दुनियाँकाे सबैभन्दा सहज काम भनेकै अरूलाई रुवाउन र हसाउन नै हाेला। ‘प्रकाश’ फिल्मले पनि सहजै रूवायाे। नाम प्रकाश तर जीवनमा कहिले प्रकाश नदेखिएकाे कथा हाे, प्रकाश।
दुनियाँकाे सबैभन्दा गाह्राे काम भनेकै फिल्म बनाउनु हाे। त्यसमध्ये डकुमेन्ट्री र आर्ट बेसमा रहेर फिल्म बनाउनु अझै धेरै गाह्राे विषय हाे। अझ एउटा फिचर फिल्मकाे कलाकार राखेर फिल्म बनाउन धेरै मुस्किल र चुनाैतिपूर्ण काम पनि हाे।
फिल्म बनाउन सहज हुने भए जाे काेहीले फिल्म बनाउँथे हाेला नि। त्यसैले त सिमित फिल्म बन्छन् र त्यसमध्ये पनि कुनै-कुनै फिल्मले दर्शककाे मन जित्छन्। प्रकाशले पनि दर्शककाे मन जितेकाे छ।
प्रकाश फिल्ममा हामीले स्टार प्रदीप खड्कालाई अन्य चलचित्रकाे तुलनामा फरक भेषभूषा र परिवेशमा देख्छाैँ। कुनै एक जमनामा प्रदीपलाई लभ स्टाेरी फिल्मकाे राजा मान्ने जमातले पनि याे फिल्म हेरेपछि उनलाई आर्ट फिल्मकाे पनि राजा भन्ने छन्। त्यसैले याे केटाे चानचुने हाेइन, याे त एक लामाे रेसकाे घाेडा हाे भन्ने प्रष्टै बुझ्न सकिन्छ। प्रदीपकाे नयाँ अवतार देख्नकै लागि भए पनि याे फिल्म हेर्नेपर्छ।
याे कथामा प्रदीप प्रकाशकाे भूमिकामा रहेका छन्। यसमा प्रकाशकाे संघर्षकाे कथा, गाउँले परिवेश, आमा-छाेराकाे संघर्ष, एक युवाकाे मास्टर बन्ने सपना, सन्तानकाे सपना पूरा गर्न एउटी आमाले गरेकाे त्याग, तपस्य र बलिदानबारे बुझ्न सकिन्छ। फिल्मकाे कथालाई सरल विषयमा अगाडि बढाइएकाे छ। याे फिल्मकाे कलाइमेक्स् कस्ताे छ ? र, कसरी समाप्त गरिएकाे छ भनेर बुझ्न फिल्म हेर्नैपर्छ।
फिल्म समग्रमा राम्रै बनेकाे छ। ९० मिनेट दर्शक फिल्मसँगै बाँधिएर रहन सक्छन्। राम्राे इमाेशन सिर्जना गरिएकाे छ। अतिउत्कृष्ट छायाङ्कन भएकाे छ। मन छुने ध्वानि मिश्रण र राम्राे भिडियाे सम्पादनले मन जित्छ। याे फिल्मलाई मैले ५ स्टारमा ३ स्टार त अवस्य दिन्छु।
तर, तारिफ मात्र गरेर भएन। आलाेचना गर्नुपर्ने केही ठाउँहरु पनि छन्।
फिल्मकाे कथा/वस्तु हेर्दा नेपालकाे जुनसुकै ठाउँमा छायाँकन गरे पनि हुन्थ्याे तर जुम्ला नै राेजेर खर्च किन बढाए हाेलान् ? ल त्याे पनि ठिकै छ। जुम्लामा फिल्म सुटिङ त भयाे, भाषा पनि जुम्लाकै खस छ तर आमाले बाेलेका कतिपय शब्द त नेपाली भाषा नै छन्, जसले जुम्लीपन नै दिँदैन। सहर बजार नै नदेखिएकी आमाले कसरी बाेल्छिन् शुद्ध नेपाली भाषा ? याे फिल्मकर्मीले नै जानुन्। अनि, भाषाकै कुरा गर्दा काठमाडाैँदेखि परीक्षा दिन गएकाे केटाले पनि शुद्ध खस भाषा बाेल्छ तर कसरी ? (काठमाडाैँमा हाइ कम्पिडिसन् भयाकाले। त्यसैले जुम्ला आया हुँ।) यति धेरै गल्ती गर्ने हाे त ? अर्काे कुरा खस शब्दकाेष नै नभएकाे र कुनै पनि सामुदायले नबल्ने शब्दकाे उचारण त गरिदिनु भएन नि हाेइन र ? ल याे पनि ठिक छ।
कथामा प्रकाश पात्र राेकाय हाे भन्ने प्रष्टै छ तर जुम्लाकाे परिवेशमा राेकाय, बुढा, भण्डारी कुनै पनि क्षेत्रीहरू क्षेत्रीकै घरमा हली बस्दैनन् याे कुरामा अध्ययन अलि कम पर्या कि लेखकज्यू ? कि फिल्ममा मिठास ल्याउन मात्र हाे ? यदि त्यस्ताे हाे भने त ठिकै छ।
अनि, अर्काे कुरा हेडमास्टरजस्ताे गहन पात्रकाे अभिनय अलि कमजाेर भएकाे हाे कि ? अनि प्रकाशकै आमाकाे कुरा गर्दा उहाँलाई डाइलगकाे हतारले खुलेर अभिनय गर्न नसकेकाे हाे कि अर्थात् गाउँका महिलाकाे चालचलन र स्वभावकाे अध्ययनकाे कमी भएर बुझ्न केही गाह्राे हुने भयाे। खयर, केही छैन। याे पनि ठिक छ।
तैपनि समग्रमा फिल्म उत्कृष्ट बनेकाे छ। मैले याे फिल्म काठमाडाैँकाे छाया सेन्टरमा एक पटक हेर्न पाएँ, एक पटककाे हेराइमा त राम्राे र नराम्राे भनेर टिप्पणी गरिहाल्न त मुश्किल छ। तर, प्रदीप खड्काकाे अभिनयकाे तारिफ त गर्नैपर्छ।