अर्थतन्त्र सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताएका छन्।

फ्लोरिकल्चर एसोसियसनद्वारा आज यहाँ आयोजित २४औँ फ्लोरा एक्स्पोको शुभारम्भ गर्दै उनले अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न आवश्यक रहेको र यसका लागि सरकारले गृहकार्य थालिसकेको जानकारी दिए।

'अहिलेको अर्थतन्त्रको अवस्थालाई अब हामी यथास्थितिमा राख्दैनौँ। सरकारले तत्काल सुधारका प्रयास गर्नेछ। यसका लागि गम्भीर गृहकार्य पनि सुरु भइसकेको छ', उनले भने।

अहिलेको राष्ट्रिय कार्यभार मुलुकलाई समृद्ध र विकासशील बनाउने रहेको बताउँदै उनले त्यसका लागि सरकार, निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रको उत्तिकै भूमिका रहने उल्लेख गरे।

'तीनखम्बे अर्थ नीतिअनुसार सबै क्षेत्रलाई समेटर अघि बढ्न सरकार तयार छ। अहिलेको आर्थिक समस्यालाई सरकारले निजी क्षेत्रको मात्र समस्याका रुपमा लिएको छैन। यो समग्र देशकै समस्या हो। यसलाई सबैले मिलेरै समाधान गनुपर्छ', मन्त्री श्रेष्ठले भने।

प्रकाशित मिति: : 2023-03-31 15:17:00

प्रतिकृया दिनुहोस्