८औँ एनआरएनए मध्यपूर्व सम्मेलन ओमनमा, यी एजेन्डामा हुनेछ छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बुधबार साँझ जुममार्फत् पत्रकार सम्मेलनको आयोजना गरी ओमनमा सम्पन्न हुन लागेको ‘आठौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन’का एजेन्डा र उद्देश्यहरुबारे जानकारी गराएको छ।

आगामी जुन २८ देखि ३० सम्म ओमनको राजधानी मस्कटमा आयोजना हुने मध्यपूर्व सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा, विदेशबाटै मतदानमा सहभागीता हुने र सामूहिक लगानीलगायतका विषयमा विस्तृत छलफल हुने जानकारी दिइएको छ। सम्मेलनमा नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा एनआरएनए मध्यपूर्व संयोजकद्वय मनोज गोर्खाली र राजेन्द्र अर्यालले मध्यपूर्व सम्मेलनको प्रारुप र उद्देश्यहरुबारे पत्रकारलाई जानकारी गराएका थिए भने एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्षहरु कुल आचार्य र रविना थापा, उपाध्यक्षहरु आरके शर्मा, महेश श्रेष्ठ, नरेन्द्र भाट, महिला उपाध्यक्ष यास्मिन बेगम, सचिव प्रवीण गुरुङलगायतले बोलेका थिए।

मध्यपूर्वका नेपालीहरुले महत्वका साथ हेरेको यस सम्मेलनमा मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, उनीहरुको योगदान, सुरक्षित आप्रवासन, विदेशमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जानेहरुका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा-युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनर्स्थापना , सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार तथा रेमिट्यान्सको सही लगानी लगायतका विषयवस्तु सम्मेलनमा उठाइने एनआरएनएले जनाएको छ।

त्यसैगरी सामाजिक सुरक्षा कोषमा जम्मा गरिने रकम श्रमिकको तलबबाट कट्टा नहुने गरी रोजगारदाताले आफैं जम्मा गरिदिनुपर्ने व्यवस्था मिलाउन पहल गरिने एनआरएनएका कार्यकारी अध्यक्ष डा.बद्री केसीले जानकारी दिएका छन्। उनले गैरआवासीय नेपालीहरुले स्थापना गरेको १० अरबको सामूहिक लगानी कोषको बारेमा समेत सम्मेलनमा छलफल हुने जानकारी दिए।

विज्ञप्ति :

प्रकाशित मिति: : 2023-06-15 08:09:00

प्रतिकृया दिनुहोस्