मैले भाेगेको त्यो विनाशकारी ‘भुइँचालो’

BreaknLinks
BreaknLinks

‘सोमबार दिउँसो घाँस काट्दै थिएँ। एक्कासी जमिनबाट ठूलो आवाज आयो, धर्ती हल्लिन थाल्यो। गाउँलेहरु भुइँचालो आयो भन्दै  रुएँ। मरिन्छ कि भन्ने डरले म पनि भक्कानिएर रुन थालेँ’ हजुरआमाले १९९० सालमा गएको ८.४ रेक्टरको भूकम्पबारे सुनाइरहनु हुँदा मलाई लाग्थ्यो, ‘म कुनै काल्पनिक कथा सुन्दैछु।’

मैले कहिलेकाहीँ फाटफुट गइरहने सानोतिनो भूकम्पलाई अनुभव गरेकी थिएँ। त्यसैले आमाले सुनाउनुभएको वास्तविकता मलाई कुनै फिल्मको ‘स्क्रिप्ट’ जस्तो लाग्थ्यो। तर २०७२ सालमा गएको विनाशकारी भूकम्पले मैले पालेर राखेको भ्रमको पोकालाई फुटाइदियो।

कुरा आजभन्दा आठ वर्षअघिको हो। ०७२ साल वैशाख १२ गते। शनिबारको दिन स्कुल छुट्टी थियो। सबैजना घरमै थियौँ। स्कुल बिदा भएकाे कारण हामीसँग गफ गर्नका लागि छिमेकी भाउजू पनि आउनुभएको थियो। भलै, नाताले भाउजू पर्ने भएपनि हाम्राे सम्बन्ध साथीकाे जस्ताे थियाे। सबेरै खानपिन सकाएर रमाइलो कुराकानीमा व्यस्त थियौँ। हाँसो–मजाकको माहोल थियो। तर ११ बजेर ५६ मिनेटमा बलिरहेको बत्ती झ्याप्पै गयो।

एक्कासी ठूलाे आवाज सुनियाे, घर हल्लिन थाल्यो। मम्मी–ड्याडी अत्तालिँदै हामीलाई घर बाहिर निस्कन लगाउनुभयो। हामी केही नबोली कोठा बाहिर निस्कियौँ। मम्मी–ड्याडी, भाउजू, मलगायत बहिनी हत्तारिँदै भर्याङबाट चार तला मुनि झर्याैँ। माथिबाट तल आइपुग्दा माहोल दर्दनाक थियो।

अरुबेला शान्त रहने गोकर्णेश्वरको शिवपुरी चोक त्यो दिन भने रुवाबासीले गुन्जिरहेकाे थियो। सडकभरि मानिसहरुको भीड थियो। ‘मेरो–मेरो’ भन्दै ‘छाती पिट्दै’ रोइरहनुभएको थियो, छिमेकी अकंल–आन्टी।

सबै जनाको चिच्याहट र आफ्नै अगाडि ठडिएकाे पाँच तले ‘बिल्डिङ’ लच्किएको देखेर मेरो मन अत्तालिन थाल्यो। कहिल्यै नदेखेको भयानक भूकम्प देखेर मैले स्वर्गीय हजुरआमालाई सम्झिएँ। सबैजना घरबाहिर उभिरहेकाे कारण सडक भरिभाउ थियाे। त्यहीबेला छिमेकी अंकल बाेल्न थाल्नुभयाे, ‘यो घरहरु ढलेर हामीलाई थिच्न सक्छन्। हामी यहाँ उभिएर बस्नु उचित हुँदैन। सुरक्षित ठाउँमा जानैपर्छ।’

ती अकंलकाे कुरा मानेर हामी शिवपुरीकै खुल्ला चौरमा गयाैँ। जहाँ वरपरका छरछिमेकहरूले बस्नका लागि आफ्नो बन्दोबस्त गरिसकेका थिए। त्यसैले हामीले पनि त्यहीँ चौरमा ‘पाल’ टाँगेर बस्ने निर्णय गर्यौँ।

सुरुमा आएको भूकम्पमा अत्तालिएका हामी सानो भूकम्प आउँदा पनि चिच्याइरहेका थियौँ। गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टरस्केलको भूकम्पले हामी त्रासमा थियौँ। सबैजना भूकम्पबारे चर्चा गर्दै थिए। त्यति नै बेला मम्मीले मलाई भन्न थाल्नुभयो, ‘यो, भुइँचालो रोकिएला जस्तो छैन छोरी, केही दिन यहीँ चौरमा बस्नुपर्छ जस्तो छ, खानेकुराको व्यवस्था मिलाएर आउँछु, तिमीहरु यहीँ बस्दै गर्नु है!’

