नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।
महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टीबाट निलम्बन गरिएको जानकारी गराएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई निलम्बन गरिएकाे हाे। उक्त प्रकरणको अनुसन्धान र कानुनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको पोखरेलले जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ।’
पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझी फरार छन्। प्रहरीले उनकाे खोजी गरिरहेको छ। जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ।