सिंहदरबारदेखि बालुवाटारसम्म प्रहरीको नालबाट फुत्किएका गोलीले जन्माएको प्रश्न

वैशाख १ गते राति घरभित्रको रम्झम सकेर फर्किने क्रममा थिए, प्रहरी सहायक हवल्दार प्रकाश पुन मगर।

नयाँ वर्ष भएकाले बालुवाटरमा रहेको तीर्थमाली पुनको घरमा उनी पुगेका थिए। तीर्थमाली पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा हुन्।

रात परिसकेकाले तीर्थमालीले प्रकाशलाई ‘कसरी घर जान्छस् ?’ भनेकी मात्रै के थिइन्, प्रकाशले खल्तीबाट पेस्तोल निकालिहाले। उनले ‘म सँग यो छ’ भन्न नभ्याउँदै बोली भन्दा छिटो बोली फुत्कियो।

प्रकाशको हातबाट फुत्किएको गोली ७७ वर्षीया तीर्थमालीको खुट्टामा लाग्यो। आमाको खुट्टामा गोली लागेपछि प्रकाश पेस्तोल त्यही छाडेर भागे।

आमाको खुट्टामा गोली लागेको तीन घण्टापछि उक्त घटनाको रिपोर्ट प्रहरीको हातमा पुग्यो। प्रहरीले अनुसन्धान गरिरहँदा प्रकाश आफैं प्रहरीमा आत्मसमर्पण गर्न पुगे। प्रहरीको बयानको क्रममा प्रकाशले त्रृटिवश गोली चलेको स्वीकारेका छन्।

तीर्थमालीको वीर अस्पतालमा उपचार भइरहेको छ। अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ।

प्रहरीसँगको बयानमा पुनले गोली नियतवश नचलाएको जनाएका छन्। उनले प्राविधिक त्रृटिले घटना भएको स्वीकारेका छन्। उनले शुक्रबार राति मादक पदार्थ खाएको देखिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि नियतवश गोली नचलाएको खुलेको छ।

‘बयानमा नियतवश गोली नचलाएर प्राविधिक रुपमा फुस्किएको बताएको छ। थप अनुसन्धान भइरहेको छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवालीले बिएल नेपाली सेवासँग भने।

हवल्दार प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका पछुवा सुरक्षामा खटिएका प्रहरी हुन्। तीर्थमाली र प्रकाशबीच पारिवारिक सम्बन्धसमेत रहेको छ। प्रकाशले तीर्थमालीलाई ‘हजुर आमा’ भनेर सम्बोधन गर्छन्।

याे घटनालाई सामान्यजसरी व्यवस्थापन गरिए पनि नेपालको सुरक्षा प्रणालीमा ठुलो प्रश्न खडा गरेको छ। मादक पदार्थ पिएर नयाँ वर्षमा रम्झम गरिरहेका प्रकाशले ‘लोडेड’ हतियार किन बोके ? के सुरक्षाकर्मीहरुले सुरक्षा जिम्मेवारी बाहिर रहँदा पनि हतायर बोकेर हिँड्न मिल्छ ?

त्यसो त पुनको परिवारले पनि यो घटनालाई गोप्य राख्न प्रहरीलाई अनुरोध गरेको थियो। घटना नियतवश नभएको परिवारभित्रै समिति राख्नुपर्ने परिवारको आसय हो। मानवीय क्षति नभएकोले यो घटनालाई त सबै किसिमबाट सामान्यकरण गरिएला तर गम्भीर प्रकृतिको घटनामा सहजै लापरबाही गर्ने प्रहरीलाई छुट मिल्ला ? यदी गोली लागेर मानिसको मृत्यु भएको भए ? आफ्नो हतियारको सुरक्षा गर्न पनि प्रहरीलाई उतिकै महत्व होला नि ?

त्यस्तै घटना २०७८ कात्तिकमा पनि भएको थियो। त्यो पनि सिंहदरबार जस्तो संवेदनशील क्षेत्रमा। राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालका पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको थियो।

गोली कसैलाई नलागेकाले क्षति भने भएन। गोली कसरी चल्यो भन्नेबारे अनुसन्धान गरेको थियो। प्रहरीको अनुसन्धानमा पनि त्रृटि भएर गोली चलेको निष्कर्ष निस्किएको थियो। तर, यसरी भिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मीको हतियारबाट फुत्फुत् गोली निस्कन थाल्ने हो भने यसले कुनै अवस्थामा कस्तो रुप ल्याउला ? यसबारे भने समग्र सुरक्षा प्रणालीले सोच्न जरुरी छ।

प्रकाशित मिति: : 2023-04-17 20:00:00

प्रतिकृया दिनुहोस्