२०३१/३२ सालतिर ललितपुरको झम्सिखेल आसपासमा ‘खिरचोर’ प्रहसन र ‘पागल डान्स’ प्रदर्शन भइरहेका थिए। ललितपुरमा त्यतिबेला ती डान्स र प्रहसनले खुबै चर्चा बटुलेका थिए। ती प्रस्तुति दिने कलाकार थिए, पूर्ण थापा मगर र उनका साथी श्रीओम श्रेष्ठ। ती मध्येका पूर्ण थापा अहिले पनि कला क्षेत्रमा चर्चित छन्। त्याे समयदेखि सुरु गरेकाे उनकाे कला यात्रा अहिले पनि निरन्तर अगाडि बढिरहेकाे छ।
झम्सिखेलमा वि.सं. २०२० सालमा बुबा हरिबहादुर थापा र आमा सुभलक्ष्मी थापाको कोखबाट जन्मिए, पूर्ण थापा। बागमतीको कञ्चन पानीमा पौडिएर हुर्केका थापा मह जोडीकाे कलाबाट प्रभावित थिए। बाटाे छेउमा फलेका आरु/बखेडा खाँदै विद्यालय जाने गर्थे।
सानै उमेरबाट स्टेज शो, नाटकमा अभिनय गर्दै हिँड्ने उनले अन्य क्षेत्रका अलवा नाटकमा अझ बढी रुचि राख्थे। अझ सुरुदेखि नै कमेडीबाट अगाडि बढ्न सुरु गरेका थिए। ‘२०३६ सालमा त हामी आफैंले आयोजना गरेर प्रहसन गरेका थियौँ। ललितपुरमा हाम्रो प्रहसन पपुलर भयो। बिस्तारै हामीलाई मान्छेहरुले चिन्न थाले,’ उनी नाटकका सुरुवाती दिनहरु स्मरण गर्छन्।
ललितपुरको टिका विद्याश्रम स्कुलमा कक्षा १० सम्म अध्ययन गरेका पूर्णले पाटन क्याम्पसबाट आर्टमा बिएसम्मको अध्ययन पूरा गरे। स्टेज शोहरु हेर्दै हुर्केका पूर्ण कलेज जीवनमा कला क्षेत्रमा झनै नजिक हुन थाले। स्कुल र कलेजमा थुप्रै नाटक र स्टेज शो गरेका थापाले आफूलाई कला क्षेत्रमा निखार्दै लगे।
उनले अभिनयसँगै लेखन र निर्देशनमा पनि हात हाले। राष्ट्रिय नाचघरमा थुप्रै नाटक मञ्चन गरे। नाचघरमा नाटक देखाउँदा देखाउँदै उनले रेडियो नेपालमा नाटक रेकर्ड गर्ने साेच बनाए। तर, रेडियो नेपालमा नाटक रेकर्ड गर्नु सजिलो थिएन। यद्यपि, उनको अभिनय नजिकबाट नियालेका निर्देशकले उनलाई रेडियो नेपालमा बोलाएर नाटकमा भूमिका दिए। पूर्णले २०४१ मा पहिलो रेडियो नाटकमा अभिनय गर्ने अवसर पाए।
पञ्चायत कालमै धेर/थोर टेलिभिजन नाटकमा पनि अभिनय गर्ने मौका पाए पूर्णले। ‘काउकुती’ नामक टेलिसिरियलले भने उनलाई दर्शकसामु धेरै चिनिने बनायो। जितु नेपाल र दीपकराज गिरीले निर्देशन गरेको ‘काउकुती’ले त्याे बेला राम्रै चर्चा बटुलेकाे थियाे।
उनी सम्झन्छन्, ‘मैले त्यसमा काकाको अभिनय गरेको थिएँ। काका पात्र दर्शकले मन पराइदिनुभयो। लामो समयसम्म चलेको काउकुतीकै काकाको पात्रले म सिक्किम र दार्जिलिङसम्म पनि स्टेज प्रोग्रामका लागि गएँ। पछि दीपकराज गिरीको निर्देशन रहेको ‘तितो सत्य’ नामक टेलिसिरियल प्रदर्शनमा आयो। त्यसपछि भने नेपाली कमेडि जनरामा पनि फरकपन आयो।
