किलर नर्स: उपचार गर्ने बहानामा ४० बिरामीको हत्या गरे

अमेरिकी आपराधिक इतिहासमा चार्ल्स एडमन्ड कुलेनकाे नाम सबैभन्दा पहिला आउँछ। जसले १६ वर्षको अवधिमा न्यू जर्सी र पेन्सिलभेनियाका ४०० भन्दा बढी मानसिकाे हत्या गरेकाे दाबी गरिएकाे छ।

काे हुन् चार्ल्स कुलेन?

चार्ल्स कुलेन अमेरिकी सिरियल किलरमध्येका सबैभन्दा कुख्यात किलर हुन्। उनी अमेरिकी नर्स हुन्। उनले अमेरिकाकाे न्यू जर्सी र पेन्सिलभेनियाका नौ अस्पताल र एउटा नर्सिङ होममा काम गरेका थिए। कुलेनले साेही क्रममा ४० भन्दा बढी मानसिकाे हत्या गरेकाे स्विकारेका थिए।

चार्ल्सकाे बाल्यकाल

चार्ल्स कुलेनको जन्म सन्  १९६० फेब्रुअरी २२ मा वेस्ट ओरेन्ज, न्यू जर्सीमा भएको थियो। उनी मजदुर वर्ग क्याथोलिक परिवारमा हुर्केका थिए। कुलेनकाे बाल्यकाल अन्य मानिसहरूकाे जस्ताे थिएन। उनी बारबार हिंसा तथा दुर्व्यवहारकाे शिकार भएका थिए।

नौ वर्षको हुँदा उनले केमिस्ट्री सेटबाट केमिकल पिएर आत्महत्या प्रयास गरेका थिए। किनभने उनी साथीहरू तथा आफ्ना नातेदारहरूबाट नै दुर्व्यवहारकाे शिकार भएका थिए।

अध्ययन र अस्वस्थता

न्यू जर्सीकाे एक विद्यालयबाट स्कुले शिक्षा लिएका चार्ल्सले वेस्ट ओरेन्ज हाई स्कुलबाट स्नातक गरे। स्नातक तह पूरा गरेपछि चार्ल्स संयुक्त राज्य अमेरिकाको नौसेनामा भर्ना भए। नाैसेनामा रहँदा उनले युएसएस वुडरो विल्सन पनडुब्बीमा काम गरे र सफलतापूर्वक आधारभूत प्रशिक्षण तथा पनडुब्बी चालक दलका लागि कठोर मनोवैज्ञानिक परीक्षाहरू दिए। त्यसमा उनी उत्तीर्ण पनि भए।

यी परीक्षामा उत्तीर्ण भएपछि नौसेनाले कुलेनलाई आपूर्ति जहाज यूएसएस क्यानोपसमा नियुक्त गर्यो। तर कुलेनमा पहिलादेखि नै मानसिक समस्या भएकाले त्यहाँ पनि आत्महत्याको प्रयास गरे। आत्महत्याको प्रयास गरेकाे केही वर्षसम्म उनी आपूर्ति जहाजमा नै रहे। त्यसकाे केही वर्षपछि सन् १९८४ उपचारपश्चात डिस्चार्ज भए।

डिस्चार्ज भएको केही समयपछि कुलेनकाे नर्सिङ जीवन सुरू भयाे। उनी सन् १९८७ मा न्यू जर्सीको मोन्टक्लेयरको माउन्टेनसाइड अस्पतालको नर्सिङ स्कुलमा भर्ना भए। त्यहाँकाे सेन्ट बर्नबास मेडिकल सेन्टरको बर्न एकाइमा कामकाे सुरुवात गरे। कुलेनले अस्पतालमा काम गर्न थालेकाे दुई महिनामा नै बिदा लिएर पुनः डिप्रेसनकाे उपचार गर्न थाले।

उनले मानसिक समस्याकाे उपचार गरिरहेकै थिए, तर पनि उनले उपचाररत रहँदा समेत दुई पटक आत्महत्याकाे प्रयास गरे। स्वास्थ्य अवस्था ठिक हुँदै गएपछि उनले कामलाई निरन्तरता दिन थाले। 

हत्याकाे श्रृंखला

कुलेनले सर्वप्रथम सन् १९८८ मा एक बिरामीको शरीरमा औषधिकाे ओभरडाेज दिएर हत्या गरेका थिए। रक्तचापसम्बन्धी समस्या भएका उक्त बिरामीलाई पीडाबाट मुक्त गराउने नाममा कुलेनले सुईबाट औषधिकाे ओभरडाेज दिएका थिए। यसका साथै अस्पतालमा अर्काे एक एड्स राेगका बिरामीलाई पनि पीडाबाट छुटकारा दिने भन्दै औषधिकाे ओभरडाेज दिएर हत्या गरे।

अस्पतालमा बिरामीहरूकाे मृत्यु हुने संख्या बढ्दै गएपछि अस्पतालले यस सम्बन्धमा अनुसन्धान गर्न समिति बनायाे र अनुसन्धान थाल्याे। अनुसन्धानकाे क्रममा उक्त मृत्युमा नर्स चार्ल्सकाे संलग्नता देखिएपछि अस्पतालले कुलेनकाे खाेजी गर्न थाल्याे। दर्जनौं बिरामीको मृत्युमा कुलेन जिम्मेवार भएकाे अनुसन्धानले पुष्टि गर्याे। तर अनुसन्धान अगावै सन् १९९२ मा कुलेनले अस्पताल छाडिसकेका थिए।

