महेन्द्र सरकारसँग नजिक भएपनि वीरेन्द्र सरकारसँग व्यक्तिगत रूपमा भेटघाट वि.सं. २०२९ सालभन्दा पहिले भएको थिएन। सामूहिक कार्यक्रममा दर्शन हुनु अर्कै कुरा हो। व्यवस्थाको उद्देश्यअनुसार काम नहुनु, गुटबन्दी बन्दै जानु लगायतका कारणहरूले गर्दा पञ्चायती व्यवस्थामाथि प्रश्न उठ्दै थिए।
पञ्चायतभित्रका विकृतिलाई म खुलेर विरोध गर्दर्थें। पञ्चायतलाई समय अनुकूल एवं प्रजातान्त्रिक अभ्यासमा लैजानुपर्छ भन्ने पक्षमा हामी धेरै साथीहरू थियौँ। केही साथीहरू पुरानै रटानमा हुनुहुन्थ्यो। महेन्द्र सरकारको स्वर्गारोहणपछि देशले कस्तो मोड लिने हो? जनचासो अलिक बढेको थियो।
पञ्चायतभित्रको विमेल, भूमिगत रूपमा पार्टीहरू सक्रिय हुनु एवं वीरेन्द्र सरकारले भर्खर शासन भार आफ्नो हातमा लिनुजस्ता कारणहरूले जनतामा भोलि के हुने हो भन्ने प्रष्ट मार्गचित्र आइरहेको थिएन। राष्ट्रिय पञ्चायतभित्रका सदस्यहरूले नै दरबारमा एक पक्षले अर्को पक्षका विरुद्धमा कुरा लगाउने प्रवृत्ति बढ्दो थियो। यही समयमा दरबारका प्रमुख सचिव ईश्वरीमान श्रेष्ठले सरकारबाट दर्शन भेटको लागि बोलावट भएको बताउनुभयो।
वि.सं. २०२९ साउनको अन्तिमतिर म सरकारबाट बाेलावट भएकै समयमा नारायणहिटीको मङ्गल सदनमा पुगेको थिएँ। यो मेरो पहिलो दर्शन भेट र कुराकानीको अवसर थियो। पञ्चायतभित्रको गुटबन्दी र भूमिगत पार्टीहरूको कार्यले मानिसभित्र एक प्रकारको शंका उब्जाई रहेको थियो। यही समयमा राजासँग दर्शन भेट हुनुमा केही छ कि जस्तो मलाई लाग्दै थियो। मलाई स्पष्ट र सत्य कुरा बोल्नका लागि कुनै आपत्ति नै थिएन।
हँसिलो मुखमण्डलमा वीरेन्द्र सरकारको आगमन भयो, ४५ मिनेट जति कुरा भयो। बिदा हुने समयमा सरकारले मलाई 'मान्छेहरूले औँला ठड्याउने कार्य नगर, अपवादबाट बच्ने काम गर, दाग लाग्ने कुराबाट टाढै रहनू' भन्नुभयो। मैले सरकारलाई भनेँ, 'सरकारले भरि गद्दी सम्हालियोको छ ज्ञान, अनुभव, विवेक र सामर्थ्यले सकेको सहयोग गर्न तयार छु।' मेरो कुरा सकिएपछि वीरेन्द्र सरकारले टाउको हल्लाइ बक्सियो, म बिदा भएँ।
यो समयमा काङ्ग्रेस र कम्युनिष्ट दुवैसँग मेरो समदुरी थियो। पार्टीगत दृष्टिकोणभन्दा पनि मानिसको कामलाई म विशेष ध्यान र महत्व दिन्छु। राष्ट्रिय पञ्चायतका सदस्यहरू पनि विभिन्न खेमामा विभाजित थिए। नीति र सिद्धान्तमा भन्दा पनि व्यक्तिवादी प्रवृतिमा लागेर एउटाले अर्काको खुट्टा तान्ने कार्यमा केही सदस्यहरू उन्मुख थिए।
