सत्य घटनामा आधारित सिनेमाको निर्माण फलामको चिउरा चपाउनु जतिकै अफ्ठ्यारो काम हो। त्यस्तै सत्य घटनामा आधारित ‘मिसेज चटर्जी भर्सेज नर्बे’ शुक्रबार (१७ मार्च)मा रिलिज भएको छ।
सन २०११ मा आफ्नो दुई केटाकेटी र पतिको साथ नर्बेमा बसोबास गर्न पुगेकी सागरिका चक्रवर्तीको जीवनमा घटेको घटनामा आधारित यो सिनेमामा प्रमुख भूमिका रानी मुखर्जी (मिसेज चटर्जी)ले गरेकी छिन्। अर्काको देशमा गएर त्यो देशको प्रचलित कानुन जानेर वा नजानेर उलंघन गर्दा कस्तो समस्या आइपर्छ भन्ने बिस्तारमा देखाइएको यो सिनेमा विदेशमा बस्ने हरेकले हेर्नुपर्छ।
चक्रवर्ती दम्पतिले आफ्नो सानो बच्चाले बदमासी गर्दा एक थप्पड दिँदा (भारतीय समाजमा यो सामन्य घटना हो) बच्चाको गालामा चोट लाग्छ र रगत निक्लन्छ। त्यसपछि छिमेकीले यो कुरा प्रहरीमा उजुरी गरिदिन्छ र त्यी बच्चाहरुलाई ‘नर्बेजियन चाइल्ड वेलफेयर सर्विसेज’ले आफ्नो कब्जामा लिन्छ। १८ वर्ष उमेर पुगेपछि मात्र ती बच्चाहरु बाउ-आमाले पाउने नर्बे सरकारको निर्णयविरुद्ध तीन वर्ष चलेको मुद्दा र अदालती निर्णय पश्चात बच्चा प्राप्त भएको सत्य घटनालाई निर्देशक आशिमा छिब्बरले बढो रोचक ढङ्गले प्रस्तुत गरेकी छिन।
सिनेमाको कथाअनुसार देविका चटर्जी (रानी मुखर्जी) आफ्नो सूचना प्रविधिको काम गर्ने पति अनिरुद्र (अनिर्बान भट्टाचार्य) र दुई बच्चाहरु सुभ र सुचीसँग आफ्नो जीवन अगाडि बढाइरहेकी हुन्छिन। एकदिन उनले आफ्नो बच्चालाई गालामा प्याट्ट हान्दा रगत आउँछ र त्यो बच्चा रोएको आवाज सुनेर छिमेकीले प्रहरीलाई खबर गरिदिन्छ। त्यसपछि नर्बे सरकारको वेलफेयर सोसायटी ती बच्चाहरुलाई आफ्नो कब्जामा लिन्छ र देविका चटर्जीको मानसिक अवस्था बच्चाको रेखदेख गर्न असमर्थ रहेको बताउँछ। ती बच्चाहरुको उचित लालन पालनको लागि अन्य दम्पतिलाई धर्मपुत्र वा पुत्रीको लागि प्रदान गर्न पनि सक्ने नर्बे सरकारको कानुनविरुद्ध पतिको साथ र सहयोगबिना नै अदालती कारबाहीको लागि देविका चटर्जीले संघर्ष गर्छिन्। के त्यो संघर्षमा उनी सफल हुन्छिन् ? त्यो नै सिनेमाको प्रमुख कथा हो।
सिनेमाको कथा भारतीय आँखाले हेरेर लेखिएको छ, जो सर्वथा गलत छ। जस्तो देश उस्तै भेष भन्ने उखान जस्तै तपाईं जुन देशमा बस्नुहुन्छ, त्यो देशको कानुन पालना गर्नु तपाईंको कर्तव्य हो। तर, सिनेमालाई दर्शनीय बनाउन बच्चाप्रति हुने हिंसा र त्यस्तो घटनालाई सामान्य रुपले हेर्ने भारतीय दृष्टिकोणको बारेमा निर्देशकले जुन प्रश्न उठाएकी छिन्, त्यो समयानुकुल छ। कथा अगाडि बढ्दै जाँदा कुनै-कुनै प्रश्नको उत्तर दिँदैन त्यो सिनेमाको नराम्रो पक्ष हो। सिनेमामा बङ्गाली भाषाको संवाद धेरै छ, जसलाई ‘सब टाइटल’को माध्यमबाट बुझाउने कोसिस गरिएको छ।
रानी मुखर्जीको अभिनय उत्कृष्ट छ। निरास र लडाकु आमाको भूमिकालाई उनले न्याय गरेकी छिन। मिसेज चटर्जीको वकिलको भूमिका गर्ने बालजी गौरी र सरकारी वकिलको भूमिकामा अभिनय गर्ने जिम सरभको अभिनय पनि उत्कृष्ट छ। प्राय: सबै कलाकारहरु नयाँ छन् र उनीहरुको अभिनय सामान्य छ।
सिनेमोटोग्रफर एल्बर कोयले कलकत्ता र नर्वेका सुन्दर दृश्यहरुलाई आफ्नो क्यामरामा कैद गरेका छन्। हितेश सोनीकको पार्श्व संगीत सिनेमाको कथालाई रोमान्चक बनाउने किसिमको छ। यो सिनेमामा गीतको खासै काम छैन तर पनि अमित त्रिबेदीको सङ्गीतमा सुन्न लायक गीतहरु रहेका छन्।
रानी मुखर्जीको अभिनय र महिला सशक्तिकरणको विषयमा रुचि राख्ने दर्शकहरुले यो सिनेमा हेर्दा समय गएको पत्ता हुँदैन र पैसा खेर जाँदैन।
ट्रेलर हेर्नुहाेस: