विवादमा 'राजेश पायल': के भैरहेछ हाम्रा सेलिब्रेटीलाई ?

नेपालका सेलिब्रेटी गायक राजेश पायल राईकी छोराकी आमा साङबुङ राईले 'छोरालाई तातो पानी खन्याउने पापी बाउ' भनेको स्टाटस सार्वजनिक भएसँगै उनीहरूको विवाह दर्ता भएको काउन्टर समाचार पनि बाहिरिएको छ।

कुनै समय गायक राईकी फ्यान रहेकी साङ्बुङ समयक्रममा उनीसँग यति नजिकिइन् कि गत दशैको महाअष्टमीका दिन छोरो साइरामलाई नै जन्माइ दिइन्।

सँगै बस्दै आएका र छोराकी आमा भैसक्दा पनि राजेशले साङ्बुङसँगको सम्बन्ध र दृश्यलाई लुकाउँदै आएका थिए।  एक किसिमले भन्दा उनले यो सम्बन्धलाई सहजै स्वीकारेका थिएनन्।

आफूलाई अविवाहित हुँ भन्दै नानाभातिका साइनाहरूसँग खेल्दै आएका राजेश पछिल्लो समय भने साङबुङसँगको सम्बन्धलाई साइनोमा बदल्ने  बाध्यतातिर धकेलिए। 

त्यही बाध्यताका फलस्वरूप ४७ वर्षे राजेश पायल राई २३ वर्षीय साङबुङसँग विवाहदर्ता गर्न बाध्य भए।  काठमाडौं महानगरपािलका वडा नम्बर ३१ मा मंसिर २६ गते उनीहरूको विवाह दर्ता भएको छ।

यी दुबै समाचारका बारेमा गायक राईले मौनता साँधे पनि उनको पक्षमा काउन्टर समाचार बाँडिरहेकाहरू भने यसो भनिरहेका छन्- 
- उनीहरूाबीच भदौ १ गते नै सामाजिक परम्पराअनुसार विवाह भएको हो 
- साङबुङले सामाजिक सञ्जाल नै चलाउँदिनन्, त्यो स्टाटस फेक हो 
- उनीहरूबीच सौहाद्रपूर्ण वैवाहिक सम्बन्ध चलिरहेको छ 

तर, साङबुङ निकस्टस्थहरू भने ती सबै कुरामा सहमत छैनन्। साङबुङको गर्भमा सन्तान आएपछि राजेश खुशी थिएनन् र उनले यो साइनोलाई अर्कै किसिमले सक्ने प्रस्ताव गरेका थिए। तर, साङबुङ त्यसका लागि तयार नभएपछि उनीहरूको जीवनमा अनेकौ उतारचढाव आए। अन्तत: गायक राई लिभिङ टुगेरदरमा बस्न र विवाह दर्ता गर्ने अवस्थासम्म पुगे।

साङबुङले मंगलबार फेसबुकमा यो स्टाटस लेखेकी थिइन् । तर, त्यसको केही घण्टापछि नै उनको फेसबुक डिएक्टिबेट भएको थियो । तर, उनको स्टाटसको स्क्रिनसट भने सुरक्षित भएकाले अहिले समाचारको दशी प्रमाण बनेको छ । यो स्टाटसबाट के बुझ्न सकिन्छ भने गायक राई अहिले पनि श्रीमती साङबु्ङ र छोरा साइराममाथि अत्याचार गरिरहेका छन् ।

राजेश नेपाली सुगम संगीतका एक उम्दा गायक हुन्, एक सेलिब्रेटी गायक हुन्। उनीबाट समाजले त एक आदर्श व्यवहार अपेक्षा गरेको हुन्छ भने श्रीमती र छोराले त्यस्तो व्यवहार अपेक्षा गर्नु उनीहरूको हक नै बन्छ। त्यसैले राजेशले यस्तो व्यवहार गरेका हुन् भने त्यसबाट उनी सच्चिनु नै सबैको पक्षमा हितकर हुन्छ। 

यो एक सम्वेदनशील विषय हो, पक्ष-विपक्षमा समाचार बनाइरहने विषय होइन। अझ, एकजना सानो दुधमुखे वालक समेत विषयवस्तु हुने यस्ता समाचार भाइरहल हुने विषय नै हैनन्।

केही समययता नेपालका सेलिब्रेटीहरूमा एकपछि अर्को गरेर महिला संवेदनशीलता हराउँदै गएको छ। पल शाह, सन्दीप लामिछाने हुँदै अगाडि बढेको यो श्रृङ्खला राजेश पायल राईसम्म आइपुगेको छ। यस्तो प्रवृति जन्माउनका लागि सेलिब्रेटीहरू जिम्मेबार भए पनि यसलाई हुर्काउन हाम्रो समाज र न्यायपालिका पनि जिम्मेवार देखिएको छ।

एउटा भनाइ छ,जुन समाजमा नारीको इज्जत हुँदैन, त्यो समाजलाई सभ्य भन्न सकिदैन। अत: नेपाली समाजलाई सभ्य बनाउन सेलिब्रेटी र उनीहरूका क्रेजी फ्यान पनि काबुमा आउनुपर्छ।

प्रकाशित मिति: : 2023-03-08 23:45:00

प्रतिकृया दिनुहोस्