वि. सं. २०३० चैत १६ गते म गृहसहायक मन्त्री भएँ। पदीय जिम्मेवारी र दायित्वले गर्दा पनि यसपछि सरकारसँग निकट हुने सौभाग्य जुट्यो। त्यसको एक वर्ष नबित्दै म रक्षा राज्यमन्त्री बनेँ। वीरेन्द्र सरकारमा सैनिकलाई दक्ष बनाउनुपर्छ, समय अनुकूल हुनुपर्छ, सधैं सजग र ऊर्जाशील हनुपर्छ, उनीहरूमा देश प्रेम, पेशाको गौरव हुनुपर्छ भन्ने चाहना थियो। सेनाको परमाधिपति नै राजा हुने हुनाले त्यतिबेला सेनामा एक प्रकारको गौरव पनि थियो। सरकार विभिन्न सैनिक ब्यारेकमा सवारी हुने, त्यहाँको वस्तुस्थिति बुझ्ने, अन्य राष्ट्रको जस्तै साधन र श्रोत जुटाएर योग्य बनाउने लगायतका कार्यमा निकै चासोका साथ लागेको मैले देखेको थिएँ। उहाँको समयमा सेनाको ब्यारेक विभिन्न ठाउँमा स्थापना गराउनुका साथै हातहतियार र सैन्य अभ्यासमा प्राथमिकता दिइएको थियो।
राजा वीरेन्द्रमा सबै क्षेत्र, लिङ्ग, समुदायको विकास हुनुपर्छ अनि मात्र नेपालको विकास सम्भव हुन्छ भन्ने धारणा थियो। जनतासँग प्रत्यक्ष भेट्ने, उनीहरूको आशय चुम्ने, योजना कार्यक्रमको अवस्था अवलोकन गर्ने कार्यमा निकै खटिनुभएको मैले देख्ने सौभाग्य पाएँ। सामान्य मानिसको भेषमा हरेक ठाउँमा पुगेको मैले देखेको र सुनेको छु। नेपाललाई पाँच विकास क्षेत्रमा प्रशासनिक विभाजन गरी विकासलाई विकेन्द्रीकरण गर्ने कार्यमा वीरेन्द्र सरकारको विशेष चासो र जोड थियो।
हाम्रो देशको समस्या भनेको नेतृत्वको विचार, भावना र गतिअनुसार कार्य गर्नुभन्दा पनि समूह र उपसमूह बनाउने एवं ठूला व्यक्तिसँग मेरो सम्बन्ध यस्तो छ भनेर प्रचारबाजी बढी गर्ने प्रवृत्ति भएकाले विकासभन्दा पनि शक्ति प्रदर्शनमा धेरै मेहनत र लगानी दुरुपयोग भएको देखेको छु। यो गलत परम्पराको अभ्यास अहिलेसम्म पनि देखिन्छ। यसले पार्टी, संस्था र राष्ट्रलाई हित गर्दैन।
वीरेन्द्र सरकार असाध्यै परिश्रमी, सरल र सहज राजा होइबक्सन्थ्यो। कहिले पैदल यात्रा गरेर जाने, कहिले आफैँ हेलिकप्टर चलाएर सम्बन्धित ठाउँमा पुगी हेर्ने, बुझ्ने गर्नुहुन्थ्यो। वीरेन्द्र सरकारसँगको निकटताले मलाई पनि के सिकायो भने जुनसुकै पद र ओहोदाको मानिसले अन्याय गरे पनि त्यसको तुरुन्तै विरोध र प्रतिकार गर्नुपर्छ।
विकासका योजना, जनताको अवस्था, राजनीतिक प्रभावका बारेमा सरकारलाई विशेष निवेदन गर्दथेँ। सरकारबाट मलाई असाध्यै अनुकम्पा मिलेको थियो। यसले गर्दा काम गर्न सजिलो भई उत्साह बढेको थियो। पञ्चायतका विरुद्धमा आन्तरिक र बाह्य रूपमा आलोचना बढ्दै जाँदा सरकारमा विशेष अनुरोध गर्ने इच्छा थियो। समय मिलिरहेको थिएन।
