हजार वर्षमा पनि हाम्रो देश नेपाल स्वीट्जरल्याण्ड जस्ताे बन्दैन हाेला !
चर्चित नेपाली आरोही सानु शेर्पा (४७ वर्ष) गत जनवरीको तेस्रो हप्ता स्वीट्जरल्याण्ड भ्रमणमा गएका थिए। उनको यो पहिलो युरोप भ्रमण हो। यसभन्दा अघि उनी एसियाली मुलुकका कोरिया, चीन, पाकिस्तान, भारतलगायत देश भ्रमण गरिसकेका थिए।
विश्वका ८ हजार मिटर माथिका १४ वटा हिमाल दुई पटक (दाेहाेराे) आरोहण गर्दै विश्व कीर्तिमान राखेका विश्वप्रसिद्ध आरोही हुन्, सानु शेर्पा। उनी भर्खरै मात्रै स्वीट्जरल्याण्ड दुई हप्ता बिताएर फर्केका छन्। यसै सिलसिलामा सानुले आफ्नो युरोप घुमफिरको अनुभव बिएल नेपाली सेवासँग साटेका छन्ः
जनवरी २३ को दिन स्वीट्जरल्याण्डस्थित ‘आसोचियाजियोलने मानि पेर इल नेपाल’ भन्ने संस्थाको निम्तोमा दावा शेर्पा, उनकी श्रीमती निमा र म युरोप भ्रमण गएका थियाैँ। दावा मकालु आउटफिट र टिचिनो ट्रेकिङ कम्पनीका सञ्चालक पनि हुन। ऊ धेरै पटक स्वीट्जरल्याण्ड गएको हो, मेरो पहिलोचोटी युरोप भ्रमण हो।
७० वर्षको स्वीस नागरिक दानिएले फोलेत्ती ‘मानि पेर ईल नेपाल’ अध्यक्ष हुन। उनी धेरै पटक नेपाल आएका छन। अनि, नेपाललाई धेरै मन पराउने सामाजसेवी पनि हुन। उनले मानि पेर ईल नेपाल संस्थामार्फत नेपालका दुर्गम गाउँमा पुल, धारा निर्माण, शिक्षालगायतमा मकालु क्षेत्रमा संस्थाका माध्यमद्वारा सामाजिक सेवा गरेका छन्। उनले धेरै सहयोग गरेका छन्।
जनवरी २३ मा काठमाडाैँस्थित त्रिभुवन विमानस्थलबाट कतार एयरलाइन चढेर हामी करिब ४:३० घण्टामा दोहा पुग्यो। त्यहाँबाट ५:३० घण्टाको फ्लाइटमा इटालीको मिलानो सहरमा अवतरण भयो।
अहो ! कति राम्रो सहर रहेछ मिलानो। मिलानो सिटीबाट कारमा हाम्रो यात्रा स्वीट्जरल्याण्डतिर अघि बढ्यो।
बिचमा इटाली र स्वीट्जरल्याण्ड बाेर्डर (सीमा) पार गरियाे। सिमानामा कुनै पुलिस र चेकपोस्ट देखेन। स्वीटजरल्याण्डको भूगोल पुग्ने बित्तिकै बाटो झन सफा, सुन्दर र चौडा। नेपालजस्तै डाँडाकाँडा रहेछ। तर, डाँडा भने नेपालभन्दा स्यानो-स्यानो। छपक्कै हिउँले ढाकेका डाँडा, हिमालजस्तो देखिने रहेछ। करिब २ घण्टाको यात्रामा हामी लुगानो भन्ने सहरमा पुग्यो।