नाटक, टेलिसिरियल, स्टेज शो र प्रहसनमा अभिनय गर्दै आइरहेका थापाले २०५१ सालबाट करारमा रेडियो नेपालमा काम गरे। २०५४ सालबाट भने उनले स्थायी कर्मचारी भएर काम गर्ने माैका पाए। रेडियो नेपालमा हुँदा सुरुवातमा प्रोग्राम सेक्सनमा काम गरेकापूर्णले मदनदास श्रेष्ठको रिटायर्ड (अवकास)पछि ड्रामा सेक्सनको जिम्मेवारीमा रहेर काम गरे। रेडियो नेपालभित्र उनले थुप्रै नाटक निर्देशन लेखन र आफैंले अभिनय पनि गरे। प्रोग्राम प्राेडुसरका रुपमा काम गरेर २०७८ सालमा उनी रेडियो नेपालबाट रिटायर्ड भए। उनी अझै पनि रेडियो नाटकहरुमा काम गरिरहेका छ्न्।
आफ्नाे संघर्ष र कामबाट सन्तुष्ट रहेकाे उनी बताउँछन्। ‘खुब डौडधुप हुन्थ्यो, हाम्रो नाटकको विज्ञापनका लागि पाटनढोका, रत्नपार्क र न्युरोडमा ब्यानर झुण्डाएर गर्थ्यौ। अहिले जस्तो थिएन, नाटक तयार पार्ने, हल बुक गर्ने, टिकट छपाउने, पोस्टर टास्नेलगायतका कामहरु आफैं गर्थ्यौ,’ उनले आफ्ना संघर्षका दिनहरु सुनाए।
रेडियो नेपालमा लामो समय बिताउँदा सुरुवाती दिनहरु र पछिल्ला दिनहरुमा धेरै फरक भएकाे उनी बताउँछन्। ‘समयअनुसार परिवर्तन हुनु आवश्यक पनि हो। कलाकारिता पनि समय र समाजसँगै परिवर्तन हुँदै जानुपर्छ। नाटक मात्रै होइन, चलचित्र र रेडियो कार्यक्रमहरु सबै परिवर्तन हुँदै जान्छ, यसमा टेक्नोलोजीको विकास र परिवर्तनले पनि हो,’ उनले भने।
रेडियो नेपालका लागि तयार पारेका कार्यक्रममा लाग्ने सेन्सरसिभ निजी संस्थाद्वारा संचालित हुने भन्दा बढी लाग्ने गर्छ। तर, आफूले बनाउने कार्यक्रममा नियम, कानुन, समाज र संस्थाको नीति नियमभित्र बसेर काम गरेमा सेन्सरको ध्यान हुँदैन र लाग्दैन पनि। उनी भन्छन्, ‘सेन्सर हुनु जरुरी पनि हो। हामीले गरेका नाटकबाट कुनै जात भाषा, धर्म र व्यक्तिलाई नकारात्मक असर पर्नु हुँदैन।’
स्टेज शोमा चार दशक लामो अनुभव बटुलेका थापालाई स्टेजमा जस्ताे मिठासपूर्ण अभिनय अन्यमा लाग्दैन। डिजिटल क्यामराका अगाडि एक्सन कटका जति टेक्निकल पाटाहरु छ्न् त्यो भन्दा बढी स्टेजमा कलाकार आफैंले ख्याल गर्नुपर्ने हुन्छ। उनी भन्छन्, ‘स्टेजमा त कहिले काहीँ डायलग बिर्सिन्छ, कहिले लाइन जम्प हुन्छ, त्यस्तो बेलामा एक अर्कालाई सहयोग गर्छौ र फेरि नाटकलाई लयमा ल्याउन मेहनत गर्छौँ। मुभि सिरियलमा हामी एक्सन कट गर्दै निर्देशकको निर्देशनमा काम गर्छौँ। तर, स्टेजमा प्रवेश गरेपछि हामी आफैंले सम्हालिएर अभिनय गर्नुपर्ने हुन्छ। स्टेज ब्यालेन्स गर्ने कुरा पनि जान्नुपर्ने हुन्छ।’ तर, पनि थापा आफूले स्टेज शोमै बढी आनन्दभूति प्राप्त गर्छन्।
पछिल्लो समय नेपाली चलचित्रहरुमा स्टेज र नाटकघरबाट आएका कलाकारले राम्रो गरेको देख्दा खुसी छन्, पूर्ण। उनी भन्छन्, ‘पहिले पनि थुप्रै कलाकारहरु स्टेज र नाटकबाट आउनुभएको हुनुहुन्थ्यो। उहाँहरुको अभिनय जीवन्त छ। अहिले पनि नाटकबाट आएका कलाकारले राम्रो गरिरहनुभएको छ। खुसी लाग्छ।’
भिडियाे :