गणतन्त्र नेपालले हिजो सोमबार १६औँ गणतन्त्र दिवस मनाएको छ। हजारौं नेपालीको सहादतबाट प्राप्त गणतन्त्र नेपालको सबैभन्दा ठूलो यो दिवस कुनैबेला सारा नेपाली जनजनको उत्सव थियो।
दुःखका साथ भन्नुपर्छ, बितेका यी १६ वर्षमा भए–गरिएका कुकर्मका कारण यो जन–उत्सव सैनिक टुकडीका साथ टुँडिखेलमा मनाइने एक कर्मकाण्डी दिवसमा सीमित हुनपुगेको छ।
यद्यपि, यो नहुनुपर्ने थियो। राजतन्त्रबाट असंख्य यातना र पीडा भोगेको पुस्ता कसैले पनि गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्न सक्दैन। राजतन्त्रमा खराब राजा फेर्न राजा नै मर्नु, मारिनु, बौलाउनु पर्छ। तर, गणतन्त्रमा त पाँच वर्षमा नेता फेर्न पाइन्छ। अहिले त्यसो गर्न सकिएको छैन भन्दैमा सधैँ यस्तै हुन्छ भन्ने हैन। यो सत्य हामीले पुरानालाई त सम्झाउन सकेनौ भने नयाँलाई बुझाउन कठिन हुनु स्वभाविक हो। अहिले हामी इतिहासकै त्यही कठिनतम् मोडमा आइपुगेका छौं।
यो अवस्थामा आइपुग्न हामी सबैले आ–आफ्नो गच्छेअनुसार योगदान गरेकै छौं। त्यसमा पनि सबैभन्दा ठूलो योगदान यो व्यवस्था ल्याउने राजनीतिक दल र तिनका शीर्षनेताकै छ। आफूले रोपेको बिरूवालाई मलजल गर्नुको सट्टा कात्तिके कुकुर झुत्ती खेल्ने ठाउँ बनाएपछि जे हुन्थ्यो–हुनुपर्थ्यो, अहिले त्यही भएको हो। एक हैन, अनेक कुकर्मका कारण ‘बनाना रिपब्लिक’ हुन पुगेको नेपाल एक असफल राष्ट्र हुने डिलनजिक धकेलिएको छ।
‘आफू पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न’ भन्ने केपी शर्मा ओली अन्ततः नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफाँससँगै भ्रष्टाचारको जड, संरक्षक र प्रवर्द्धकका रूपमा देखापरे।
यतिबेला देश नक्कली भुटानी शरणार्थी प्रकरण नामको एक राज्य संरक्षित, सञ्चालित भ्रष्टाचारको कलंकको टीका लगाइरहेको छ। यसको आयाम मुलुकभित्र त छ नै, मुलुकबाहिर पनि पुग्दा नेपालको अन्तर्राष्ट्रिय छवि समेत धुमिल हुन पुगेको छ।
यो दागको सुरूवात यस्तो व्यक्ति प्रधानमन्त्री हुँदा भएको छ जो मुखले आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्दैआएका छन्। तर, व्यवहारमा उनी नै यस प्रकरणको पटाक्षेप भएपछि भ्रष्टाचारको जड, संरक्षक र प्रवर्द्धकका रूपमा देखापरेका छन्। यति ठूलो बिडम्बना नेपालका कुनै पनि नेताले यसअघि ब्यहोरेका थिएनन्।
नेपालकै इतिहासमा त्यो विडम्वनापूर्ण पात्र अरू कोही नभएर केपी शर्मा ओली हुन्। उनी प्रधानमन्त्री भएकै बेला दुई नम्बरी बरियताका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यो प्रकरणको खेतीपाती गर्न आयोग गठन गरे।