सेन्ट बर्नबास मेडिकल सेन्टर छाडेकाे एक महिनापछि कुलेनले फिलिप्सबर्ग, न्यू जर्सीको वारेन अस्पतालमा काम गर्न थाले। त्यहाँ पनि उनले मुटुका बिरामीहरूलाई डिगोक्सिनको ओभरडोज दिएर तीन वृद्धाको हत्या गरे। जसमा एक एड्स राेगीसमेत थिए।

कुलेनले सन् १९९३ मा पत्नीसँगकाे सम्बन्धविच्छेदपश्चात नर्सिङ छाेड्न चाहेकाे बताएका थिए तर अदालतको आदेशले उनलाई काम गरिराख्न बाध्य बनायो। साेही वर्षकाे सेप्टेम्बरमा वारेन अस्पतालमा एक ९१ वर्षीया क्यान्सर रोगीकाे काेठामा नर्स आएकाे र विना जानकारी सुई लगाँउदा मृत्यु भएकाे भन्दै उनको छोराले विरोध गरे। याे घटनामा अस्पतालले अनुसन्धान पनि गर्याे तर उक्त मृत्युमा कुलेनकाे संलग्नता देखिएन। उनले अर्काे एक वर्ष पनि उक्त अस्पतालमा काम गरे।

त्यसपछि कुलेनले न्यू जर्सीको फ्लेमिङ्टनमा रहेको हन्टरडन मेडिकल सेन्टरको सघन हेरचाह इकाईमा तीन वर्षको कार्यकाल सुरु गरे। उनले हन्टरडनमा पहिलो दुई वर्षमा कसैलाई हानी गरेनन्। तर सन् १९९६ काे जनवरी र सेप्टेम्बर बीचमा फेरि डिगोक्सिनको ओभरडोज दिएर पाँच बिरामीहरूको हत्या गरे।

त्यसपछि सन् १९९८ मा उनले एलेनटाउन, पेन्सिलभेनियाको लिबर्टी नर्सिङ एण्ड रिह्याबिलिटेसन सेन्टरमा काम गर्न थाले। सुरूमा त उनले राम्राेसँग बिरामीलाई बिना हानी काम गर्न थाले। तर त्यहाँ उनले बिरामीहरूलाई अनिश्चित समयमा औषधि दिएको आरोप लाग्याे।

जब उनी हातमा सिरिन्ज लिएर बिरामीको कोठामा प्रवेश गरेको देखिए, तब अस्पतालले उनलाई बर्खास्त गर्याे। लिबर्टी छोडेपछि कुलेनले सन् १९९८ मा इस्टन अस्पतालमा काम गरे। त्यहाँ पनि अन्य बिरामीलाई जस्तै डिगोक्सिनको मात्रा बढी दिएर हत्या गरे।

कुलेनले जति अस्पताल परिवर्तन गर्दै जान्थे, उनले बिरामीहरूलाई पीडाबाट छुटकारा दिने नाममा औषधीकाे ओभरडाेज दिएर हत्या गरिदिन्थे।

गिरफ्तार र सजाय

सन् २००३ काे डिसेम्बरमा कुलेनलाई एक रेस्टुरेन्टबाट गिरफ्तार गरिएको थियो। उनीमाथि सयभन्दा बढी मानिसकाे हत्या गरेकाे र हत्या प्रयासको आरोप लगाइएको थियो। जसमा उनले जासूसहरू ड्यान बाल्डविन र टिम ब्राउन, फादर, फ्लोरियन गल र जिन क्युङ हानको हत्या गर्ने प्रयास गरेकाे तथा १६ वर्षकाे अवधिमा ४० जना बिरामीहरूको हत्या गरेकाे स्विकारे।

यसका साथै सन् २००४ मा कुलेनले न्यायाधीश पाउल डब्ल्यू. आर्मस्ट्रङसहित १३ रोगीहरूकाे हत्या गरेकाे अदालतले ठहर गरेकाे थियाे। क्षमा सम्झौताको पत्रमा कुलेनले अधिकारीहरूसँग सहयोग गर्ने वाचा गरे। अपराधको लागि मृत्युदण्ड अपनाउन तयार भएनन्।

उनले एक महिनापछि न्यू जर्सीमा थप तीन बिरामीको हत्याको लागि दोषी स्वीकार गरे। त्यस्तै सन् २००४ मा कुलेनले एलेनटाउन अदालतमा ६ जना बिरामीहरूलाई मारेकाे र अन्य तीन जनालाई मार्ने प्रयास गरेको स्वीकार गरे। यसैगरी २ मार्च २००६ मा कुलेनलाई न्यू जर्सीमा न्यायाधीश आर्मस्ट्रांगद्वारा आजीवन कारावासको सजाय सुनाइएकाे थियाे। एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-03-22 21:30:00

प्रतिकृया दिनुहोस्