मम्मीको कुरा सुनेर मैले पनि कोठामा जाने जिद्धी गरेँ। चाैरबाट हिँडेको पाँच मिनेटपछि हामी चार तलामाथि रहेकाे हाम्राे कोठामा पुग्यौँ। जहाँको दृश्य देखेर मम्मी र म हतास भयौँ।

विनाशकारी भूकम्पकाे कारण भित्ताहरु चर्किएका थिए। भाँडाकुँडा सजाएर राखिएको दराज घोप्टिएको थियो, फिल्टर ढलेर पानीको आहाल थियो। पूरै छरपस्ट थियाे, भान्सा कोठा।

मम्मी र मैले भान्सा कोठालाई सफा गर्यौँ र आफूलाई चाहिने सामान बोकेर चौरतिर गयाैँ। शनिबार करिब चार बजे भूकम्पले क्षति गरेको ठाउँको अवलोकन गर्न ड्याडी–मम्मीसँगै म पनि गएँ। चौर परतिर पुग्दा बिल्डिङ भत्किएका थिए। घरका सामानहरू लथालिङ्ग देखिन्थे।

भूकम्पमा परेर मृत्यु भएकाहरूकाे शवले ‘नेपाल मेडिकल कलेज’ भरिएको छ भन्ने हल्ला आगोझैँ फैलियो। हामी पनि त्यही हल्लाको पछि लागेर अस्पताल गयाैँ। चौरबाट १५ मिनेटपछि हामी पुग्यौँ, मेडिकल। त्यहाँ पुग्दा मानिसहरुको रुवाबासी चलिरहेको थियो। भुइँचालोले अस्पतालको माथिल्लो भाग भत्किएको थियो। गेटभरि मान्छेको घुइँचो थियो र गेटभित्र भूकम्पमा परेर ज्यान गुमाएकाहरुको शव।

सेतो कपडा ओढाएर लाइनै राखिएको शव देखेर मेरो मनमा चिसो पस्यो। मृतकका आफन्तहरुको रुवाइले झनै मेरो हाेस् उड्यो। त्यसैमाथि भूकम्पमा घाइते भएकाहरुको दर्दनाक दृश्य।

डाक्टरले घाइते भएकाहरुको अप्रेशन गरिरहेका थिए। कसैको नाक त कसैको गाला सिलाउनमा व्यस्त थिए, मेडिकल कलेजका डाक्टर। घाइतेहरु भने ‘ऐया!, मरेँ आमा’ भन्दै चिच्याइरहेका थिए। घाइतेहरुको त्यो अवस्था देखेर मन थाम्न सकिनँ। र एक्कासी भक्कानिएर रुन थालेँ।

घाइतेहरुको त्यो वीभत्स अवस्था देखेर रोएकी मलाई मम्मी–ड्याडीले आँसु पुछिदिँदै सम्झाउन थाल्नुभयो। तर अप्रेशनमा जुटिरहेका डाक्टरहरु भने रिसाउँदै ‘केटाकेटी’ हरुलाई यता नल्याउनुस् भन्दै झाेँक्किए। डाक्टर रिसाएपछि म पनि मम्मी–ड्याडीको हात समात्दै अस्पताल बाहिर निस्किएँ।

अरुको दुख देख्न नसक्ने मैले त्यो दिन भने दर्जनौँ मानिसको शव, वीभत्स अवस्थाका घाइतेहरु र अत्यासलाग्दाे रुवाइलाई अनुभव गरेकी थिएँ। जुन दृश्यले मेरो मनमा डेरा जमायो।

वैशाख १२ गते गएको त्यो महाभूकम्पले दुई साता चौरमा बस्न बाध्य बनायो। साता दिनसम्म मेरो निन्द्रा हरायो। त्यो दिन जीवनमा पहिलोपटक मैले मृत्युलाई नजिकबाट देखेकी थिएँ। जुन दिनलाई म नमरुन्जेलसम्म पनि भुल्न सक्दिनँ।

अझै पनि मलाई वैशाख १२ गतेका दिन डर लाग्छ। किनकी यही दिन देशभर आठ हजार ९ सय ७९ जनाले ज्यान गुमाएका थिए, २२ हजार तीन सय ९ जना घाइते भएका थिए।

प्रकाशित मिति: : 2023-04-25 17:20:00

प्रतिकृया दिनुहोस्