कहाँ अड्कियो ‘बालेन डोजर’ ?

उमेश थापा

काठमाडौं

बालेन्द्र साह काठमाडाैँ महानगर पालिकाकाे मेयरमा निर्वाचित भएकाे एक वर्ष पुग्नै लाग्याे। यसबीचमा उनले विभिन्न आराेह अवराेहकाबीच केही कामकाे थालनी गर्न भ्याए। यसअघिका मेयर विद्यासुन्दर शाक्य भन्दा बालेन्द्र छाेटाे समयमै चर्चामा रहे।

बालेन्द्र निर्वाचित भएपछि फाेहाेर व्यवस्थापनमा केही काम भए भने फुटपाथ व्यवस्थापनका समेत काम भए। मेयर बालेन्द्रले काठमाडाैँकाे फुटपाथ व्यवस्थापनकाे लागि महानगर प्रहरी बलकाे भरपुर प्रयाेग गरे। पहिला फुटपाथ व्यापारीका कारण अस्तव्यस्त देखिने चाेक तथा गल्लीहरु पनि अहिले चिटिक्क देखिन थालेका छन्।

महानगर प्रहरी थापाथलीमा रहेका सुकुम्बासी बस्ती हटाउन गत मंसिर १२ गते डोजर लिएर गयो। डोजर लिएर गएपछि महानगर प्रहरी र सुकुम्बासीहरुबीच ठूलो झडप भयाे। झडपमा ड्युटीमा खटिएका नगर प्रहरीसमेत घाइते भए। महानगर प्रहरी बल प्रमुख एसपी राजुनाथ पाण्डेकाे त टाउकाेमा ठूलै चाेट लाग्यो ।

उनको टाउकोमा सात टाँका लगाएपछि अस्पतालबाट बाहिर निस्केर सञ्चारकर्मीसँग संवाद गर्दै ‘अब हामी सुकुम्बासी बस्ती हटाएरै छाड्छौँ’ भनेका थिए। तर, उनले दाबी गरेको तीन महिना भैसक्सयो, त्यसपछि एउटा सिन्काे पनि भाँचिएकाे छैन।

सुकुम्बासी बस्तीमा मानिसहरु एकजुट भएर बस्छन् ।  त्यसमाथि उनीहरु राजनीतिक दलबाट संरक्षित छन्। त्यसैले उनीहरुलाई व्यवस्थापन गर्नु निक्कै ठुलाे चुनाैति हाे। र, त महानगर निरीह बनेपछि उनीहरु खुसीसाथ बसिरहेका छन्।

राजनीतिक दलको भोट बैंकको रुपमा प्रयोग हुन्छन्, सुकुम्बासीहरु। भोट र कार्यकर्ता चाहिएको बेलामा सुकुम्बासीहरु खाेज्दै हिँड्छन, नेताहरु। चुनावको समयमा नेताहरुले आश्वासन पनि दिने गरेका छन। त्यही फाइदा सुकुम्बासी बस्तीका नाइकेहरुले उठाइरहेका छन्।

सुकुम्बासीहरुलाई सरकारले नार्गजुनमा अपार्टमेन्टकाे व्यवस्था मिलाईदिएकाे छ। तर, उनीहरु जानै मान्दैनन्। उनीहरु राम्राे बस्ने ठाउँ पाउँदापाउँदै पनि निश्चित सम्पत्ति (जग्गा)काे बार्गिनिङ गरेर बसिरहेका छन्।

के वास्तविक सुकुम्बासी छन् भनेर अनुसन्धान गरिरहेकाे छ महानगर ?  कि अरू नै केही चिज भित्रभित्रै पाकिरहेको छ ? आखिर किन स-सानाे कुरामा चुक्दैछ महानगर ?

एसपी पाण्डे भन्छन्,‘हामीलाई निर्देशन मात्र आउनुपर्छ हामी जुनसुकै समयमा पनि सुकुम्बासी बस्ती हटाउन तयार छाैँ। रविजी गृहमन्त्री हुँदा सुकुम्बासी बस्ती व्यवस्थापनकाे लागि केही कदम पनि चालिएका थिए। तर, अहिले पक्रिया कहाँ अड्कियाे पत्ताे छैन।’ उनले मेयर बालेन्द्रले सुकुम्बासी व्यवस्थापनकाे लागि संवाद गरिरहेकाे बताए।

त्यस्तै जिल्ला प्रशासन कार्यालय, काठमाडाैँका सूचना अधिकारी देबी पाण्डे खत्रीले पनि सुकुम्बासी व्यवस्थापन प्रक्रिया गृहमन्त्रालयमा अड्किएकाे बताए।

‘अहिलेसम्म गृहमन्त्रालयबाट लिखितपत्र आएको छैन। सम्पूर्ण पत्र मैले नै हेर्ने हो तर अहिलेसम्म सुकुम्बासी बस्ती हटाउनेबारे कुनै पत्र आएकाे छैन,’ उनले भने।

महानगर प्रहरी बलका सई लोकनाथ चुडाल पनि महानगरले सुकुम्बासी बस्ती व्यवस्थापनकाे लागि पहल गरे पनि माथिल्ला निकायले सहजीकरण नगरिदिएकाे बताउँछन्। ‘काठमाडौँभरिका फुटपाथ व्यापारी हटाएको दिन म मेयर साब'लाई एककिलो फूलको माला लगाइदिन्छु। सुकुम्बासी बस्तीमा पनि उहाँ लागिरहनु भएकाे छ तर माथिल्लाे निकायबाट सहजीकरण हुन सकेन,’ उनले भने।

प्रकाशित मिति: : 2023-03-16 05:00:00

प्रतिकृया दिनुहोस्