नेपालमा २०७९ सालको अन्तिम घाम अस्ताएसँगै ७० को दशक पनि मैजारू भएको छ। २०८० को पहिलो साता नयाँ वर्ष र नयाँ दशकका लागि शुभकामना आदान–प्रदान गर्ने र मोटामोटीरूपमा बितेको वर्ष र दशकका बारेमा एकसरो मूल्याङ्कन गर्ने काम हुनुपर्ने हो, भएकै होला।
विगत एक किसिमको ऐना हो, हेर्न मिल्छ तर सच्याउन मिल्दैन। बढीमा गर्न सकिने भनेको आत्मसमीक्षा गर्ने, भएका गल्ती कमजोरीलाई विनम्रतापूर्वक स्वीकार गरेर सच्याउँदै अघि बढ्ने र फेरि गल्ती नदोहो¥याउने प्रण गर्नेमात्र हो।
यस कोणबाट हेर्दा विगत एक किसिमको गल्तीको पाठशाला हो। जहाँबाट सिक्दै, सच्चिदै वर्तमान अर्थपूर्ण बनाउन सकिन्छ र त्यही भुइँ टेकेर भविष्यको सुन्दर योजना कोर्न सकिन्छ।
व्यक्तिगतरूपमा होस् वा सामाजिक रूपमा, एक जिम्मेवार र सभ्य मानिसले गर्नुपर्ने यही हो। तर, दुर्भाग्य नेपाली समाज त्यसरी समयको ऐनामा आफूलाई हेर्न क्रमशः छोड्दै गएको छ। फोहर अनुहारमा राखेर ऐना फोड्ने र फेर्ने पुनरावृत्ति मौलाउँदो छ।
समाजमा यसले एक किसिमको महामारीको आकार लिँदैछ। समयक्रममा पात्रहरू प्रवृत्तिमा अनुदिन हुँदैछन्। समाजमा एक हैन, अनेक आवरणका यी प्रवृत्तिहरू झाँगिदा आदर्श, मूल्य र मान्यताहरू सेपमा परेका छन्। यो सेपिलो वातावरणले अन्ततः समाज विचलन हुने हो, अहिले समाज त्यही दिशातिर हुँइकिँदै छ।
प्रस्तुत पृष्ठभूमिमा हामीले केही दिनअघि मात्र स्वागत गरेको दशकले सबैभन्दा ठूलो समस्याका रूपमा लोकरिझ्याइँको सामना गर्नुपर्ने देखिन्छ। त्यसको सुरूआती वर्ष २०८० मै त्यसको ठूलो दुस्प्रभाव पर्न थालिसकेको छ। त्यसको केही अंश अघिलो दशकको विरासतका रूपमै प्राप्त छ।
वैशाख १० गते आउन केही दिन मात्र बाँकी छ। मुलुकका तीन संसदीय निर्वाचनमा हुन लागेको उपनिर्वाचनलाई आवधिक निर्वाचनको उपनिर्वाचनभन्दा पनि एक किसिमको लोकरिझ्याइँको भद्दा प्रदर्शनी जस्तो बनाइएको छ।
दल र नेताहरू खास चुनावी मुद्दामा चुनाव लडिरहेका छैनन्, को कसरी लोकप्रिय हुने भन्नेमै केन्द्रित छन्। त्यसका लागि उनीहरूले आमसञ्चारमा भनिने ‘नेगेटिभ क्याम्पेन’को सहारा लिएका छन्। आफूले राम्रो गर्नेभन्दा पनि अरूले राम्रो गर्दैन भन्नु नेगेटिभ क्याम्पेनको चुरो हो। यस क्रममा आवेग, अतिरञ्जना, आरोप, आश्वासन, गालीगलौज आदिलाई औजार बनाएर विपक्षीलाई ढाल्ने प्रयत्न हुन्छ।
उपनिर्वाचनका क्रममा जारी चुनावी प्रचार हेर्दा यही प्रयत्न भइरहेको देखिन्छ। यसको मूलकारण चुनावलाई स्वभाविक राजनीतिक प्रक्रियाका रूपमा लिनेभन्दा प्रतिष्ठाको विषय बनाउने गलत सोच र चिन्तन नै हो।
