धेरै समयपछि करिब एक साताअघि आफ्नो गृह जिल्ला जाँदै थिएँ। बालाजुबाट बस चढेर बसेको मात्र के थिएँ, १२/१३ जनाको एक टोली पनि त्यही बसतर्फ लम्किँदै आइरहेकाे थियो।
यति धेरै मान्छे देखेपछि मलाई त्याे बसमा बस्न मन लागेन। अनि बसमा राखिसकेको झोला निकालेँ र तल झरेँ। बसमा चढिसकेको मान्छे झोला बोकेर तल झरेको देखेपछि उनीहरुले किन झरेको भन्दै प्रश्न गरे। तर, मलाई भने उनीहरुलाई जवाफ दिनु उचित लागेन। त्यसपछि मन नलागी भएपनि पुनः गाडीमा गएर बसेँ।
गाडी एकैछिनमा काठमाडौँलाई छोड्दै नुवाकोटतर्फ लाग्यो। जब गाडी नागर्जुन प्रहरी चेकपोष्ट कट्यो, तब उनीहरूमध्ये काेही गीत गाउन थाले त काेही गितार बजाउन थाले।
सुरुमा त बसमा केटा नै केटा भएकाले जान मन थिएन, तर पछि भने हामी (म र बहिनी) उनीहरुले गाएको गीतमा रमाउन थाल्यौँ। यतिकैमा ‘नानीहरु कता पुग्ने हो’ भन्दै उनीहरूमध्ये एक जनाले म नजिकै आएर सोधे। मैले पनि ‘गाडी जहाँसम्म जान्छ, त्यहीँसम्म’ भनेँ।
उनले फेरि साधे, ‘यो गाडी कहाँसम्म जान्छ, त्यो त मलाई थाहा छ। तर, बहिनीहरु कता जाने हो।’ उनले बहिनी भनेपछि अलि सहज भएँ र भनेँ, ‘मात्रागाँउ।’ ‘मात्रागाउँ त म पनि गएको छु,२/३ वर्षअघि।’ उनको यो भनाइले म अचम्म परेँ र साेधेँ,‘तपाईंहरु पुलिस हो र?’
उनले हाँस्दै भने, ‘कसरी थाहा पायौ बहिनी, हामी प्रहरी भनेर!’ ‘सबैले एउटै खालको कपडा लगाएको र ठुला-ठुला झोला हेर्दा त्यस्तै लाग्यो अनि सोधेको मात्र हो।’ मैले यति भन्न नपाउँदै उनले ‘हामी बाघ-भालु होइन, डराउनु पदैन हौ’ भन्दै फेरि गीत गाउन थाले।
म पनि अलि सहज बन्दै गीत गाउँदै रमाउन थालेँ। उनीहरू सबै सशस्त्र प्रहरी रहेछन्। बिदा सकाएर तालिम र कामका लागि ककनी प्रहरी तालिम केन्द्र जाँदै रहेछन्।
तीमध्ये एक जना अलि बुढो जस्तो देखिन्थे भने अरु सबै भर्खरका युवाहरु। फेरि एक जनाले ‘बहिनीहरुको नाम के हो’ भन्दै सोधे। मैले मेरो र बहिनीको नाम बताएँ। उनीहरुले पनि एक-एक गर्दै आफ्नो नाम बताउन थाले- रमेश, सुमन, नविन, विकाश,जय,प्रतिक...आदि।
उनीहरु यी यस्तै नाम बताउँदै थिए, तर म भने एउटा नाममा गएर अड्किएँ, ‘जय’। मलाई त्यो नाम सुन्ने बित्तिकै उकुसमुकुस हुन थाले। धेरै समयसम्म बेचैन भइरह्यो। धेरै पीडा भएजस्तै भयो। थाहै नपाई रुन थालेछु।
एक्कासी म रोएको देखेर उनीहरुले के भयो, किन रोएको भन्दै सम्झाउन थाले। उनीहरुले धेरै पटक सोध्दा पनि म केही नबोलेपछि एकजनाले गाडी रोक्न लगाए र पानी ल्याएर दिए। ‘किन रोएको’ भन्दै प्रश्न गर्न थाले। मैले पनि ‘जय’ नाम सुनेपछि असहज भएको र रुन पुगेको बताए। उनीहरुले मेरो समस्यालाई ख्याल गर्दै जयलाई चुप रहन भने।
त्यसको केही समय शन्नाटा नै छायो। तर पछि त्यो ग्रुपको अलि पाको मान्छे मेरो छेउ आउनुभयाे र हाम्रोबारेमा सोधपुछ गर्न थाल्नुभयाे। ‘मैले नानीहरुलाई नराम्रो भनेको होइन। मेरो छोराहरु मात्र छन्, छोरी भएको भए तिमीहरु जस्तै सोझा हुन्थे होला। साना-साना कुरामा रुने बानी राम्रो बानी होइन। तिमी एउटा नाम सुनेर रोयौ, यो तिम्रो कमजोरी हो। आफूमा आत्मविश्वास बलियो बनाउन सक्नुपर्छ।’ उहाँले यस्तै भन्दै मलाई सम्झाइरहनुभएकाे थियाे।
उहाँको कुरा सुनेर लाग्थो कि उहाँ मेरो बुबा हो। र उहाँले मलाई आफ्नै सन्तानलाई जस्तै सम्झाइरहनुभएको छ। थाहा छैन, उहाँको बोलीमा जादु थियो या औषधि मैले धेरै राहत भएको महसुस गरिरहेकी थिएँ। उहाँका कुराले शरीरमा छुट्टै उर्जा प्रवाह भइरहेको थियो। म फेरि उनीहरुको गीत सुन्दै रमाउन र खुसी हुन थालेँ।
केही समयपछि उनीहरुको झर्ने ठाउँ आयो। उनीहरु आ–आफ्नो सामान निकाल्दै थिए, म पनि उनीहरूलाई ‘धन्यवाद’ दिन तल झरेँ। ती अंकल पनि मलाई हेर्दै ‘अबबाट सानु-सानु कुरामा कहिल्यै नरुनु ल छोरी’ भन्दै हातमा एउटा डायरी थमाएर हात हल्लाउँदै बाटाे लाग्नुभयाे।