वीरगञ्जका विवेक महतो इन्जिनियर बन्न चाहन्थे तर मानव सेवी बने। इन्जिनियरिङ पढाइ त्यागेका उनी हिजाेआज अशक्त, असहाय, मनोरोगी र बेवारिसे आमाबुबाहरूको सेवामा व्यस्त छन्।
सडक मानवलाई ‘छाना, खाना र नाना’ दिने उद्देश्य बाेकेका उनी पाँच वर्षदेखि मानव सेवा आश्रममा आवद्ध छन्। उनी भन्छन्, ‘इन्जिनियर बनेपनि एउटा असल नागरिक बन्न सफल भएकाे छु।’
सानैदेखि इन्जिनियरको सपना बोकेका उनी आश्रमको नामसम्म सुन्न रुचाउँदैन थिए रे! तर भावीले लेखेको कसले पो नर्कान सक्थ्यो हाेला र! उसले नचाहेकाे कुरा नै अहिले उनकाे पहिचान बनेकाे छ।
२०७५ सालमा एघार कक्षामा विज्ञान संकाय पढ्दै थिए, विवेक। पढाइमा अब्बल उनी कक्षाकोठाका ‘क्याप्टेन’ थिए। त्यसैले कक्षाकोठालाई अनुशासित बनाउनु उनकाे कर्तव्य थियाे।
एकदिन उनको ‘क्लासमा’ आश्रमका केही व्यक्ति आए। उनीहरूकाे आगमनसँगै विद्यार्थीहरू हल्ला गर्न थाले। कक्षामा एकाएक काेलाहल मच्चियाे। ‘कक्षामा साथीहरूले गरेकाे हल्लाका कारण मैले नमज्जासँग गाली सहेँ। त्यतिमात्र हाेइन, मैले सरकाे कुटाइ पनि खाएँ, मलाई धेरै रिस उठ्यो’, उनले सुनाए।
बिना कारण शिक्षककाे पिटाइ सहेका उनी आश्रमका मान्छे देखेर रिसले चुर भए। त्यसपछि उनले आश्रममा नजाने अठोट लिए। ‘त्योबेला मलाई लाग्यो कि आश्रमबाट आएका मान्छेहरूकै कारणले गर्दा मैले कुटाइ खाएँ। यदि उहाँहरू नआउनुभएकाे भए कक्षामा हल्ला हुँदैन थियाे। हल्ला नभएकाे भए मैले गाली र पिटाइ पनि खानु पर्दैन थियाे। त्यही कारण म रिसाएँ र कहिल्यै आश्रम नजाने सोच बनाएँ’, उनी भन्छन्।
आफूले आश्रम नजाने निर्णय लिएपनि ‘दिपेश दाइ’ ले आश्रममा गरेकाे काम देखेर उनी दंग पर्थे। युवा भएर पनि अशक्तहरुलाई गरेको व्यवहार देखेर खुसी भएका उनले एक–दुई पटक आश्रम जाने निधाे गरे।
कलेज बिदा भएका दिन उनी आफ्नो घर नजिकको ‘मानव सेवा आश्रम’ ध्याउन थाले। पहिलाेपटक आश्रम देखेर उनी छक्क परे। उनलाई लागेकाे थियाे, आश्रम भनेकाे एउटा कुटी हाे, जहाँ मात्र जाेगीहरू बस्ने गर्छन्। तर उनले साेचेकाे भन्दा फरक थियाे, त्याे आश्रम।
‘मैले सोचेको भन्दा आश्रम विल्कुलै फरक थियो। कुटी र आश्रम फरक ठाउँ रहिछ। आश्रम बस्नका लागि जोगीबन्नु नपर्ने रहिछ’, आफ्नो सोचाइबारे उनले खुलाए।
कलेज बिदा हुँदा बेलामाैकामा आश्रम जाने उनलाई त्यहाँ रमाइलाे लाग्न थाल्याे। आश्रम जान थालेकाे महिना दिनमै उनको सेवाप्रति मोह बढ्याे। उनमा पनि रहर पलायो, मानव सेवा गर्ने।
