‘कोशी खारेज’ आन्दाेलनमा घाइते भएका लाजेहाङकाे निधन

‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङ सुक्वाबाको निधन भएको छ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा लाठीचार्जबाट टाउको गम्भीर चोट लागेका लाजेहाङ्को निधन भएको हो। उपचाररत लाजेहाङको शुक्रबार बिहान २:३० बजे बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा निधन भएको आन्दोलनरत किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी गराए।

चैत ५ गते विराटनगरमा भएको काेशी प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित ‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले जनप्रदर्शन गरेको थियो।

प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो। लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लाजेहाङ टाउकोमा गम्भीर चोट परेको हो। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमाण्डर समेत रहेका लाजेहाङ्को थप उपचारको लागि काठमाडौ लाने तयारी थियो।

तेह्रथुमको जिरिखिम्ती निवासी लाजेहाङ सुक्वाबाको घटनाको विषयमा सङघर्ष समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष येक्तेनले जनाए।

प्रकाशित मिति: : 2023-03-24 08:53:00

प्रतिकृया दिनुहोस्