स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन गर्न थालेका छन्। दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेका उनले दुई सातादेखि चीज उत्पादन सुरु गरेका हुन्।
गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाउँदै आउनुभएको छ। उनको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन्। सत्ताइस माउमध्ये अहिले १० वटाले दूध दिन्छन्।
भैँसी तथा गाईको दूधबाट चीज बनाइरहेका बेला गुरुङले स्याङ्जामा नै पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन थालेका हुन्। स्थानीय खरीको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएको छ। दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उनको लक्ष्य छ।
'ठूला होटलमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ', उनले भने, 'भर्खरै उत्पादन थालेको छु, अहिले उत्पादन भएको बिक्री भइरहेको छ, उत्पादन वृद्धि गरे बजारको खोजी गर्नुपर्ने हुन्छ।'
बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका हुन्। दुई वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेको उनले बताउँछन्। 'अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो दुई हजारका दरले बिक्री भइरहेको छ', गुरुङले भने, 'अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा छु।'
भारतमा रेडियो र टेलिभिजन मर्मत तथा वायरिङसम्बन्धी तालिम लिई काम गर्दै आउनुभएका गुरुङले स्वदेशमै फरक ढङ्गको व्यवसाय थाल्ने लक्ष्यसहित घर फर्के। बाख्रापालनसम्बन्धी तालिम लिएका गुरुङ भने, 'मासु तथा पाठापाठी खरिद बिक्री त सबैले गर्छन्, अरुले भन्दा फरक खालको व्यवसाय गर्ने हुटहुटीले दूधालु सानन जातका बाख्रापालन गर्ने निचोडमा पुगेको हुँ, अहिले राम्रै गरेछु भन्ने लागेको छ।'
गुरुङले २०७० सालमा १२ बाख्राबाट व्यवसाय थालेका थिए। बाख्रा खरिद र खोर निर्माणमा रु तीन लाख ५० हजार लगानी गरी व्यवसाय थालेका गुरुङ अहिले यो व्यवसायबाट सन्तुष्ट छन्।
नमूना बाख्रा गाउँ अभियानका अभियान्ता सुशील अर्यालले चीजको माग पछिल्लो समय बढ्दै गएकाले उत्पादनलाई गुणस्तरयुक्त बनाउनुका साथै वृद्धि गर्नुपर्ने सुझाव दिए। 'बाख्राको दूधबाट उत्पादित चीजको बजार मूल्य राम्रो रहेको छ', उनले भने, 'गुणस्तरयुक्त उत्पादन गर्न सके बजारको समस्या हुँदैन।'