आश्रममा बसेर मानव सेवा गर्ने सोचेका विवेकले आफूले साेचेकाे सबै कुरा बाआमालाई सुनाए। उनकाे कुरा सुनेर बुबाआमाले सिधै अस्वीकार गरे। नगरून् पनि कसरी आखिर विवेक नै थिए, घरका जेठो छोरा। आमाबुबाका जिउने सहारा।
‘आश्रममा बस्छु भन्दा आमाबुबालाई लागेछ, अब म सन्यासी नै हुन्छु भनेर’, उनी सुनाउँछन्, ‘अब छोरा बिग्रिने भयाे भनेर आमाबुबाले चिन्ता लिन थाल्नुभयो।’
आश्रम बसेर सेवा गर्ने आफ्नो योजना नमानेपछि बुबाआमालाई सम्झाउँदै उनले भन्न थाले, ‘तपाईंहरुको छोरा बिग्रिँदैन चिन्ता नगर्नुस्। बरु म असल बन्नका लागि आश्रम जान लागेको हुँ।’
मानव सेवी बन्ने सोचेका उनले जसोतसो अभिभावकलाई रुझाए। बाआमाले पनि पढाइलाई निरन्तरता दिएमात्र आश्रममा जान अनुमति दिने सर्त राखे। उनी खुसी हुँदै आश्रमतिर लागे।
आश्रमले फेरिएको विवेकको जीवन
घरबाट आश्रम बस्ने अनुमति पाएपछि उनी निरन्तर आश्रममा खट्न थाले। वीरगञ्जमा बसेर मानव सेवा गरिरहेका उनी पाँच महिना सर्लाहीमा बसे। त्यहाँ उनले आफूजस्ता धेरै जनालाई मानवताका कुरा सिकाए। त्यसपछि उनी २०७६ सालमा राजधानी आए। उनले भक्तपुरको मानव सेवा आश्रममा बसेर काम गर्न सुरू गरे।
आश्रममा उनी बिरामी भएका मनोरोगी र सडकपेटीबाट उद्धार गरेर ल्याइएका बाआमाको स्याहारमा जुट्न थाले। त्यहीँ बसेर उनले काठमाडौं यूनिभर्सिटी (केयू)बाट ‘इन्भारोमेन्टल इन्जिनियरिङ’ को परीक्षा दिए। उनी १५औँ स्थानमा नाम निकाल्न सफल भए। तर मानव सेवामा लागेका उनले आफू सानाे छँदा देखेकाे सपनालाई त्यागिदिए।
‘मेरो सपना थियो, इन्जिनियर बन्ने तर आश्रममा लागिसकेपछि मलाई इन्जिनियरिङभन्दा पनि आश्रममा सेवा गर्दा रमाइलो लाग्न थालेको थियो’, उनले भने, ‘इन्जिनियरिङ पढ्नका लागि समय पनि मिलेन। त्यसपछि मैले इन्जिनियरिङ पढिनँ।’
आश्रमका लागि इन्जिनियरिङ पढाइ त्यागेका उनी अहिले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्नातक तह पढ्दै छन्। उनी भन्छन्, ‘सेवामा ध्यान दिइरहेपनि पढाइ छाडेको छुइनँ।’
१७ वर्षकाे उमेरदेखि आश्रममा सेवा गरेका उनी अहिले (मधेश प्रदेश) जिल्ला संयोजक बनेका छन्। बेवारिसेहरूका सहारा बनेका उनी भन्छन्, ‘मैले इन्जिनियरिङ पढ्न छाडेपनि म धेरै खुसी छु।’
कोरोना कालमा गरेको त्यो संघर्ष
वि.स. २०७७ सालमा देशभर काेराेनाकाे महामारी थियाे। २०७६ सालदेखि नै फैलिएकाे काेभिडकाे राेकथामका सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्याे।
