पछिल्लो समय सहकारी क्षेत्र निकै बदनाम भइरहेको छ। सहकारी क्षेत्र कोरोना महामारीपछि निकै समस्या परिरहेका छन्। सहकारीमा अहिले मानिसहरु बचत गर्न डराउँछन्। मानिसहरुले सहकारीमा ‘बचत गर्नु भनेको डुब्नु हो’ भन्ने धारणा बनाइरहेका छन्। यसलाई चिर्न सहकारी मन्त्रालय र सहकारी विभागले सकेका छैनन्।
देशको कुलमध्ये पाँच प्रतिशत बचत सहकारीमा हुन्छ। तर, अहिले सहकारीको अवस्था निकै कमजोर र दहनीय छ।
सहकारीका सञ्चालकहरुले मानिसहरुलाई मुद्धती खातामा बचत गर्न लगाएर फरार भएका छन्। त्यसकै उदाहरहरण हो, चाबहिलको ट्रेजर बचत तथा ऋण सहकारी संस्था लिमिटेड। यस्ता सहकारीहरु अहिले थुप्रै छन्, जो मानिसहरुको पैसा लिएर फरार छन्।
सहकारी डुब्ने अवस्था कसरी आयो ?
सहकारीलाई देशको कुल अर्थतन्त्र एउटा भागको रुपमा हेर्न सकिन्छ। सहकारीबाट नै मानिसहरुले ऋण लिएर व्यवसाय गर्छन्। सहकारीले साना व्यवसायलाई साथ दिन्थ्यो। मानिसहरुको बैंक तथा फाइनान्समा पहुँच नहुँदा सहकारीले निकै महत्पूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्।
नेपालभरि तीस हजारभन्दा बढी सहकारीहरु दर्ता छन्। सहकारी खोल्न निकै सजिलो छ। जम्मा एक जना अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषध्यक्ष र पाँच जना सदस्य हुँदा सहकारी खोल्न सकिन्छ।
धेरै जस्तो सहकारीमा सञ्चालक र कार्यसमिति सदस्य गतिला नहुनाले समस्या भइरहेको छ। किनभने, मनलाग्दी लगानी गर्ने, आफ्नो मान्छेलाई ऋण दिने, देखावटी गर्दा सहकारीमा समस्या आएको हो।
धेरै सहकारीहरुले मनलाग्दी घर जग्गामा लगानी गरेका छन्। घर जग्गाको राम्रोसँग कारोबार नभएको महिनौँ भइसकेको छ। सहकारीले मनलाग्दी घर जग्गामा लगानी गर्न पाउँदैनन्। सहकारीहरुले घर जग्गाको कारोबार गर्दा बचतकर्ता मारमा परेका छन्। बचतकर्ताहरु सहकारी जाँदा हाम्रो घर जग्गाको काम हुन दिन्नु भन्दै बचतकर्ताहरु फकाउँछन् तर सहकारी विभागलाई यस्तो विषयमा भने केही थाहा नपाएको जस्तो गर्छ।
आफ्नो परिवार र सदस्यहरुले बचतकर्ताको पैसा चलाउँदा सहकारीमा अप्ठ्यारो भएको हो। विशेषत बचतकर्ताको रकम सही ठाँउमा लगानी गर्ने सहकारीको काम हो। तर, सहकारी सबै जनाले खोलेर होला सहकारी सञ्चालकले लगानी गर्ने ठाँउ देख्दैन। सहकारीका पदाधिकारीले बचतकर्ताको बचत रकम चलाउँदा यो हालत सहकारी भोग्नु परेको छ।
सवारी साधनमा पनि सहकारीको ठुलो लगानी छ। सहकारीले किस्ता किस्तामा रकम बुझाउनेलाई किस्ताबन्दीमा गाडी, मोटरसाइकल निकाल्न दिन्छ। तर, ब्याज भने मनलाग्दी लिन्छ। त्यस्ता किस्तामा निकालेका सवारी साधानहरु कवाडी भइसकेको छन् तर सहकारीले पैसा पाएका छैनन्।
विश्वास र चिनजानको भरमा पैसा दिँदा सहकारीहरुमा यो दिन आएको हो। ब्याज आउने लोभ र नजिक सम्बन्ध हुने सँग केही धित्तो नराखी सहकारीले पैसा दिन्छ। धित्तो नदिएको मानिसले त्यो सहकारीलाई के आधारमा पैसा तिर्छ। यस्तोमा सहकारी धेरै चुकेका छन्।
मिटरब्याजमा लगानी गर्दा सहकारी डुब्न पुगेको र समस्या आएको हो। सहकारी सञ्चालकलाई कहाँ लगानी गर्ने बारेमा जानकारी हुँदैन। त्यही भएर छिटो पैसा कमाउने बाटो खोज्छन्। यस्ता मिटरब्याजबाट पैसा कमाउने थुप्रै सहकारीहरु छन्। अहिले ती सहकारीहरुको न त मिटरब्याजको रकम आउँछ न त साँवा नै। मिटरब्याज पीडितहरु सहकारी विभाग र महानगर सहकारी विभाग गएर उजुुरी दिन्छन्।
जारी आर्थिक वर्षमा सहकारी विभागमा व्यक्तिगत र संस्थागत गरी ६७२ वटा उजुरी परेका छन्। बचत फिर्ता नगरेको, संस्थागत सुशासन नभएको र अनुसन्धान प्रयोजनका लागि व्यक्तिको बचत खाता विवरण नभएकाले कारवाहीमा परेका हुन्।
महानगर सहकारी विभागको तथ्यांक हेर्न हो भने ५८ वटा सहकारीलाई प्रहरीकोमा पठाइएको छ। ती सहकारीहरु कालोसूचीमा परेका सहकारीहरु हुन्। यस विभागको दायरा जम्मा १९०० सहकारी पर्छन् भने सयभन्दा माथि सहकारीलाई उजुरी पनि परेको देखिन्छ।
सहकारीमा भएका समस्यालाई समाधान गर्ने बाटो के हो ?