वास्तवमा भन्ने हो अहिले तीन क्षेत्रमा हुन लागेका उपनिर्वाचनहरू स्वभाविक उपनिर्वाचन हैनन्। राजनीतिक दल र नेताहरूको गैरजिम्मेवारी, अदूरदर्शिता र पदलोलुपताका कारण सिर्जना गरिएका राष्ट्रिय खतिका परिघटना मात्र हुन्।
सांसद चुनिएको दुई महिना नबित्दै राष्ट्रपति हुनुपर्ने रामचन्द्र पौडेल, उपराष्ट्रपति हुनुपर्ने रामसहायप्रसाद यादव र नेपाली वैध नागरिकताबिना नै उम्मेदवार हुने रवि लामिछाने र उनीहरूका दलका कारण यी निर्वाचन जबर्जस्ती थोपरिएका हुन्।
संवैधानिक र कानुनी कोणबाट यी उपनिर्वाचनहरू सही नै भए पनि नैतिकरूपमा सही हैनन्। त्यसैले यी जुन व्यक्ति र दलका कारण उपनिर्वाचन भइरहेका छन्, तिनीहरू नैतिकरूपमा जितका हकदार हैनन्। तर, यी उपनिर्वाचनलाई फेरि एकपटक यस्तो प्रतिष्ठाको विषय बनाइएका छन् कि त्यहाँ तिनै पार्टीका उम्मेदवारले जित्नैपर्ने संकथन निर्माण गरिएको छ।
चितवन–२ लाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जीवनमरणको प्रश्न बनाएका छन्। उनको राजनीतिको दिशा र दशा तय गर्ने यो निर्वाचन उनी जसरी पनि जित्न चाहन्छन्। तर, मंसिर ४ यता उनको व्यक्तित्वमा ह्रासमात्र आएको छैन कि पुराना दल र तिनका उम्मेदवार पनि हिजोका कमी–कमजोरी सच्याएर कडा टक्कर दिने अवस्थामा पुगेका छन्। लामिछानेसँग हिजोजस्तो जान्नेलाई छान्ने, नो नट अगेन, सत्तामा होइन, संसद्मा पुगेर प्रश्न गर्नेजस्ता नैतिक मुद्दा बाँकी छैनन्।
मंसिर ४ बाट वैशाख १० मा आइपुग्दा उनी सत्ताका लागि जे पनि गर्ने एक लिच्चड पात्रका रूपमा देखिएका छन्। हिजो नानीको बाबु भन्दै प्रचण्डलाई तथानाम गर्ने अहिले उनी उनै प्रचण्डको सरकारको वैशाखी बनेर चुनावी क्याम्पेनमा छन्। अझ, दोहोरो राहदानीमा फसेका उनी प्रचण्डकै कृपाले जेल जानबाट बचेर उम्मेदवार बनेका हुन् भन्दा पनि हुन्छ।
कुनै पनि बेला जेल जानुपर्ने स्थितिको तरबारमुनि बसेर चुनावी मैदानमा आएका उनीसँग हिजोजस्तो नैतिक बल छैन। जनताले जुन आशा र विश्वासका साथ निराशा र बदलाको मत उनलाई दिएका थिए, अहिले त्यो परिस्थितिमा आनका तान फरक छ।
तनहुँ–१ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जितेर राष्ट्रपति भएको निर्वाचन क्षेत्र हो। कुनै समय कांग्रेसको गढ मानिएको यो क्षेत्र कांग्रेसका लागि जीवनमरणको प्रश्न बनेको छ। तर, अहिले कांग्रेस पार्टी नै त्यागेर अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रेका छन्। यसले चुनावलाई रोचक बनाएको छ।
