'ह्वाट्स लव गट टु डु विथ इट' फेमकी अमेरिकी गायिका टिना टर्नरको निधन भएको छ। अनेकौ रोगसँग जुधिरहेकी 'क्विन अफ रक एण्ड रोल' टर्नरको ८३ वर्षको उमेरमा स्विटजरल्याण्डमा निधन भएको हो।
सन् १९३९ मा अमेरिकाको टेनेसी राज्यको ग्रामीण बस्तिमा रहेको एक गरिव परिवारमा जन्मिएकी टर्नरको जीवन अनेकौ उतारचढावले भरिएको छ। पीडामय सम्वन्धका गीत गाउने यी सदाबहार हिट गायिकाले जीवनको धेरै लामो समय एक हिंस्रक पीडकको श्रीमतीका रूपमा बिताएकी थिइन्।
सन् १९६० को दशकमै हिट भएकी उनी ७० को दशकको सुरूमा डल्लासको एक होटलमा ३६ सेन्ट चोरेर भागेकी थिइन्। त्यसपछि उनले १९८४ मा जीवनकै सबैभन्दा उम्दा एलबम प्राइभेट डान्सर लिएर आइन्। त्यही एल्बमको ह्वाट्स लव गट टु डु विथ इट अर्थात् प्रेमले के गर्नुपर्छ भन्ने गीतले उनको कमब्याक मात्र भएन उनलाई अमर पनि बनायो।
जीवनको उत्तरार्द्धमा उनले अमेरिका त्यागिन्। अमेरिकाभन्दा युरोपले बढी माया गर्ने बताउने उनी युरोपमा सबैभन्दा बढी लोकप्रिय थिइन्। अमेरिका छोडेर सुरूमा बेलायत पुगेकी उनी जर्मनी, फ्रान्स हुँदै अन्तिममा स्विट्जरल्याण्ड पुगेकी थिइन्। त्यही उनले आफ्नो बाँकि जीवन बिताइन्।
टिनाको निधनमा विश्वका उम्दा संगीत श्रष्टाहरूले गहिरो समवेदना प्रकट गर्दै उनको स्मरण गरेका छन्। उनलाई एक जुझारू गायिकाको रूपमा विश्वले सँधै सम्झिरहने उनीहरूले बताएका छन्।