सहकारीलाई समस्यामुक्त बनाउन राज्यले ठुलो भूमिका खोल्नुपर्छ। राज्य यस्तो समयमा समस्याबाट भाग्नु हुँदैन। राज्यले बैंकलाई जसरी राखेको छ, सहकारीलाई पनि त्यसरी नै राख्नुपर्छ।
सहकारी सुरुमा खोल्दा वा दर्ता गर्दा बैंकजस्तै धरौटी राख्ने व्यवस्था मिलाउनुपर्छ। त्यसले गर्दा बचतकर्ताहरु सुरक्षित ठान्छन् र बचत गर्छन्।
अध्यक्ष र सञ्चालकले मनलाग्दी निजी र व्यवसाय खर्च गर्दा कार्य सतितिमा भएका सदस्यहरुले निगरानी र खबरदारी गर्नुपर्छ।
मिटरब्याजमा बचतकर्ताको पैसा लगानी गर्न रोक गर्नुपर्छ। सहकारी विभाग र महानगर सहकारी विभाग चनाखो भएर यस्तो गतिविधि गरिराखेका सहकारीलाई कानुनी दायरमा ल्याउनुपर्छ।
घर/जग्गा, सवारी साधनमा सहकारीले कति लगानी गर्न पाउने भन्ने ऐन बन्न जरुरी छ। नत्र भए सहकारी निकै चेपुवामा पर्छन्। सहकारीहरु घर जग्गामा लगानी गर्दा डुब्दैन भन्ने मनशायले यस्तो भएको हो। अहिले कारोबार नभएर अधिकांश सहकारी बेपत्ता वा फरार छन्।
सहकारीले घर जग्गाको सही मूल्याङकन गरेर सहकारीले कर्जा प्रवाह गर्नुपर्छ। सवारी साधनमा कर्जा प्रवाह गर्दा पनि सहकारीले सम्पूर्ण छानबिन गरेर कर्जा दिनुपर्छ भने नजिक र चिनजानको आधारमा कर्जा दिनु हुँदैन।
सहकारी विभागका उपरजिष्ट्रार खिमनन्द आर्चाय भन्छन्, ‘सहकारीमा सुधार आउँछ तर समय भने धेरै लाग्छ। हामीले सहकारीहरलाई निगरानीमा त राखेका छौँ। उजुरी पर्ने बित्तिकै हामी त्यस सहकारीको छानबिन गर्न फिल्डमा नै पुग्ने गछौँ।’
‘हो, सहकारीहरुमा समस्या छन्। राम्रा सहकारीहरु पनि थु्रपै छन्। अब आउने दिनमा सहकारीहरु मिलेर अगाडि बढ्ने हो भने कुनै पनि सहकारीमा समस्या हुँदैन,’ उनले थपे।
महानगर सहकारी विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले भने, ‘समस्या भएका सहकारीहरुको हामी छानबिन गरिराखेका छौँ। समस्या भएका सहकारीलाई कसरी जोगउन सकिन्छ भनेर पनि अध्ययन भएको छ।’
‘अब हामीले हाम्रो क्षेत्र अधिकारभित्र पर्ने सहकारीलाई निगरानी राखेका छौँ,’ उनले भने।
उनी पनि सहकारीहरुको समस्याको समाधान हुन समय लाग्ने बताए। ढिलो/चाढो सहकारीहरु सही अवस्थामा आउने उनको दाबी छ।