काेराेना लाग्ने त्रासले घरबाट बाहिर निस्किन समेत डराउँथे, मानिसहरु। तर कोरोना कालमा समेत त्यतिकै बसेनन्, विवेक। बरु उल्टै मानव उद्धारमा जुटिरहे।
उनलाई अझै याद छ, तीन वर्षअघि नारायणी अस्पताल अगाडि बूढी आमा लम्पसार परेर सुतिरहेको त्याे दर्दनाक दृश्य। ती आमा बिमारसँग लडिरहेकी थिइन्।
‘कोरोनाको कारण लकडाउन थियो। तर अस्पताल अगाडि एउटी आमा सधैँ बसिरहनुहुन्थ्यो। उहाँको हातमा गहिरो घाउ थियो। त्यही चाेटकाे कारण आमाको नजिक जानका लागि मानिसहरु डराउने गर्थे। उहाँकाे दर्दनाक अवस्था देखेर हामीले आमालाई अस्पताल लग्यौँ तर कोही पनि डाक्टरले उहाँको उपचार गर्न मान्नु भएन। उहाँकाे उपचार गर्नका लागि डाक्टरहरू घिनाउनु भएपछि हामीले नै आमाको घाउ सफा गरिदियौँ। त्यसपछि बल्ल डाक्टरले आमालाई चेकअप गर्नुभयो’, संयोजक महतोले भन्छन्।
विश्वव्यापी महामारी फैलिरहेकाे काेराेनाबाट आफू बच्न नसकेकाे उनले सुनाए। काेराेना संक्रमित भए, विवेक। ‘हामीले आफैँलाई आइशोलेट गरेर सेवामा जुट्यौँ’, उनले भने, हामीलाई आफ्नो कर्तव्य पूरा गर्नु थियो।’
भलै, उमेरले सानै भएपनि व्यवहारले परिपक्व छन्, विवेक। त्यसैले त आश्रम बसेको पाँच वर्ष पुगिसक्दा उनले ६० जनालाई उद्धार र २५ जना बाआमालाई परिवारसँग पुनर्मिलन गराइसकेका छन्।
आफ्नो घरबाट छुट्टिएका आमाबुबालाई परिवारसँग भेटाउँदा खुसी हुने उनी त्यतिकै दुखी हुन्छन्, आफूले स्याहारेका बुबाआमालाई गुमाउँदा।
हालसम्म उनले २५ जनाभन्दा बढी बेवारिसे बाआमाहरूको दाहसंस्कार गरिसकेका छन्। समाजको परम्पराअनुसार माता–पिताको दाहसंस्कार छोराले गर्नुपर्छ। तर उनी त्यो परम्पराललाई मान्न चाहँदैनन्।
‘हामीसँग बस्नुभएका बाआमाहरुका लागि हामी नै उहाँहरुको सन्तान हौँ। तयसैले आफ्नै छोराले दाहसंस्कार गर्नुपर्छ जस्तो मलाई लाग्दैन’, बिएल नेपाली सेवासँग उनी दुखेसाे पाेख्छन्, ‘तर आफूले अभिभावक बनाएकाहरुलाई गुमाउनु पर्दा साह्रै दुख लाग्ने रहिछ।’
पाँच वर्षकाे अवधिमा धेरै जनाकाे उद्धार गरेपनि २०७८ सालमा २३ वर्षकी गर्भवती युवतीलाई सडकबाट उठाएकाे उनलाई हिजोझैँ लाग्छ। अहिले ती युवतीकाे १६ महिनाकाे छाेरा छ। जो भक्तपरकाे आश्रममा हुर्किरहेका छन्। ‘ती सानो बाबु अहिले हामी सबैजनाको प्राण बनेको छ। उनै हाम्राे आश्रमकाे मुटु बनेकाे छ’, उनले भने।
असहाय र बेवारिसेहरुको सेवामा पाँचाैँ वसन्त पार गरिरहँदा विवेकलाई हिजोआज लाग्न थालेको छ, ‘छोराछोरी हुने बाआमाहरुले पनि दुख पाउँछन्। बुढेसकालमा आफ्नै सन्तानले नै घरबाट निकालिदिन्छन्।’