कतै घण्टीको लहर पहिलाजस्तै कायम रहेर डा. वाग्लेको जित निकाल्ने त हैनन् भन्ने डर कांग्रेसमा पसेको छ। त्यसो त कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई विरोधीहरूले पनि व्यक्तिगतरूपमा खोट लगाउन सक्दैनन्। भट्टराई कांग्रेसका अकबरी सुन नै भए पनि कांग्रेसको गिर्दो शाखका कारण उनलाई चुनाव महाभारत भइरहेको छ।
यहाँ एमालेका उम्मेदवार पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल पनि उम्मेदवार छन्। तर, उनी मंसिर ४ निर्वाचनमा काठमाडौंमा ६ मा हारेजस्तै यहाँ पनि हार्ने उम्मेदवार नै हुन्।
मंसिर ४ मा बारा २ जनता समाजवादी पार्टीका महासचिव रामसहायप्रसाद यादवले जितेको क्षेत्र हो।
एमालेसँगको चुनावी गठबन्धनबाट झिनो मतान्तरले जितेका रामसहायलाई पार्टी सभापति उपेन्द्र यादवको अति सिंहदरबार मोह पूरा गर्न उपराष्ट्रपति बनाइयो। कुनै समय मधेसका मसिहा मानिएका उपेन्द्र मंसिर ४ को निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका सीके राउतसँग नराम्ररी पराजित भएका थिए। अहिले उनी बारा–२ मा उम्मेदवार बनेर आफ्नो जितलाई जीवनमरणको प्रश्न बनाएका छन्।
उपेन्द्र अधिकांश सत्तारूढ दलका साझा उम्मेदवार हुन्। उनलाई यसअघि रामसहायसँग पराजित जनमतका शिवचन्द्र कुशवाहले टक्कर दिइरहेका छन्। तत्कालीन माओवादीका कुशवाह मंसिर ४ को चुनावमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार भई रामसहायसँगै पराजित उम्मेदवार हुन्। त्यसो त यस क्षेत्रमा नेकपा एमालेका पुरूषोत्तम पौडेले र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल पनि जितको सपना देखिरहेकै छन्।
अहिले जसले जे भने पनि यी तीनै निर्वाचनमा यसअघि जुन–जुन दलका उम्मेदवार विजयी भएका थिए, ती दलकै उम्मेदवार जितको नजिक देखिन्छन्।
वर्ष २०८० र दशक २०८० को कुरा गर्दा उपनिर्वाचनको कुरा किन ? भन्ने प्रश्न उठ्न सक्छ। प्रश्न उठ्नु स्वभाविकै पनि हो। यो सन्दर्भ यसकारणले कि यो उपनिर्वाचन यो वर्षको मात्र हैन, यो दशककै एक पानीढलो लोकरिझ्याइँ परिघटना हुनसक्ने सम्भावना छ। उपननिर्वाचनको निर्णय चरम लोकरिझ्याइँका आधारमा हुन्छ कि हुँदैन, त्यो हेर्न जरूरी छ।
नेपालमा लोकरिझ्याइँको केन्द्रमा केही समय पहिलेसम्म एमाले अध्यक्ष केपी ओली थिए। उनी नै नेपालका धेरै समाचारहरूको मुहान हुन्थे। लोकप्रिय हुने मनसायले केही न केही अन्टसन्ट बोलिरहन्थे। जब उनको त्यो बोलीमाथि प्रश्न उठ्थ्यो, उनका पक्षधरहरू जाइलागी हाल्थे। स्वयं ओलीकै रोहबरमा साइबर सेना नै गठन गरिएको थियो।
