चिया अक्सन सेन्टरका नाममा एक करोड खर्च : सञ्चालनमा ल्याउन नसकेपछि कार्यालय नै बन्द

वार्षिक चार अर्ब विदेशी मुद्रा भित्र्याउने चियाबारे राज्यले बेवास्ता गर्दा अक्सन सेन्टर चल्न नसकेको चिया उद्यमीको आरोप

नयाँ पत्रिका दैनिक

चिरञ्जीवी घिमिरे

चियाको पारदर्शी व्यापारका लागि सरकारले आर्थिक वर्ष ०७१/०७२ को बजेटमा चिया अक्सन सेन्टर सञ्चालन गर्ने घोषणा गर्‍यो । चिया तथा कफी विकास बोर्डले ०७२ मा अक्सन सेन्टर सञ्चालनका लागि चिया उद्यमी सुरेश मित्तलको संयोजकत्वमा ११ सदस्यीय अक्सन कमिटी बनायो । एक वर्षपछि बिर्तामोडमा कार्यालय सञ्चालनका लागि घर पनि भाडामा लिइयो । 

पूर्वाधार तयार, सम्भाव्यता अध्ययनलगायतका लागि राज्यकोषबाट करिब एक करोड रुपैयाँ पनि खर्च भयो । तर, अक्सन सेन्टर भने सञ्चालनमा आउन सकेन । बरु एक वर्ष चलेर भाडाको कार्यालय नै बन्द भयो । अक्सन सेन्टरका कम्प्युटर, फर्निचरलगायत सामग्री अहिले बिर्तामोडमै रहेको चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयमा ल्याइएको बोर्डका क्षेत्रीय प्रमुख इन्द्र अधिकारीले जानकारी दिए । ‘अक्सन कमिटी र बोर्डको कार्यकारी निर्देशकको संयोजकत्वमा नौ सदस्यीय नियामक समितिले निर्देशिका पनि तयार पारेको थियो,’ अक्सन कमिटीका पूर्वसदस्यसचिवसमेत रहेका अधिकारीले नयाँ पत्रिकासँग भने, ‘पूर्वाधार तयार भएको थियो । झन्डै एक करोड खर्च पनि भएको थियो । तर, अक्सन सेन्टर चल्न सकेन ।’ 

प्रकाशित मिति: : 2023-03-16 06:15:00

प्रतिकृया दिनुहोस्