झिन्छिन्, कमला।
कोरोना महामारीमा आफूले ६२ वटा मुक्तक लेखेको सम्झिने उनी भन्छिन्, ‘विस्तारै कोरोनाको कारण घरभित्रै थुनिदा म डिप्रेशनको शिकार भएँ। त्यसपछि म रानीवनमा बसाइँ सरेर गएँ।’
वनस्थलीस्थित रानीवनको वातावरण सुन्दर र शान्त भएको कारण उनी सामाखुसीबाट बसाइँ सरिन्। तर त्यहाँ पनि एक्लोपनको कारण छट्पटाउन थालिन्। त्यसपछि कमला ‘मानव सेवा आश्रम’ मा पुगिन्।
आत्महत्याको त्यो प्रयास
२०७७ सालमा आश्रम पुगेकी उनी एक्लै टोलाएर बस्थिन्। आश्रमका बाआमाहरू देखेर दुखी हुन्थिन् अनि आफूलाई जन्मदिने अभिभावक सम्झिएर भक्कानिएर रुन्थिन्। ‘मलाई आश्रमका बाआमा देखेर मेरो आमाबुबाको याद आउँथ्यो’, उनले भनिन्।
काम र परिवारबाट टाढिएर संसार त्याग्ने निधो गरेकी उनले आत्महत्याको प्रयास गरिन्। ‘मर्छु भनेर मैले १५ दिनसम्म भात र पानी पिइनँ तर बाँचेँ’, आँसु पुछ्दै उनले भनिन्, ‘दुई साता भात र पानी नखाएपनि बाँच्न सकिने रहिछ, मैले त्योबेला थाहा पाएँ।’
आफूले आत्महत्याको प्रयास गर्दा समेत मर्न नसकेपछि उनले एक्लै जिउने अठोट बनाइन्। र निरन्तर आफ्नो लेखाइमा ध्यान दिन थालिन्।
तीन वर्षदेखि आश्रममा बस्दै आइरहेकी कमलाले हिजोआज ‘किशोरावस्था’ का बारेमा लेख्छिन्। उनी भन्छिन्, ‘पहिले मैले बालबालिकाहरूका लागि लेखेँ। अहिले किशोरावस्थाका बारेमा लेख्दैछु। त्यो पनि २७ पेज भइसकेको छ। मिल्यो भने कान्तिपुर र गोरखापत्रमा छाप्नेछु।’
उनले सयौँ कथा, कविता, गजल र मुक्तक लेखिसकेकी छिन्। तर सबैभन्दा उनलाई प्रिय लाग्छ, ‘गोधली समय’। पुस्तकमा भएकाे गजलहरूमध्ये उनको मनपर्ने गजल हो, ‘आमासित’।
‘आमा तिम्राे छाहारीमा अल्झिरहेको छु पल हरपल। खोतलेर अँध्यारो कोरिरहेको छु उज्यालो। तिम्रो आँखाको नानीबाट चियाइरहेको छु संसार’, आमाका लागि लेखिएको गजल उनी सुनाउँछिन्।
समय जस्तो परिवर्तन भएको आफ्नो जीवन देखेर उनलाई हिजोआज लाग्न थालेको छ, ‘जिन्दगी भनेको सुकेकाे रुखको पातजस्तो हो, कहिले उडेर आकाशमा पुग्छ त कहिले जमिनमा गाडिन्छ।’
उमेरले ३४ वसन्त पार गरिसकेकी कमला आफ्नो विगत सम्झिएर रुने गर्छिन्। भन्छिन्, ‘पहिलाको मेरो जीवन र अहिलेको अवस्था देखेर मलाई दुख लाग्छ, आफैँ देखेर दया लाग्छ।’
एक दशकअघि आफूलाई संसारको भाग्यमानी ठान्ने कमला अहिले भन्छिन्, ‘गल्ती भए माफी दिनु जाती हुन्छ, गल्ती भए माफी दिनु जाती हुन्छ। नासु दिए राखी दिनु जाती हुन्छ। समयले कहिले तितो बनाउँछ, कहिले मिठो बनाउँछ। समयले कहिले तितो बनाउँछ, कहिले मिठो बनाउँछ। जे भएपनि चाखी दिनु जाती हुन्छ।’