अहिले ओलीको लोकरिझ्याइँको सिंहासनमा रास्वपा सभापति रवि लामिछाने विराजमान छन्। उनको व्यक्तिगत जीवन अत्यन्तै विवादास्पद र हिलोले पुरिएको छ। अहिले उनी एक नितान्त व्यक्ति मात्र नभएर सार्वजनिक व्यक्तित्व भएपछि त्यो हिलोमा हलचल आएको छ। हिलो चलेसँगै उनी नांगिँदै गएका छन्। जति जति नांगो छोप्न खोज्छन्, त्यति नै नांगिँदै गइरहेको कुरूप दृश्य हेर्न नसकेर उनका समर्थक निम्न कोटीका आमाचकारी गाली गलौजमा उत्रिहाल्छन्।
खासगरी सामाजिक सञ्जाल र युट्युवमा बेनामी दस्ता नै बनाएर लागेको उनको यो सेना अब भर्चुअल डोमेन छोडेर भौतिक डोमेनमै प्रवेश गरिसकेको छ। उनको कर्तुतको समाचार छाप्यो भनेर दिनदहाडै सडकमा कान्तिपुर जलाइएको मात्र छैन, उनको विपक्षमा मुद्दा हालेको भनेर युवराज पौडेल ‘सफल’लाई कुट्नेसम्मको हर्कत पनि गरिएको छ।
यो अति भयो। यस्तो चर्तिकलाले कुनै पनि सभ्य समाजका लागि शोभा दिदैन। यसले समाजलाई जोड्दैन, विभाजित गर्छ। समाजमा सद्भाव बढाउदैन, द्वेष–घृणा बढाउँछ।
समाजमा आफ्ना लागि यतिसम्मका हर्कत हुँदा पनि रवि लामिछाने भने मौन छन्। उनलाई थाहा छ, यो नै उनको शक्तिको स्रोत हो। जुन दिन उनले छाडाहरूलाई मुख सम्हाल्न भन्नेछन्, ती छाडाहरूले उनकै विपक्षमा मुख छोड्नेछन्। अझ, उल्टै यस्ता प्रश्न गर्न पनि सक्छन्, ‘गुरूदेव यो चोथाले छाडा हुन हामीले तपाईबाटै सिकेका हों। यो त हाम्रो पाठशाला हो, छाडा बोल्न पाएनौ भने हामी कहाँ तपाईको पछि लागिरहन्छौ र ?’
आखिर रवि आज जहाँ छन्, टेलिभजिनमा यस्तै लोकरिझ्याइँका चर्का कुरा गरेर नै पुगेका हुन्। नत्र जान्नेलाई छान्ने भन्ने पार्टीमा उनले जानेको चाहिँ के छ ?
यो मास हिस्टेरियाको वैशाख १० मा लिटमस टेस्ट हुँदैछ। यदि यो टेस्टमा रविको पार्टीले दाबी गरजस्तै तीनै स्थानमा घण्टी बज्यो भने ठाने हुन्छ, नेपाल २०८० को दशकमा लोकरिझ्याइँको घनचक्करमा नराम्ररी फस्ने छ। एउटा चतुर राजनीतिक खेलाडी ओलीलाई नै धान्न नसकिरहेको नेपालमा रविजस्ता अर्का धुर्त खेलाडी पनि थपिए भने मुलुक एक किसिमको चौदण्डीमा परिणत हुनेछ।
यो परिस्थितिले मुलुकमा जस्ले जे बोले पनि हुने मात्र हैन, जस्ले हान्यो, उस्ले जान्यो भन्ने खालको विचित्रको परिस्थिति सिर्जना हुने छ। आर्थिक, सामाजिक र सांस्कृतिक कोणबाट त यसै पनि नेपाल असफल राष्ट्र हुने दिशातिर तीब्र गतिमा गैरहेकै छ, राजनीतिक रूपमा पनि लोकरिझ्याइँको घनचक्करमा फस्यो भने नेपाल बस्नलायक देश हुदैन। आदर्श, मूल्य र मान्यता मरेको एक किसिमका लहडीहरूको अखडाजस्तै हुने छ।
लोकरिझ्याइँले देश यति ग्रस्त पारिसक्यो कि मास हिस्टेरियाको संक्रमण नै देखिसकेको छ भन्दा पनि अत्युक्ति नहुने अवस्था सिर्जना भैसक्यो। तैपनि वैशाख १० गतेको लिटमस टेस्ट हेरौ, घना बादलभित्र चाँदीको घेरा देख्न सकिएला कि ?