‘अप्रेसन चार्ली’को फन्दामा नामुद चिनियाँ ठग ग्याङ (भिडियोसहित)

मोरङका २६ वर्षीय युवकको किराना पसल राम्रोसँग नै चलिरहेको थियो। पसलबाट नै केही रुपैयाँ बचत गर्नसमेत भ्याएका थिए। एकदिन उनलाई अनलाइन व्यापार गर्ने प्रस्ताव आउँछ। उनलाई अनलाइन व्यापारबारे खासै ज्ञान थिएन। ह्वाटसेफमार्फत् आएको प्रस्ताव चित्त बुझेपछि उनी अनलाइन व्यापारबारे बुझ्न थाल्छन्।

ओभर स्टक नामको वेभ साइटमा युजर बनेर उनी कक्षा लिन थाल्छन्। केही युवतीलगायतले अनलाइन व्यापार कसरी गर्ने ? कति-कति लगानी गर्दै जाने भन्ने विषयमा तालिम दिइन थालिन्छ। लगानीको ३० प्रतिशत नाफा हुने भएपछि किरानामा केही प्रतिशत मात्र नाफा खाने उनको लागि आकर्षण बन्छ, अनलाइन व्यापार।

सुरुमा ५० हजार लगानी गरेका उनलाई ३० प्रतिशतले १५ हजार रुपैयाँ नाफा आउँछ। सुरुमा उनले सामान किनेर अनलाइनमा नै बिक्री गर्छन्। त्यसको ३० प्रतिशतले १५ हजार रुपैयाँ आउँछ। अब उनको लगानी बढ्न थाल्छ। १ लाखदेखि बढ्दै गएर ४८ लाख रुपैयाँ पुग्छ। डेढ महिनामा नै ४८ लाख लगानी गरेका उनलाई अन्तिम पटक भने न नाफाको रकम आउँछ न त साँवा नै। बरु उल्टै गैरकानुनी रुपमा कारोबार गरेको भन्दै अनलाइनमै थ्रेट आउँछ।

जब उनी प्रहरी कहाँ पुग्छन्। उनी आफू ठगिएको बुझ्छन्। यसगरी नेपालमा पछिल्लो समय अनलाइन व्यापार फस्टाउँदो छ। यही मौका छोपेर चिनियाँ ठगहरूले चलाएको अनलाइन ठगीलाई प्रहरीले छताछुल्ल पारेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपालमा बसेर अनलाइन व्यापारका नाममा नेपाली ठगी धन्दा चलाउने ९ जना चिनियाँलाई पक्राउ गरेको हो। अपराध अनुसन्धानले उनीहरूलाई सघाउने १० जना नेपालीलाई पनि पक्राउ गरेको छ।
काठमाडौँको चण्डोल बूढानीलकण्ठ र गल्फुटारमा कार्यालय नै खोलेर चिनियाँ गिरोहले अनलाइन व्यापारका नाममा ठगी गर्दै आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए। पक्राउ परेका ९ चिनियाँ, १० जना नेपाली र अनलाइन ठगीमा प्रयोग भएका उपकरणसहित बुधबार सार्वजनिक गरेको हो।

प्रहरीले अप्रेसन चार्ली अनलाइन स्क्याम नामक अप्रेसन चलाएर ठगीमा संलग्न ९ चिनियाँ र १० जना नेपाली नागरिकलाई पक्राउ गरेको हो। प्रहरीकाअनुसार गिरोहबाट नेपाली नागरिक नै ठगीमा परेको भेटिएको छ।
एसएसपी केसीकाअनुसार ह्वाट्स एपमा अनलाइनमार्फत् विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगिएको हो।

ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर गिरोहले अप्रेसन टिचर नामक च्यानलसम्म पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरुले नै च्यानलमा पीडितको अकाउन्ट बनाई दिने र रकम जम्मा गरेपछि पनि त्यही देखाउने र सामान खरिद बिक्री भएको पनि त्यही देखाएर पीडितलाई आवश्यक पार्ने गरेको समेत प्रहरीले अनुसन्धानबाट खुलेको छ।
प्रहरीकाअनुसार पैसा हाले पश्चात् सामान अनलाइनमार्फत् बिक्री हुन्छ, त्यसबापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भन्दै पीडितले दर्जनौँ नेपालीलाई करोडौँ रकम ठगी गरेको पाइएको छ।प्रहरीकाअनुसार पीडितले एनआइसी एसिया बैंकमा राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ। उनीहरूको खाता प्रयोग गरे बापत चिनियाँ नागरिकले महिनाको १० हजार रुपैयाँ दिने गरेको खुल्छ। चिनियाँ नागरिक केही महिनादेखि गैरकानुनी रुपमा नेपालमा बस्दै आएको समेत खुलेको छ।

उनीहरूले अनलाइन व्यापारको नाममा ठगी गरेको देखिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको अन्य १० वटा खाताबाट १० करोड रुपैयाँभन्दा बढी ठगी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसएसपी केसीले बताए।

प्रकाशित मिति: : 2023-03-29 20:12:00

प्रतिकृया दिनुहोस्