यही क्रममा मैले वि.सं. २०४४ सालमा वीरेन्द्र सरकारको सुर्खेतमा सवारी हुँदा दर्शन भेट पाएको थिएँ। मैले उहाँसँग पञ्चायतका बारेमा यथार्थ तर तितो कुरा गरेको थिएँ। उहाँले त्यसमा केही भन्नुभएन, टाउको मात्र हल्लाउनुभयो। मैले प्रष्ट रूपमा भनेको थिएँ, सरकार! अब पञ्चायत रहँदैन। यदि पञ्चायत राख्ने हो भने यसको कार्यशैलीमा तुरुन्तै परिवर्तन गर्नुपर्छ। यी कारणहरूले पञ्चायत आजभन्दा भोलि, भोलिभन्दा पर्सी असाध्यै कमजोर बन्न पुगको छ। सरकारसँग बिदा भएर बाहिर आएपछि रेगबहादुर सुवेदीले सरकारसँग के कुरा गर्नुभयो? भनी सोध्नुभयो। मैले सबै कुरा सुनाएँ। रेगबहादुरजीले अलिक अफ्ठ्यारो मान्नुभयो र 'राजालाई यस्ता कुरा जाहेर नगरेको भए राम्रो हुने थियो' भन्नुभयो।
यस्ता कुराले राजा र मेरो सम्बन्ध बिग्रन्छ कि भन्ने चिन्ता उहाँलाई लागेको हुनसक्छ। समय बित्दै गयो, नभन्दै २०४६ साल चैत २६ गते रात्रि ११ बजे पञ्चायतले बिदा लियो, बहुदलीय प्रजातन्त्र आयो। वीरेन्द्र सरकारले प्रजातन्त्र घोषणा गर्ने बित्तिकै रेगबहादुरजीले मलाई फोन गरी 'तपाईंले भनेको सत्य सावित भयो आजदेखि पञ्चायत गयो' भन्नुभयो।
जहाँ जनताका प्रतिनिधिहरूले देश र जनताको विकास र वैभवमा ध्यान दिँदैनन्, जसले जनताको समस्यालाई बुझ्न सक्दैन, जहाँ चुनावी प्रतिस्पर्धा हुँदैन, त्यो सत्ता दीर्घकालसम्म टिक्न सक्दैन। लोकप्रिय हुन पनि सक्दैन। वरिन्द्र सरकारले मात्र सबै गर्न सक्ने होइन, निकटवर्ती एवं जनप्रतिनिधिहरूले सत्य र यथार्थ बुझेर कार्य अवश्य पनि शासन लामो समय जान सक्ने कुरै भएन।
वीरेन्द्र सरकारले चलाएको हेलिकप्टरमा मैले धेरैपटक यात्रा गर्न पाएको छु। प्रायः ऐश्वर्य सरकार उहाँकै साथमा रहनुहुन्थ्यो। नाटेश्वरीको मन्दिर, खप्तड स्वामीलाई भेट्न जाँदा, गोरखाको मनकामना, झापा आदिको यात्रामा साथ रहने मौका पाएको थिएँ। एक पाना गोरखास्थित मनकामनादेवीको दर्शन गर्न जाँदा वीरेन्द्र सरकार बुट नफुकालीकन मन्दिरभित्र जानुभयो। पूजाआजा सकेपछि पुजारीले माला टीका आदि लगाइदिनुभयो। मैले पूजा र दर्शन पद्धति बुझेको मानिसलाई यसबारे जिज्ञासा राखेँ। उहाँले भन्नुभयो, 'यहाँका पुजारी र स्वध राजालाई पनि बुट लगाएर मन्दिर प्रवेश गर्न हुँदैन भन्ने थाहा छ। राजालाई विष्णुका अवतार मानिन्छ, त्यसैले राजालाई बाबुको जुठो लाग्दैन। धर्मले नै उहाँलाई छुट् दिएका कारण बुट लगाएर प्रवेश गर्नुभएको हो।
प्रजातन्त्र आएपछि पनि सरकारसँग भेटघाट वा सभा समारोहमा दर्शन गर्न पाइन्थ्यो। दरबारमा भेट्दा जति खुलेर लामो समय कुरा गर्न पाइन्थ्यो, अलिपछि त्यो अवसर हुने कुरै भएन। भेटघाटमा सरकारले वर्तमान समयमा भइरहेका कार्य एवं मन्त्रीपद सम्हाल्दाका समस्या, जनताको राय अवस्थाका बारेमा सोधनी राख्नुहुन्थ्यो।
