...त्यसपछि म मान्छे रहिनँ

नवीन शर्मा

काठमाडौं

त्यसपूर्व म एउटा आम मान्छे थिएँ
म बसिरहेको सेरोफेरो आम मान्छेको थियो
मेरो नाम मेरा बाबु आमासँग जोडिन्थ्यो निर्धक्कले
दाजु भाइ र आफ्नाहरुसँग कति सजिलो नाता थियो

मेरी श्रीमती र सन्तान पनि आम मान्छेका थिए
मेरो अभिव्यक्ति र भावना
मेरो अनुभूती र संवेदना
मेरो प्रेम र सद्भाव पनि आम मान्छेका थिए

कसैप्रतिको मेरो व्यवहार
मैले गरिरहेको गल्ती पनि थियो आम मान्छेको

मेरो हरेक उपस्थिति कति सहज थियो
हरेक अनुपस्थिति कति सहज थियो
सामान्य लिन्थे मान्छेहरु
मैले बोलेको जस्तोसुकै कुरा पनि
साथी सगोत्रीहरु कहिल्यै गरेनन् नजर अन्दाज

मातेर हिँडोस् कि तातेर हिँडोस्
बोल्दै हिँडोस् कि खोक्दै
ठट्टा मजाक गरोस् कि चिँडिदै हिँडोस्
अँह, कसैलाई वास्तै हुने थिएन

एकाएक सबै कुराहरु फेरिए
भूमिका फेरियो
परिचय फेरियो
नाता र सम्बन्धहरु फेरिए
प्रेम र संवेदनाहरु आम मान्छेका रहेनन्
आम मान्छेले बाँचेको समय फेरियो एकाएक
जब म प्रहरी भएँ
त्यसपछि म मान्छे रहिनँ।

प्रकाशित मिति: : 2023-03-04 17:27:00

प्रतिकृया दिनुहोस्