उनका सल्लाहकार, श्रीमती, छोरा र पार्टी कम्रेड टोपबहादुर रायमाझीमार्फत यसलाई गोरखधन्दा बनाएर अमेरिका जान चाहने सयौं नेपाली युवालाई जुकाले रगत चुसेजस्तो चुसी रहे। उनको सरकार ढल्दासम्म यो यस्तो लैनोगाइ भैसकेको थियो कि सिंगो गृहप्रशासन नै यसमा लिप्त थियो।
गृहमन्त्रालयमा बादललाई प्रोक्सी मन्त्री राखेर तत्कालीन गृहसचिव प्रेमकुमार राईमार्फत गृहमन्त्रालय चलाएका चतुर ओलीलाई यो सबै थाहा थिएन र त्यसबाट उनी लाभान्वित थिएनन् भनेर कोही पनि पत्याउन तयार छैन।
यस प्रकरणमा पक्राउ परेका गिरोहका नाइकेहरूले स्वयं ओलीपत्नी संरक्षक रहेको मानवधर्म सेवा नाम गरेको संस्थालाई जोडेर उनका स्वकीय सचिव राजेश बज्राचार्य र तत्कालीन सल्लाहकार डा. अजयक्रान्ति शाक्यलाई बालुवाटार पुगेरै करोडौ बुझाएको बयान दिए।
एकातिर आफू अध्यक्ष रहेको पार्टीका उपाध्यक्ष बादल, पार्टी सचिव तथा सांसद रायमाझी, सांसद नैनकला थापा प्रत्यक्ष मुछिएका छन् भने, अर्कोतिर आफ्नै सल्लाहकार र स्वकीय सचिवको नामसमेत करोडौ लिनेमा जोडिएको छ।
यसरी किचेन क्याविनेटदेखि आफ्नै क्याविनेटका वरिष्ठ सदस्यसमेत जोडिएपछि ओली मात्र अछुतो हुन्छन् भनेर कसरी पत्याउने ? अझ त्यसमाथि पनि यो त प्रधानमन्त्री नै कार्यकारी प्रमुख हुने व्यवस्था हो। यो व्यवस्थाले सरकारले गर्ने हरेक कार्यको कम्तीमा पनि नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने जिम्मेवारीको अपेक्षा गर्दछ।
गणतन्त्रमा बदनाम हुनुको सबैभन्दा मूलकारण सुशासनको अभाव हो। पारदर्शिता नभएको भ्रष्ट सरकारले सुशासन दिन सक्दैन। सुशासन नभएपछि जनतामा नैराश्यता बढ्छ, बिद्रोहको भावना जागृत हुन्छ। यस्तो अवस्थामा जो शव्दजाल हानेर जनतालाई भड्काउन सक्छन्, उनीहरूकै रोटी सेकिन थाल्छ। अहिले नयाँ नामका टपरटुइयाँहरूले पाएको राजनीतिक उपलव्धी त्यसैको परिणाम हो।
सुशासनका लागि राजनीतिक स्थायित्व र स्थिर सरकार चाहिन्छ। त्यसका लागि चाहिने भनेको कुनै एक दलको पूर्ण बहुमत भएको संसद र त्यसले दिने सरकार हो। नेपालमा गणतन्त्र आएपछि यस्तो सुअवसर पाउँने एक मात्र नेता केपी शर्मा ओली मात्रै हुन्।
इतिहास साक्षी छ, २०७४ को आमचुनावमा एमाले–माओवादी गठबन्धनबाट प्रचण्ड बहुमतका साथ सत्तारूढ भएका थिए ओली। उनका लागि त यो समय अनुपम थियो नै, गणतन्त्र नेपालकै इतिहासमा कुनै नेतालाई प्राप्त न भूत न भविष्य अवसर पनि थियो। यही बीचमा चुनावी गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्र एकीकृत भई नेकपा बनेको थियो। ओली त्यो नेकपाको एक नम्बर पार्टी अध्यक्ष पनि बनेका थिए।