केही दिनअघि आश्रममा एक जना पुरूषले बूढाे मान्छे ल्याए। वडा कार्यालयबाट बनाएको बेवारिसे पत्र देखाउँदै ती पुरुषले आफूसँग आएका मान्छेलाई आश्रममा छाडेर गए। बेवारिसे बुबा आश्रम आएकाे केही महिनामै बिते। उनकाे दाहसंस्कार गरियो। तर बूढाे मान्छेकाे निधन भएकाे केही दिनपछि नै उनलाई आश्रममा छाड्ने ती पुरुष आए र आफ्नो पिता भएकाे बताउँदै आश्रमसँग ‘डेथ सर्टिफिकेट’ माग्न थाले। पछि कुरा बुझ्दै जाँदा ती पुरूष नै निधन भएका बुबाका छाेरा रहेछन्। आफ्नो नाममा पार्नका लागि उनी बुबाको डेथ सर्टिफिकेट लिन आएका रहेछन्।
‘सुरुमा बेवारिसे भनेर आश्रम ल्याएर राखे। तर उहाँको मृत्युपछि चाहिँ मलाई जन्मदिन बुबा हो भन्दै मृत्यु भएकाे प्रमाण पत्र माग्न आए’, उनी भन्छन्, ‘पछि थाहा भयाे, निधन हुने बुबाको नाममा पाँच करोडभन्दा बढी रूपैयाँ सम्पत्ति र बिमा रकम पनि रहिछ। त्यही सम्पत्ति आफ्नो बनाउको लागि ती व्यक्तिलाई डेथ सटिर्फिकेट चाहिएको रहिछ तर आश्रमले त दिँदैन।’
आफ्नै छोराले बुबालाई गरेको त्यो व्यवहार देखेर उनी दुखी भए। रातभरि छट्पटिए, निदाउन समेत सकेनन्, उनी। ‘आफ्नै बुबालाई छोराले कसरी त्यस्तो गर्न सक्छ होला भनेर सोचेँ। निन्द्रै लागेन’, उनले सुनाए।
बेवारिसे आमाबुबाको स्याहारमा दिनरात खट्ने विवेक आफ्नो मातापितालाई भगवान ठान्छन्। उनी भन्छन्, ‘मेरा लागि मेरो बुबाआमा भनेको देवता हुनुहुन्छ। उहाँहरुको साथ नभएको भए म आज यहाँसम्म आइपुग्दिन थिएँ।’
विदेश गएर पैसा कमाउनु र सरकारी जागिरेहरु मात्र सफल नहुने बताउँदै उनी भन्छन्, ‘सधैँ किताबहरुमा मात्र भर पर्नु हुँदैन। किनकी किताबभन्दा बाहिर पनि दुनियाँ छ। किताब पढेर मात्र केही हुँदैन। मानवता हुन जरुरी छ।’
घर–परिवारसँग टाढिएका विवेक आफ्नो बाआमालाई भन्ने गर्छन्, ‘तपाईंको छोराले पैसा कमाएन भनेर कहिल्यै चित्त नदुखाउनु। किनकी मैले पैसा कमाउन नसकेपनि इमान कमाएको छु। म मेरो कारण तपाईंहरुको शिर कहिल्यै झुक्न दिने छुइनँ।’
बुबाआमाको साथ र सहयोगका कारण मानव सेवा गर्न सफल भएको बताउने उनी भन्छन्, ‘म मेरो परिवार र आश्रमलाई सधैं सँगै बोकेर हिँड्न चाहन्छु। जबसम्म मेरो शरीर र परिवारले साथ दिनेछ, तबसम्म मेरो श्वास मानव सेवाको लागि चल्नेछ।’
मानव सेवा गर्नका लागि इन्जिनियरको सपना बिर्सिएका विवेकको अब एउटै लक्ष्य छ, २०८२ सालमा सडक मानव मुक्त गर्ने।
‘मेरो जीवनको लक्ष्य भनेकै मानवमुक्त सडक बनाउने हो। त्यहीको तयारीमा निरन्तर लागिरहेको छु’, उनले भने।