‘करबाकेली ईको ट्रेक’ नेपाली पर्यटन उद्योगमा एउटा नमुना पदमार्गको रुपमा चम्किरहने छ।
करबाकेली थानलाई केन्द्रमा राखेर हामीले एउटा पदमार्गको ब्रान्डिङ गर्यौं, ‘करबाकेली इको ट्रेक’का रुपमा। चर्चित हिलस्टेशन पुनहिलबाट फूलबारी हुँदै करबाकेली थान भएर बेनी जोड्ने पदमार्ग।
पुनहिलमा बर्सेनी हजारौं पदयात्री पुग्छन्। उनीहरू उल्लेरी हुँदै उकालो लागेर टाडापानी हुँदै फर्कन्छन्। खोपारा पदमार्गमा जानेहरू पनि करबाकेली थानमा आइपुग्दैनन्। त्यसैले चाहे घान्द्रुकबाट आउने हुन् या उल्लेरीबाट, उनीहरूलाई फूलबारी हुँदै करबाकेली थान निम्त्याउने पदमार्गलाई हामीले ब्रान्डिङ गरेका हौं।
कास्कीको वीरेठाँटी, तिखेढुँगा, उल्लेरी, घोडेपानी, पुनहिल हुँदै करबाकेली थान भएर बेनी बजार जोड्ने पदमार्ग नै करबाकेली इको ट्रेक हो। धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र निलगिरि हिमसृङ्खला, जैविक विविधता, गाउँले जीवनशैली र पुन समुदायको संस्कार एवं संस्कृति अध्ययन गर्न यो पदमार्ग उपयुक्त छ।
पुनहिलबाट झरेर करबाकेली थानमा बास बसेपछि बेनी झर्ने चार विकल्प दिएका छौं। पहिलो विकल्प बैसरी हुँदै बेनी, दोस्रो विकल्प रिमा, औल गाउँ, बैसरी हुँदै बेनी, तेस्रो विकल्प महभीर, मल्लाज हुँदै बेनी र चौंथो विकल्प करबाकेली थानबाट नागी, फलामेडाँडा हुँदै बेनी झर्ने।
छोटो, मिठो र सजिलो पदमार्ग अर्थात् करबाकेली ट्रेक। यसमा चार दिनसम्म पदयात्रा गर्न सकिन्छ।
जब हामीले करबाकेली थान र सामुदायिक पाहुना घर बनायौं तबदेखि काफलडाँडामा मान्छेहरू आउन थाले। पुन समुदायलाई मात्र होइन, अन्य समुदायका नेपाली र विदेशीलाई समेत यहाँ लोभ्याउनु पर्छ भन्ने निचोडमा पुग्यौं हामी।
त्यसका लागि पदमार्ग एउटा माध्यम बन्न सक्छ भन्ने भयो। त्यति मात्र कहाँ हो र, पर्यटनबाट गरिबी निवारणमा ठुलो योगदान पुग्छ। हामीले दुई वर्ष अघि देखि नै पदमार्ग पहिचान एवं प्रवद्र्धन गर्ने बारे सोचेका थियौं। यसमा हाम्रो अनुभव थिएन। कसरी प्रवद्र्धन गर्ने भन्ने मेसो पाएनौं। त्यसैले पुनहिलको काख फूलबारीमा होटल चलाउँदै आएका याम पुनलाई भेट्यौं। उनीसँग परामर्श गट्रेकयौं। उनले काठमाडौंमा रहेको म्याप हाउसमा जान सुझाब दिए।
पदमार्ग पहिचान गर्ने उद्धेश्य बोकेर म वि.सं. २०७५ फागुनमा काठमाडौंको बसन्तपुरस्थित हिमालयन म्याप हाउसमा पुगें। त्यहाँका निर्देशक पवन शाक्य र पर्यटन पत्रकार अमृत भादगाउँलेसँग विस्तृत रुपमा छलफल भयो।
पदमार्ग एक्सप्लोरसहित पर्यटन प्रवद्र्धनका काम गर्न उनीहरूले ‘कन्सेप्ट नेपाल’ नामक संस्था खोलेका रहेछन्। त्यसकै प्राविधिक सहयोगमा पदमार्ग एक्सप्लोर गर्ने योजना बनायौं।
हामीले नयाँ वर्ष २०७५ को सुरुमै अध्ययन भ्रमण गर्ने मिति तोक्यौं। नभन्दै बैशाख ४ गतेबाट हाम्रो अध्ययन यात्रा सुरु भयो। हाम्रो टोलीमा म्यापविज्ञ पवन शाक्य, ट्राभल राईटर सुरेन्द्र राना ‘गुरिल्ला’, पर्यटन पत्रकार भादगाउँले, भिडियोग्राफर ज्योतिकेशर सिंह, याम पुन र म थियौं।
हामी पोखराबाट उल्लेरीसम्म जीपमा गयौं। पहिलो दिन घोडेपानीमा बास बस्यौं। दोस्रो दिन फूलबारी हुँदै करबाकेली थानमा बस्यौं। तेस्रो दिन हामी बाँडियौं, एक टोली बैंसेरी हुँदै बेनी झर्यौं अर्को टोली महभीर तिर झर्यौं। हामी बेनीमा पुगेर एउटा जीप समातेर पर्वतको फलामे डाँडामा पुग्यौं।