तर, दुर्भाग्य उनले न त्यो प्रचण्ड बहुमतको सरकार जोगाउन सके, न एकीकृत बनेको नेकपा बचाउन सके। उल्टै भएको एमाले पनि सग्लो राख्न सकेनन्, दुई टुक्रा भयो। एमालेमा रहेका उनीसँग विमति राख्ने बचेखुचेका केही सम्भावना भएका नेतालाई पनि उनले पार्टी महाधिवेशन र आमचुनावमार्फत ‘माइक्रो म्यानेजमेन्ट’ गरेर घरको न घाटको बनाए। यसरी नियोजित किसिमले पार्टी कब्जामा लिएर ओली बाँकी रहेको उनकै गुटको एमालेको मात्र अध्यक्ष भएका छन्।
यसो गर्दा उनले के बिर्से भने सानो पार्टीको ठूलो नेता हुनुभन्दा ठूलो पार्टीको सानै नेता हुनु श्रेयस्कर हो। यो बुझ्नका लागि उनका सामु सीपी मैनाली र उनको सुकेनास लागेको नेकपा माले नै पर्याप्त थियो। तर, उनले आफ्नै अग्रजको त्यो दिशा र दशाबाट कुनै पाठ सिकेनन्।
उल्टै एमालेका राम्रा नेतालाई किनारा लगाएर राजावादी राप्रपासँग चुनावी गठबन्धन गरे। एमालेबाट विभाजित भएर गएको नेकपा एकीकृत समाजवादीका नेताहरूलाई छोइछिटो गर्दै पानी बाराबार मात्र गरेनन्, उनीहरूविरूद्ध जेहाद नै छेडे।
परिणामतः स्थानीय चुनावसम्म जसोतसो घिसारिरहेको एमालेको टायर आमचुनावमा आइपुग्दा नराम्री पञ्चर भयो। आफ्नो बुताले न संघीय सरकारमा आउने स्थिति भयो न प्रदेश सरकारमा, राष्ट्रपतिदेखि सभामुखसम्मका कुनै पदमा पनि एमालेको चिहाउने स्थिति रहेन।
यही बीचमा तत्कालीन सत्तारूढ चुनावी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस एक नम्बर पार्टी भएकोमा उसको एकैचोटी पखेटा लाग्यो। उसले सहयात्रीलाई गन्नै छोड्यो, चुनावअघि गठबन्धन बनाउदा गरेका सहमतिहरूको हेक्का राखेन। कांग्रेसलाई प्वाँखै नउम्री पखेटा जोडिदिन चतुर ओलीले पनि राम्रै इन्धन हाले।
यही क्रममा ओलीको तिकडमले रङ ल्यायो, उनी सत्तारूढ गठबन्धन तोड्न सफल भए। माओवादीलाई आफ्नो गठबन्धनमा ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाए। यही मेसोमा उनले संघीय संसद्को सभामुख, प्रदेशमा बहुमत संख्यामा मुख्यमन्त्री र सबै प्रदेश सरकारमा सहभागिता र केही प्रदेशमा सभामुख र उपसभामुख पनि हात लगाए।
यो समय नेपालमा फेरि एकपटक वामपन्थी ध्रुवीकरण हुने सुनौलो अवसरका रूपमा आएको थियो। यदि ओलीले पार्टी विभाजनको पछिल्लो घटनाबाट पाठ सिकेर माओवादी र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गर्दै नेकपा ब्युँताउने अवस्थातिर लैजाने इमान्दार प्रयास गरेको भए नेपाल फेरि एकपटक वाम ध्रुवीकरणको विन्दुमा पुग्थ्यो।
यसरी वाम ध्रुवीकरण हुनेबित्तिकै दक्षिणपन्थी दलहरू पनि नेपाली कांग्रेससँग गठबन्धनमा जान बाध्य हुन्थे। परिणामतः नेपाल वैचारिक आधारमा दुईदलीय ध्रुवीकरणमा जान्थ्यो। यो नै नेपालका लागि राजनीतिक कोर्स करेक्सनको एक मात्र बाटो थियो, हो। ढिलोचाँडो नेपाल यो बाटोमा पुगेर अगाडि नबढी धेरै छैन।
