विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

बिएल संवाददाता

सुन्दरहरैचा

 सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ।

सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता  नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका थिए। अतिरिक्त समयमा विराटनगरका आशिष श्रेष्ठले निणार्यक गोल गरेका थिए। दिवाकर चौधरीले दिएको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए। श्रेष्ठ सागर थापाको ठाउँमा मैदानमा प्रवेश गरेका थिए।  

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो। प्रहरीले केही उत्कृष्ट अवसर पाए पनि गोल गर्न भने सकेको थिएन। पुलिस क्लबले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो। खेलको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए। उनले रु २५ हजार पुरस्कार हात पारे  । 

यही चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोली सहभागी छन्। विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिए। तत्कालीन राजा महेन्द्र शाहको नामबाट २०१८ सालमा महेन्द्र गोल्डकप सुरू भएको हो।

विसं २०५७ देखि सो प्रतियोगिता विराट गोल्डकपका रूपमा सञ्चालन हुँदै आएको छ। आज नेपाल आर्मी फुबटवल क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने विराट गोल्डकपका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिए  । 

प्रकाशित मिति: : 2023-03-24 06:43:00

प्रतिकृया दिनुहोस्