बजारमा नक्कली लाइसेन्सको बिगबिगी, यातायातका कर्मचारी भन्छन्- कहाँबाट आउँछन हामीलाई थाहा हुन्न

उमेश थापा

काठमाडौं

काभ्रेको धुलिखेल घर भई हाल ललितपुरमा बस्ने श्रीकृष्ण भुर्तेल ट्राफिक चेकिङमा परे। महानगरीय ट्राफिक प्रहरी, सिंहदरबारकाे टाेलीले उनलाई सामान्य चेकिङ गर्ने क्रममा एउटा गम्भीर रहस्य पत्ता लगायाे। भुर्तेलले सन २०२० मार्च १८ तारिखदेखि बाेक्दै आएकाे ०१-०६-०१०४८१८५ काे कार र ट्रक, बस तथा लाेरी (बि र जी क्याटगरी)काे सवारी चालक अनुमति पत्र (लाइसेन्स) नक्कली थियाे।

भुर्तेलले उक्त लाइसेन्स एकान्तकुनास्थित यातायात कार्यालयबाट ट्रायल पास गरेर लिएकाे भए पनि यातायात कार्यालयकाे तथ्यांकमा उनकाे जी क्याटगरी दर्ता नै थिएन। यातायात कार्यालयमा दर्ता नै नगरी उनलाई जी क्याटगरी अर्थात् ट्रक, बस र लाेरी चलाउने गरी लाइसेन्स कसले दियाे ? यही आधारमा ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ। भुर्तेल अहिले महानगरीय प्रहरी वृत्त, सिंहदरबारकाे हिरासतमा छन्।

त्यसैगरी सिन्धुलीका भीमबहादुर स्याङताङ पनि नक्कली लाइसेन्ससहित पक्राउ परेका छन्। उनले पनि सन २०२० जुन ६ तारिखदेखि ०१-०६-००९८०७२४ नम्बरकाे नक्कली लाइसेन्स बाेकेका थिए। उनकाे उक्त नम्बरकाे लाइसेन्स पनि एकान्तकुना यातायात कार्यालयबाटै जारी भएकाे उल्लेख छ।

यातायात कार्यालयकाे रेकर्डमा दर्ता नै नगरी उनलाई कसले दियाे लाइसेन्स ? प्रहरीले यही कुराकाे अनुसन्धान गरिरहेकाे छ।

एकान्तकुना सवारी चालक अनुमतिपत्रका प्रमुख राजकुमार कपाली भुर्तेलकाे कारकाे लाइसेन्स (बि क्याटगरी) आफ्नाे कार्यालयमा दर्ता भएकाे भए पनि ट्रक वा बस चलाउने गरी जी क्याटगरीकाे लाइसेन्स आफ्नाे कार्यालबाट जारी नभएकाे भनेर उम्किन खाेज्छन्। आफ्नाे कार्यालबाट जारी नै नगरी भुर्तेलले कसरी जि क्याटगरी थपे भन्ने कुरा आफैं अचम्मित परेकाे उनकाे भनाइ छ।

स्याताङको हकमा भने उक्त नम्बरको लाइसेन्स नै दर्ता नभएकाे उनी बताउँछन्। ‘त्याे नम्बरकाे लाइसेन्स यहाँबाट दर्ता भएकाे छैन। ‘नक्कली लाइसेन्स कहाँ– कहाँबाट बनाउँछन तर लाइसेन्समा नाम ललितपुर कार्यालयको राख्दा हामीलाई पनि अप्ठ्यारो परिरहेकाे छ,’ उनले भने।

कपाली ‘रेडिमेट’ जवाफ दिएर उम्किन खाेजे पनि याे सामान्य कुरा भने हाेइन। कतै उनकाे कार्यालयबाट नै कर्मचारीकाे संलग्नताबाटै यस्ताे नक्कली लाइसेन्स दर्ता भएका त छैनन् ? याे गम्भीर अनुसन्धानकाे विषय बनेकाे छ।

साेही कार्यालयका एक कर्मचारी भने आफ्नाे कार्यालयबाट नक्कली लाइसेन्स बन्ने गरेकाे थाहा नपाए पनि मानिसहरु स्मार्ट लाइसेन्स बनाउन पैसा नै बाेकेर कार्यालयमा छिर्ने गरेकाे देखेकाे बताउँछन्।

‘हाम्रो यस कार्यालयका कर्मचारीहरुले नक्कली लाइसेन्स प्रिन्ट त गर्दैनन तर सक्कली लाइसेन्स हुने मानिसहरुको इर्मजेन्सीमा स्मार्ट कार्ड निकालिदिनु पर्‍यो भन्दै पैसै लिएर आउँछन्,’ ती कर्मचारीले भने। उनी छिटाे स्मार्ट कार्ड प्रिन्ट गराउनकाे लागि पैसा भने मनलाग्दी दिन खोज्ने गरेको बताउँछन्।

यद्यपि, यसरी अबैध काम गराउन खाेज्ने गरी दलालीकाे भेषमा बस्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेकाे उनकाे भनाइ छ।

विशेषगरी ट्रायल पास गर्न नसक्ने, व्यस्त भएर लाइसेन्स लिने प्रक्रियामा जान नभ्याउने, रोजगारीको लागि विदेश जान चाहने र उमेर नपुगेकाहरुले ठुलो रकम खर्चिएर नक्कली लाइसेन्स बनाउने गरेकाे पाइएकाे छ।

हालसम्म यस्ता नक्कली लाइसेन्स यातायात कार्यालयमा घुस खुवाएर वा प्रिटिङ प्रेसमा पैसा दिएर बनाउने गरेकाे पाइएकाे छ। यसरी नक्कली लाइसेन्स बनाएर दुरुपयोग गर्नु गैरकानुनी त हो नै यसले नसोचेका दुर्घाटनाहरु पनि निम्त्याएको हुन्छ। तर, पनि मानिसहरु जाने/ वा बुझेर नै यस्ता काम गर्न तल्लिन छन्।

यस्ताखाल नक्कली लाइसेन्सहरु यातायात कार्यालयबाटै जारी हुने यातायात व्यवस्था विभागनिकटहरु नै स्विर्काछन्। उनीहरुका अनुसार मानिसहरुले यातायात व्यवस्था विभागका कर्मचारीहरुलाई नै घुस खुवाएर नक्कली लाइसेन्स बनाउने गर्छन। विशेष स्रोतले उपलब्ध गराएको तथ्यांकमा यस्ता नक्कली लाइसेन्स बनाउन मानिसहरुले ८ देखि १५ हजारसम्म खर्चिएको पाइएको छ। यसरी यातायात कार्यालयका कर्मचारीले सेटिङमा पैसा खाएर नक्कली लासेन्स बनाइदिए पनि यातायातकाे रेकर्डमा राख्न गर्दैनन्।

विशेषगरी रोजगारीको लागि विदेश जान चाहनेहरुले यसरी नक्कली लाइसेन्स बनाउने गरेको पाइएको छ, जसमा विद्यार्थीहरुको संख्या धेरै छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरु यसरी नक्कली लाइसेन्स बाेक्न नपाइने र बाेकेकाे पाइएमा कानुनी कारबाही हुने बताउँछन्।

‘यसरी सवारी साधन चलाउने र दुरुपयोग गर्ने मानिसहरुलाई कानुनी दायरमा ल्याउन जरुरी छ। र, कारबाहीकाे भागेदारी बनाउनुपर्छ,’ उनले भने।

प्रकाशित मिति: : 2023-05-12 20:35:00

प्रतिकृया दिनुहोस्