हामी पुग्ने बित्तिकै हाम्रो टाइम टेबल एकदम विजी भयो। बिहानै ब्रेक्फासट खाएदेखि बेलुकासम्म भेटघाट र घुमघाममा बित्यो। हामीलाई स्पोन्सर गर्ने स्वीस नागरिक र पत्रकारसँग गफ गर्ने, खाने, पिउनेमा दिन बित्यो। एक-देड सय जना हलमा जम्मा हुने, मैले नेपालबारे विशेषगरी हिमालको कुरा भन्यो।
उनीहरुले खुब ध्यान दिएर मेरो कुरा सुन्यो। मेरो गाउँको जीवन, गोठालादेखि हिमाल यात्रा। ‘हिमालको काममा कसरी लाग्यो ?, कसरी छोटो समयमा ८ हजार मिटर हिमाल चढ्न मौका मिल्यो ?’ भन्ने उनीहरुको प्रश्न हुन्थ्यो। माउन्टेनबारे कत्ति धेरै कुराहरु सोधे।
हिमाल कसरी चढ्छ, के खान्छ, हाई अल्टिच्युट बिमार, हिमाल चढ्न कत्तिको गार्हो हुन्छ ? यस्तै कुराहरु हुन्थ्यो।
मैले सन २०२२ (एकै वर्ष)मा थुप्रो हिमाल चढेको कथा सुनाएँ। उनीहरु दंग परे। कञ्चनजंगा, ल्होत्से, मकालु हिमाल स्प्रिङ सिजनमा चढ्यो। लगत्तै समरमा पाकिस्तानको नाङगा पर्वत, गेशेब्रुम- २ (१४ वटा ८ हजार मिटरको हिमाल २ पटक चढेको रिकर्ड) सुनाएँ। त्यसपछि नेपालमा मनास्लु पाँच दिनमा दुई पटक चढेको तर धौलागिरी र चोयु मौसम खराब भएकोले चढ्न पाएनँ। यो कथा सुनाउँदा सबै जना अच्चम्म भएर सुने। ‘तिमिले कसरी एक वर्षमा यति धेरै हिमाल चढ्न सकेको ?’ पत्रकार र सहभागीहरुले सोध्यो। धेरै स्वीसका मान्छेहरुले नेपालबारे चासो राख्यो। उनीहरुले नेपाल घुम्न इच्छा पनि राखेको छ।
त्यसपछि हामी लुरेर्नो भन्ने ठुलो सहरमा चार घण्टा ड्राइभमा पुगियाे। यो सहरमा धेरै टुरिस्टहरु भिजिट गर्ने रहेछ। त्यहाँ हामीलाई स्वीस साथीहरुले इतिहास भएको धेरै ठुलो म्युजियम देखाउनुभयो।
हाम्रो आर्को गन्तव्य लुकार्नो सहर। त्यहाँ पुग्न ठुलो पोखरीजस्तै तालमा हामी चढेको कार डुङ्गाबाट तार्यो। नदीजस्तो देखिए पनि ठुलो ताल पो रहेछ !
