सरकारी वकिल कार्यालयले दिएको निर्देशन पनि मानेन प्रहरीले

संस्थाको रकम दुरुपयोग गर्ने पर्वतको शिवालय बहुउद्देश्यीय सहकारीका पदाधिकारीविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयले दिएको निर्देशन कार्यान्वयनमा पनि प्रहरीले आलटाल गरेको छ । सहकारीको दुई करोडभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै स्थानीय ४९ वर्षीया मीनाकुमारी शर्माले अध्यक्ष विदुर पौडेल, कोषाध्यक्ष नरेन्द्रबहादुर खत्री, लेखा संयोजक विनोद कर्माचार्य र व्यवस्थापक दिलकुमारी सुवेदीविरुद्ध दिएको जाहेरी दर्ता गर्न जिल्ला सरकारी वकिलको कार्यालयले ५ चैतमा जिल्ला प्रहरी कार्यालय पर्वतलाई निर्देशन दिएको थियो । तर, प्रमाण नपुगेको भन्दै प्रहरीले जाहेरी दर्ता गरेको छैन । 

यसअघि २३ फागुनमा लगेको जाहेरी प्रहरीले दर्ता नगरेपछि शर्मा सरकारी वकिलको कार्यालयमा पुगेकी थिइन् । त्यसपछि सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्न प्रहरीलाई निर्देशन दिएको थियो । जिप्रका पर्वतका इन्स्पेक्टर प्रकाश राउतले मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयबाट पत्र आएको, तर दर्ता भइनसकेको बताए । 

‘आरोपीविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयबाट पत्र आएको छ । तर, मुद्दा दर्ता भइसकेको अवस्था छैन । मुद्दा दर्ता गर्ने नै हो । हामी प्रमाण संकलन गर्दै छौँ । आवश्यक प्रमाण संकलन भएलगत्तै मुद्दा दर्ता हुनेछ,’ उनले भने ।

प्रकाशित मिति: : 2023-03-26 09:41:00

प्रतिकृया दिनुहोस्