महभीर हुँदै आएका साथीहरू पनि बीचमा जोडिए। हामी एक रात फलामे डाँडामा बस्यौं। भोलिपल्ट त्यहाँ गाउँलेहरूले पुख्र्यौैली नाचले भव्य स्वागत गरे। यस्तै स्वागत करबाकेली थानमा पनि गरिएको थियो।
त्यताबाट फर्केपछि युद्धस्तरमा पदमार्गको नक्शा बनाउने काम भयो। पोष्टर, भिडियो, बुकलेट र ब्रोसर बनाइयो। कति छिटो भने महिना दिनमै जेठ ४ गते ठमेलको मुनलाइट होटलमा नक्शा, ब्रोसर, बुकलेट सार्बजनिक गरेर पदमार्ग शुभभारम्भ भएको घोषणा गर्न सफल भयौं।
करबाकेली पर्यटन व्यवस्थापन समिति, काफलडाँडाले आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी, ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्य र समितिका सल्लाहकार चामबहादुर पुनबाट पदमार्गको नक्शा, पोष्टर, बुकलेट र क्यालेन्डर विमोचन गरिएको थियो।
हिँड्न लायक पदमार्ग, सबैतिर होटल सुविधा भएको अबस्थामा आवश्यक आइटिनरी (भ्रमण तालिका) र नक्शा उत्पादन भैसकेपछि पर्यटकलाई पनि सजिलो हुने नै भयो। ट्रेकिङ कम्पनीलाई पनि सजिलो भयो।
संयोग के पट्रेकयो भने, म्याग्दी उद्योग वाणिज्य संघले ‘म्याग्दी भ्रमण वर्ष २०७५’ मनाइरहेको थियो। हामीले यो पदमार्गलाई भ्रमण वर्षको उपहारका रुपमा प्रचार गट्रेकयौं। यसबाट सकारात्मक सन्देश गयो।
हाम्रो पदमार्गको विषयमा पत्रपत्रिका, अनलाइन र टिभी च्यानलमा राम्रो प्रचार भयो। धेरै पदयात्रा चलाउने कम्पनीहरूले आफ्ना वेवसाइटमा तस्बिरसहित पदमार्गको आइटिनरी (भ्रमण तालिका) राखेका छन्।
हामीले गाउँलेलाई होमस्टे सम्बन्धी तालिम पनि दियौं। छोटो समयमै करबाकेलीको पर्यटनमा सकारात्मक प्रभाव देखिन थालेको थियो। तर, संसारभर कोरोना महामारी फैलियो। पर्यटन क्षेत्र पनि तहसनहस भयो।
कोभिड नभइदिएको भए हामी धेरै अगाडि पुगिसक्थ्यौं। दुई वर्ष पछि बल्ल पर्यटनले गति लिने लक्षण देखिएको छ। आगामी दिनमा करबाकेली क्षेत्रमा मात्र होइन, समग्र नेपालका गन्तव्यहरूमा पर्यटक बढ्ने छन्। हामी आशावादी बनौं।
गाउँमा आइपुग्ने पर्यटक हुन् या गाउँलेलाई प्राथमिक उपचारमा सहज होस् भनेर हामीले पाहुना घरमा ‘फस्र्ट एड’ बाकस राखेका छौं। त्यहाँ निःशुल्क औषधी पाइन्छ।
काफलडाँडा नजिकै राम्चेमा हेल्थपोष्ट छ। छिमेकी गाउँ नांगिमा चाहिँ राम्रो सुविधा छ। औषधी लिएपछि विदेशीहरू पैसा दिन खोज्छन्। हामी कसैसँग पनि पैसा लिँदैनौं। वर्षवर्ष दिनका लागि बेलायतमा बस्ने साथीहरूले औषधि प्रायोजन गरिदिने गरेका छन्।
कतिपय ठाउँमा हाम्रो पदमार्ग सुधार गर्नु पर्नेछ। अब त्यो काम गर्नेछौं। काफलडाँडामा हेलिप्याड पनि बनाउँछौं। एकपटक फेरी मिडियामा करबाकेली इको ट्रेकको एग्रेसिभ प्रचार गर्नु पर्ने आवश्यकता देखेको छु। हामी ट्रेकिङ कम्पनीहरूलाई पनि झक्झक्याउँछौं।
‘करबाकेली इको ट्रेक’ नेपाली पर्यटन उद्योगमा एउटा नमुना पदमार्गको रुपमा चम्किरहने छ।
म्याग्दीको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चाम बहादुर पुनको प्रकाशोन्मुख पुस्तक ‘लाहुरेको सङ्घर्ष, करबाकेलीको सेवामा दुई दशक’ अंश। पुस्तक भोलि (आइतबार) बिमोचन हुँदैछ।