भाेटेकाेशीवासीलाई मिलीजुलीको साथ, संकटमा राहत (भिडियोसहित)

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

देश अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेको छ, जसका कारण सामान्य नागरिकलाई दैनिकी चलाउनसमेत हम्मेहम्मे परिरहेको छ। दैनिक उपभोग्य सामानहरु जस्तै: दाल, चामल, नुन, तेल, मसलालगायतको मूल्य आकाशिँदा सर्वसाधारणहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। औसत मानिसहरुलाई जीवन धान्नै मुस्किल पर्न थालेको छ।

एकातिर महङ्गी त छँदैछ, त्यसमाथि कालोबजारीका कारण मानिसहरुको दैनिकी थप जटिल बन्दै गएको छ। यस्तो अवस्थामा राज्य र राज्यका निकायहरुले विशेष योजना बनाएर जनताको जीवनलाई सहज बनाउनुपर्ने हो। तर, राज्यसंयन्त्र नै मुखदर्शक बनिदिँदा यो समस्याले भयावह रुप नलेला भन्न सकिन्न।

संकटको घडीमा जनताले राज्य भएको महसुस पनि गर्न नपाएको यो अवस्थामा सिन्धुपाल्चोकको मिलीजुली समूहले सर्वसाधारणको जीवन सहज बनाउनको लागि नयाँ योजनाको सुरुवात गरेको छ।

मिलीजुली समूहले उपभोक्ताहरु कालोबजारीबाट नठगिउन् र संकटको समयमा केही राहत महसुस गरुन् भन्ने उद्देश्यका साथ जिल्लाको भाेटेकाेशी गाउँपालिका– ३ मा सुलभ मूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको छ। समूहले गत शनिबार एक कार्यक्रम सुलभ पसल सञ्चालन गर्ने घोषणा गरेको हो।

‘सर्वसाधारणहरुलाई महङ्गीले थिचिरहेको छ, त्यसमाथि कालोबजारी पनि भइरहेको छ। यहाँका उपभोक्ताहरुले खाद्यान्न किन्दा ठगिनु नपरोस् भनेर हामीले सुलभ मूल्य पसल सञ्चालन गर्ने घोषणा गरेका छौँ,’ समूहका अध्यक्ष कृष्ण सिवाकोटीले बिएल नेपाली सेवासँग भने।

यसरी आफ्नै गाउँ/ठाउँमा सस्तो मूल्यमा दैनिक उपभोग्य सामानहरु पाइने पसल सञ्चालन हुने भएपछि यहाँका स्थानीयहरु खुसी भएका छन्। अध्यक्ष सिवाकोटीकाअनुसार यस्तो सुलभ मूल्य पसल महिनामा एकदिन मात्रै खुल्नेछ। महिनामा एकदिन मात्रै खुल्ने यस्तो पसलबाट स्थानीयहरुले महिनाभरिलाई पुग्ने खाद्यन्न किन्न सक्ने छन्।

तत्काल यहाँ दुई वटा मात्रै सुलभ पसल सञ्चालन गरिने र आवश्यकताको आधारमा पसलको संख्या थप्न सकिने अध्यक्ष सिवाकोटीले जानकारी दिए।

यस्तो पसल पद्धतिले सर्वसाधारणलाई वचतमासमेत प्रेरित गर्ने अध्यक्ष सिवाकोटीको दाबी छ। ‘अहिले हेर्ने हो भने एउटा पसलमा एकथरी र अर्काे पसलमा अर्कोथरी मूल्य छ। यस्तो अवस्थामा हाम्रो समूहले सुलभ मूल्यमा सामान उपलब्ध गराउँछ। यसबाट उपभोक्ताको केही पैसा वचत हुन्छ,’ सिवाकोटीले भने। स्थानीयहरुको सहजताको लागि यसरी काम गरेको उनको भनाइ छ।

उनले सामानको मूल्य सस्तो हुँदा गुणस्तरीयतामा प्रश्न उठ्न सक्ने कुरालाई ध्यानमा राख्दै भन्छन्,‘हामीले उपलब्ध गराउने सामानको गुणस्तरमा कुनै शंका छैन। हामीले सामान जहाँ उत्पादन हुन्छ, त्यहाँबाट सिधै खरिद गरिने भएकोले मूल्यमा सस्तो पर्न गएको हो। यहाँ बिचौलियाले असुल्ने पैसा वचत हुने भयो।’

यस्तै समूहकी सल्लाहकार ताथी तामाङले यो अभियान आम्दानी वा मुनाफाको लागि नभएर सेवाको लागि गरिएको बताइन्। ‘यस समूहमा महिला दिदी बहिनीहरु धेरै हुनुहुन्छ। यो कसैले पनि व्यापार गर्न आँटेको होइन। घर चलाउने त महिला नै त हो, त्यसकारण पनि महिला दिदी बहिनीहरुले ख्याल गर्नुपर्छ। हामी कुनै स्वार्थ नभई सर्वसाधारणको दुई/चार पैसा जोगियोस् भनेर दुःख गर्न आँटेको हो,’ उनले भनिन्।

यद्यपि, उपभोक्ताहरुले सबै प्रकारका सामानहरु अनिर्वाय रुपमा उपलब्ध गराइनुपर्ने माग राखेका छन्। ‘हामीलाई यो समूहप्रति आशा र भरोसा लागेको छ तर हामीलाई सबै सामान ल्याइदिनुपर्छ,’ एक स्थानीय महिलाले भनिन्।

अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले संकटको समयमा मिलीजुली अभियानले गरेको यो अभियान उत्कृष्ट भएको प्रतिक्रिया दिए। ‘स्थानीयहरको लागि सहुलियत पसल चलाउनु एउटा सुन्दर पक्ष हो। तर, सामानहरु गुणस्तरीय छ कि छैन भनेर चेक/जाँच गर्न पनि जरुरी छ। सामानहरु गुणस्तरीय र खान योग्य छ भने मूल्यहरु निकै सस्तो हो,’ उनले भने।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-03 17:50:00

प्रतिकृया दिनुहोस्