तर, यसपटक पनि ओलीको शुद्धी फिरेन। उल्टै, उनमा यति धेरै महत्वाकांक्षा बढ्यो कि राष्ट्रपतिलगायतका सबै पद हत्याउने र त्यसैको बलमा प्रचण्डलाई उठमा उठ बसमा बस पार्दै जतिसक्दो चाँडो प्रधानमन्त्रीको कुर्सीमा पुग्ने योजनामा लागे। उनको यो कुटिल चाल बुझेका प्रचण्ड र देउवा फेरि एकपटक हात मिलाउने ठाउँमा आइपुगे।
जब प्रचण्ड र देउवाको हात मिल्यो त्यसपछि हात खालि हुने पालो ओलीको थियो। कतिपय हात लागेका पद गुम्न थाले भने कतिपय बैनाबट्टा भैसकेका पद पनि सदाका लागि टाढा भए।
यसरी आमचुनावपछि उठ्नै नसक्ने गरी थचारिएका ओलीले फेरि एकपटक एमालेलाई केही दिनका लागि भए पनि सत्तामा पुर्याए। आफूलाई पनि प्रधानमन्त्री हुने सम्भावनाको नजिक पुर्याए। तर, समयको पदचाप नबुझ्दा फेरि उनी सत्ताबाट उछिट्टिए। सम्भवतः अब उनका लागि प्रधानमन्त्री पद जीवनभर ‘आकाशको फल आँखा तरी मर’ नै हुने जस्तो छ।
अहिले परिस्थितिले ओलीलाई अत्यन्त निम्छरो बनाएको छ। सत्ताबाट टाढा भएर बिरक्तिएका ओलीलाई नक्कली भुटानी शरणार्थी प्रकरणले झनै नराम्ररी गलाएको छ। आफ्नालाई जोगाउन उनी ज्यान फालेर लाग्नु परेको छ। र, त्यसका लागि प्रचण्डकोमा पटक पटक हाजिरा लगाएर याचना गर्नुपरेको छ।
अब प्रश्न उठ्छ, ओलीलाई यस्तो स्थितिमा कसले पुर्यायो त ? उत्तर सहज छ, यो सबै ओलीको आफ्नै कुवुद्धिको परिणाम हो। नेपालीमा एउटा भनाइ छ, काग धेरै बाठो भयो भने आफ्नै … खान्छ। ओली अहिले त्यही अवस्थामा पुगेका छन्।
नेपाली राजनीतिमा ओली पात्र मात्र हैन, प्रवृत्ति पनि हुन्। आफ्नो स्वार्थलाई मात्र केन्द्रमा राखेर सोच्ने र त्यो प्राप्तिका लागि आफू जे गर्न र अरूलाई भड्खारामा हाल्न तयार हुने ओली प्रवृत्तिको चुरो हो। आफू मात्र जान्ने, कुराले आकाश–पाताल जोड्ने, जे बोल्ने त्यो नगर्ने अनि जे गर्ने त्यो नबोल्ने ओली प्रवृत्तिका थप चरित्र हुन्।
कम्रेडबाट बा भएका ओली सांस्कृतिक रूपमा पनि पतित भएका एक सिल्पट नै हुन् भन्दा पनि हुन्छ। गणतन्त्र नेपालमा अथाह मौका पाएर पनि केही नगर्ने यी सिल्पटका बारेमा यसो भन्दा उनको र उनका अनुयायीको चित्त दुख्न सक्छ। तर, एक होइन अनेक तथ्यले उनी यसका लागि अभिशप्त छन् भन्ने आधार छन्।
यद्यपि, वाकपटु ओली र उनको गोयबल्स दस्ता यसका लागि तैयार छैन। यसो गर्दा उनीहरूले के बिर्सिरहेका छन् भने हजार तर्कभन्दा एउटै तथ्य बलियो हुन्छ। र, आजको सर्वमान्य तथ्य के हो भने ओलीको जति छिटो पतन हुन्छ, एमाले त्यही मात्रामा पतन हुनबाट जोगिन सक्छ। र, त्यसबाट एमालेको त हित हुन्छ नै, नेपाल र नेपालीको पनि जीत हुन्छ।