रिक्त रहेका पाँच प्रदेशमा खटिए नयाँ प्रहरी प्रमुखहरू, को कहाँ ?

गृह मन्त्रालयले रिक्त रहेका प्रदेश प्रहरी कार्यालयहरुमा नयाँ प्रहरी प्रमुखहरु खटाएको छ। मन्त्रालयले विभिन्न कारण रिक्त बनेका पाँच प्रदेश कार्यालयहरुमा सोमबार नयाँ प्रहरी प्रमुखहरुलाई काजमा खटाएको हो।

गृह मन्त्रालयका अनुसार डिआइजी श्याम ज्ञवाली एआइजीमा बढुवा भएपछि रिक्त रहेको कोशी प्रदेश प्रमुखमा एसएसपी राजेशनाथ बास्तोलालाई पठाएको छ। त्यस्तै वसन्त कुँवर एआइजी हुँदै आइजिपीमा बढुवा भएसँगै खाली रहेको जनकपुर प्रदेश प्रमुखमा डिआइजी किरण रानालाई काज सरुवा गरेर खटाइएको छ।

त्यसैगरी डिआइजी दीपक थापा एआइजीमा बढुवा भएपछि रिक्त रहेको बागमती प्रदेश प्रमुखमा डिआइजी दुर्गा सिंहलाई पठाएको छ। त्यस्तै टेकप्रसाद राई डिआइजीबाट एआइजीमा बढुवा भएपछि रिक्त रहेको लुम्बिनी प्रदेश प्रमुखमा डिआइजी उमेश जोशीलाई खटाइएको छ।

त्यस्तै डिआइजी अशोक सिंहले राजीनामा दिएपछि खाली रहेको सुदूपश्चिम प्रदेश प्रहरी प्रमुखमा एसएसपी भरतबहादुर बोहरालाई निमित्त प्रमुखका रुपमा खटाइएको छ।

प्रकाशित मिति: : 2023-03-27 18:21:00

प्रतिकृया दिनुहोस्