होटलमा अफिस खाेलेर विदेशमा ज्यान गुमाएकाहरूकाे शवमाथि दलाली (भिडियाेसहित)

फाेटाेसप गरिएकाे तस्बिर

काभ्रेपलाञ्चाेककाे रोशी गाउँपालिका– ८ का रामबहादुर तामाङ ६ महिनादेखि काठमाडौंको नयाँ बसपार्कको एक होटलमा बस्दै आएका छन्। ६ महिनादेखि विलासी ढंगले होटलमा बस्दै आएका तामाङको देखाउने कुनै काम छैन।

उनको भन्न नमिल्ने काम भने वैदेशिक रोजगारीका लागि खाडी पुगेर मृत्यु भएका नेपालीको शवमाथिको दलाली हो। त्यही विदेशमा मृत्यु भएका कामदारको लास ल्याउन दलाली गर्न उनी होटल बुक गरेर बस्दै आएका हुन्।

वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारीसहितको सरकारी कर्मचारीसँग मिलेर उनले एक गिरोह नै बनाएर विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आउने बिमा रकममा दलाली गर्दै आएका थिए।

मृतकका आफन्तलाई विभिन्न डर त्रास देखाएर तामाङकाे समूहले बिमा रकममा दलाली गर्दै आएको जालो उपत्यका अपराध अनुसन्धान कार्यालयले तोडेको छ।

प्रहरीको कारबाहीपछि तामाङले गेष्ट हाउसमा नै कार्यालय खोलेर विगत ६ महिना यता दर्जनौं मृतकको बिमा रकममा ठगी गरेको खुलेको छ। प्रहरीकाअनुसार तामाङका सहयोगी सर्लाही लालबन्दी– ८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले पनि पक्राउ परेका छन।

सरकारले वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक गएका कामदारको विभिन्न कालगतिले मृत्यु भएमा उनीहरुको परिवारलाई बिमा रकम वापत १३ लाखदेखि २० लाखसम्म दिने गर्छ। मृत्यु भएमा बिमा रकममा मोलमोलाई गर्न तामाङले ६ महिनादेखि गेष्ट हाउसमा डेरा जमाएर बोर्डका सुब्बालाई हातमा लिएर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले बताएअनुसार बिमाको रकम असुल्न तामाङकाे समूहले सुरुमा विदेशमा मृत्यु भएकाहरुको खोजी गरेर मृतकको विवरण र बिमा अवस्थाबारेको जानकारी बोर्डका सुब्बा अधिकारीबाट लिने गर्दथ्यो। अधिकारीले मृतकको बिमा अवस्था, श्रम स्वीकृति वैधानिक रहे/नरहेको र प्राप्त हुने रकमको सूचना लिने गर्छन। त्यसपछि तामाङकाे समूह विदेशमा शव आउने दिनमा विमानस्थल जान्छ। अनि विमानस्थलमा शव लिन पर्खेका आफन्तको खोजी गरेर उनीहरुको सम्पर्कमा जान्छन्। त्यसपछि उनीहरुलाई झन्झटिलो प्रक्रियाबारे गफ दिन्छ, त्यसपछि आफन्त पनि लफडामा फस्नुभन्दा रकम दिन तयार बनाउने उनीहरुको ध्याउन्न हुन्थ्यो। त्यसपछि तामाङकाे समूहले मृतकको कागजपत्र बनाउन जोड दिन्छन्। रकम आउने पक्का भएपछि पहिला मृतकका आफन्तबाट चेक लिने र रकम निकासा हुना साथ तामाङकाे समूहले ८० प्रतिशत लिन्छ भने बाँकी २० प्रतिशत मृतकका परिवारलाई दिन्छ।

सामान्य हिसाब गर्दा पनि २० लाखमा १४ लाख रकम तामाङकाे समूहले लिन्छ भने बाँकी ६ लाख मात्र पीडित परिवारले पाउँछ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीकाअनुसार यो ठगी धन्दामा सात जना पक्राउ परेका छन। उनीहरुबाहेक अरु पनि संलग्न भएको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कामदारको बिमामा ठगी भइरहेको बोर्डबाट सूचना आएपछि अनुसन्धान थाली तामाङकाे समूहलाई पक्राउ गरिएको बताए। उनकाअनुसार पक्राउ परेको तामाङ गिरोहले विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्तालगायतका सरकारी कागजपत्र पनि बरामद भएका छन्।

हालसम्म प्राप्त प्रमाणलाई हेर्दा दुई जना मृतकका आफन्तले पाउनुपर्ने १३ लाखको दरको रकमबाट ५ लाख पीडितलाई दिएको र बाँकी आफैंले बुझेको खुलेको छ। भने, उनीहरुले ३५ वटा मृतकको कागजपत्र मिलाउँदै गरेको अवस्थाका प्रमाणहरु फेला परेका छन्।

यो गिरोहले लामो समयदेखि यसैगरी ठगी गर्ने गरेको प्रहरीकाे प्रारम्भिक अनुमान छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-07 21:40:00

प्रतिकृया दिनुहोस्