प्रजातन्त्र आएपछि उहाँले व्यक्तिगत, पारिवारिक कुरा एवं अन्य पक्षमा अलिक बढी सोध्ने र बुझ्ने गरेको अनुभव मैले गरेँ। यस्तो सोधनी पञ्चायतकालमा एक प्रकारले हुँदै हुँदैनथ्यो भने पनि हुन्छ। पञ्चायतकालमा राजासँग जति धेरै भेटघाट हुन्थ्यो, त्यसपछि अलिक कम हुँदै गयो। जन्म दिन, दर्श आदिका अवसरमा जाने क्रम भने यथावत थियो। विशेष काम परे मात्र सरकारबाट बोलावट र सोधनी हुन्थ्यो, अन्यथा हुँदैनथ्यो।
कहिलेकाहीँ मुखमा के आएर बसेको हुन्छ, थाहा हुँदैन। बुढापाकाले 'प्याच्च नबोल्नु, थ्याच्च नबस्नु' भन्दछन्। वास्तवमा उनीहरूले साही बुझेर भनेका रहेछन्। मलाई पनि कुनैकुनै बेला यस्तै हुन्छ। वि.सं. २०५८ जेष्ठ १९ गते रात्रि सुत्ने बेलामा मनमा के तरङ आएको जस्तो भयो। मैले घरमा फोनको अवस्था कस्तो छ हेर भनी परिवारलाई जाँच्न लगाएँ। फोनको रिसिभर मिलाएर राख्न र परीक्षण गर्न लगाएँ। त्यतिबेलासम्म मसँग मोबाइल फोन थिएन। फोन चेक गरेपछि 'राति अतिआवश्यक फोन आउन सक्छ है, विचार गर' भनेर सुतेँ।
बिहानै माहिली छोरीले फोनबाट 'दरबारमा के–के भयो भन्छन्, तपाईं कता? के गर्दै हुनुहुन्छ?' भनिन्। 'हो र?' भन्दै मैले रेडियो सुनेँ। राष्ट्रिय शोकको धुन बजिरहेको थियो। साथीहरूलाई फोन गरेँ- सबै मौन, शोकाकुल, म आश्चर्य चकित भएँ। एकछिन त सपनाजस्तै लाग्यो। कसैसँग चित्त बुझ्दो उत्तर थिएन। पत्याउनै नसकिने, कल्पनाभन्दा बाहिरको, हृदयविदारक घटना। आफैँले भोगेर मात्र, नत्र सत्य हो भन्नै नसकिने घटना भयो नेपालमा।
सञ्चारका माध्यमबाट जे खबरहरू आए, हल्लाहरू जे फैलिए वास्तवमा घटना के भयो? कसरी भयो? कसले गरायो? आजसम्म सबै रहस्यै रहस्यमै छ। यस दुःखद एवं अकल्पनीय घटनामा श्री ५ ऐश्वर्य, श्री ५ अधिराजकुमार दीपेन्द्र, श्री ५ श्रुती, श्री ५ अधिराजकुमारी शान्ती सिं, श्री ५ अधिराजकुमारी शारदा, धीरेन्द्र शाह, श्री ५ अधिराजकुमार निराजन, कुमार खड्गविक्रम शाह, जयन्ती शाहलगायतका राजपरिवार एवं निकटस्थ आफन्तहरूको स्वर्गारोहण भएको थियो।
यसपछि तात्कालिक प्रधान सेनापतिले 'दरबारको सुरक्षा दिने काम सेनाको होइन' भन्नुभएको थियो। तात्कालिक प्रधानमन्त्री रक्षामन्त्री हुनुहुन्थ्यो। 'हुने हार दैव नटार' भनेझैँ हुने कुरालाई कसैले रोक्न, छेक्न सक्दोरहेन छ। यसरी वीरेन्द्र सरकारले संसारबाट भौतिक रूपमा बिदा लिनुभयो भन्न मलाई कर लाग्छ। उहाँ राजा भएर पनि सन्त स्वभावको हुनुहुन्थ्यो। नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने, बहुदलीय शासन व्यवस्था लागु गर्नेलगायतका कार्यलाई नेपाली जनताले भुल्ने छैनन्।
पुराना राजनीतिज्ञ घर्तीमगरको पुस्तक 'ऐतिहासिक घटनाक्रम भाग–१'बाट