बालेनकाे एक्सन: भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शन निषेध

File Photo
File Photo

काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन रोक्ने भएको छ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित वाक्य नसच्चिएको भन्दै मेयर बालेन साहले भाेलिदेखि भारतीय चलचित्र रोक्न निर्देशन दिएका हुन्।

विवादित वाक्य उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको तर नहटाइएकाे भन्दै महानगर क्षेत्रभित्र चलचित्र प्रदर्शन गर्न निषेध गरिएको उनले बताए।

मेयर बालेनले नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्यक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतीमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिएकाे उल्लेख गरेका छन्।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ’, बालेनले भनेका छन्, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’

उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने उनले चेतावनी दिएका छन्।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ’, मेयर साहले भने। 

प्रकाशित मिति: : 2023-06-18 16:56:00

प्रतिकृया दिनुहोस्