दुबईमा ‘मधेसी एकता समाज’को ईफ्तार कार्यक्रम सम्पन्न

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा मधेसी एकता समाज युएईले दुबईमा 'वृहत् ईफ्तार कार्यक्रम' आयोजना गरेको छ। शनिबार दुबईको अल सफा पार्कमा आयोजित ईफ्तार कार्यक्रममा आयोजक मधेसी एकता समाज र नेप्लिज मुस्लिम सोसाईटीमा आवद्ध नेपालीहरुले सँगै ईफ्तार ग्रहण गरेका थिए।

कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै मधेसी एकता समाज युएईका अध्यक्ष कृष्ण ठाकुरले धर्मका नाउँमा विभाजन हुँदै गएको नेपाली समाजलाई एकताको सन्देश प्रदान गर्न ईफ्तार कार्यक्रमको आयोजना गरिएको बताए।

ईफ्तार कार्यक्रममा उपस्थित नेप्लिज मुस्लिम सोसाईटीका अध्यक्ष नौमान सिद्दिकीले विदेशी भूमिमा यस्ता कार्यक्रमहरु आयोजना हुनु सुखद रहेको उल्लेख गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले आफ्नो धर्म, संस्कृति, परम्परा जोगाउन यसरी नै सबै नेपाली एक भएर अगाडि बढ्नुपर्ने समेत बताएका थिए।

यसैगरी आयोजक मधेसी एकता समाज युएईका संस्थापक एवम् वरिष्ठ सल्लाहकार डाक्टर रवीन्द्र यादवले सहभागीहरुलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरुले नेपालीहरुबीच मेलमिलाप, भाइचारा र सोहाद्रपूर्ण वातावरण सिर्जना गर्ने बताएका थिए। उक्त कार्यक्रममा सहभागीहरुले आयोजकप्रति धन्यवाद व्यक्त गर्दै एकअर्काबीच रमजानको शुभकामना आदानप्रदान समेत गरेका थिए।

मधेसी एकता समाज युएईले स्थापना कालदेखि नै नियमित रूपमा वर्षेनि ईफ्तार कार्यक्रम आयोजना गर्दै आएको छ। यसका साथै दशैं, तिहार, छठ, होली, क्रिसमस एवम् ईदका अवसरमा समेत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-04-02 13:34:00

प्रतिकृया दिनुहोस्