खेतीपाती गरेको पनि केही देखेन मैले। खाली मार्केट र सपिङ मल र रेस्टुरेन्ट मात्रै। अन्नवाली, सागसब्जी उब्जेको देखेन, कताबाट ल्याउँछ होला ? म त सोचिरहेँ। मार्केटमा सागसब्जी सबै पाइने। कतबाट ल्यायो होला ? रेस्टुरेन्टमा वेकरी र पिज्जा धेरै पाउने। वियर र रक्सी पनि। तर, धेरै मातेर हिँडेको मान्छे कतै देखेन मैले।
स्वीस मान्छे एकदम कम बोल्ने, धेरै सुन्ने बानी रहेछ। उनीहरुमा ढाँट-छल छैन। मैले सुनेको स्वीस मान्छे एक दुई पटक झगडा गर्यो भने जिन्दगीभर बोल्दैन रे। तर, मान्छेहरु एकदम राम्रो लाग्यो। उनीहरु धेरै काम गर्ने, बाटोमा विना कामको मान्छे देखेन। सबै काममा विजी। मैले सुनेको त्यहाँ सबै जनाले काम गर्नपर्छ। कत्ति महंगो सबै कुरा- खान, बस्न अनि किनमेल। उनीहरु जे कुरा पनि प्लान र टाइम टेबलअनुसार फलो गर्ने रहेछ।
त्यो सोच्दाखेरि, हामी कति भाग्यमानी। यहाँ त म एकजनाले काम गरेर ७-८ जनाको परिवार खान पुग्छ। म जस्तो मान्छे त यस्तो ठाउँमा कसरी बस्न सक्छ होला, मनमनै सोचेँ।
प्राय: खानामा पाउरोटी (कडा खाले) जाम, हनी, बटर, भेजिटेवल, सलादजस्तै खानेकुरा। बेलुकीतिर अलिकति वाइन पिउने बानी।
ट्राफिक पुलिस कतै देखेन। गाडीको स्पीड धेरै भयो भने क्यामेराले फोटो खिच्ने, सिधै फाइन (जरिवाना रकम) घरमा पुग्ने। कस्तो राम्रो सिस्टम रहेछ।
स्वीट्जरल्याण्डमा गधाको मासु र ढिडो पनि खायो। मेरो साथीले भारी बोक्ने भनेर मन परेन। तर, मासु खाने गधालाई भारी बाेकाउँदैन रहेछ। स्पेसल्ली मासु खान पालेको हुने रहेछ। खच्चरको मासु चाहिँ चिनमा खाएको थिएँ।
हामीलाई जुन घरमा बाेलायो, त्यहाँको मान्छेले आफ्नो बाबा-आमाको चिहान देखाउन लगे। प्रत्येकको चिहान चिल्लो सिमेन्टले बनाएको, जन्मदेखि मृत्युको विवरण राखेको। चिहान पनि कति सफा राखेको।
स्वीट्जरल्याण्डमा हामीले ठुलो मान्छे पनि भेट गर्यो। २-३ जना पुलिसले गाइड गर्यो। उनीहरुको पाहुनलाई सत्कार गर्ने तरिका देखेर म निकै प्रभावित भएँ।
टिचिनो सहरमा हाम्रो बसाइँ निकै राम्रो भयो। हामीले धेरै ठाउँहरू भ्रमण गरियो। लुचेर्नो अन्तर्राष्ट्रिय यातायातको संग्रहालय, अन्तर्राष्ट्रिय कपडा ब्राण्ड केन्द्र जुरिच, एयरोलो, एसएटी रिटोमको पावर प्लान्ट, विशिष्ट र पुरातन पुलहरू, ला क्वेस्टुरा डि लुगानो, दम्कल, केन्द्रीय कार्डियो अस्पताल, फोजोरिनाको भ्रमण गराउनुभयो।
मलाई हेलिकप्टरबाट सहर घुमायो। ताल, पहाड र सहर सबै हेलिबाट टुर गराउँदा निकै मज्जा लाग्यो, आश्चर्य पनि। हाम्रो भ्रमणमा ‘मानि पेर ईल नेपाल’ अध्यक्ष दानिएले फोलेत्ती र संस्थाका सचिव लाराले साथ दिएका थिए।
यो बसाइँमा मलाई स्वीस वाच कम्पनी यु–बोटको ब्राण्ड एम्बेसेडर पनि बनायो। पाँच वर्षको लागि एग्रिमेन्ट भयो। एउटा घडी मलाई गिफ्ट पनि दियो। यो घडी लगाउँदा गरुङ्गो रहेछ। १०० वर्षमा पनि बिग्रदैन रे। २०० मिटर पानीभित्र केही हुँदैन। यसको दाम कति हो सोधेको, २१०० सय जति स्वीस फ्र्यांक (२ लाख ९५ हजार जति)। स्वीसको पैसा पनि ठुलो हुने रहेछ। कम्पनीको डाइरेक्टरले लिमिटेड एडिसनको मेरो नाम लेखेको ब्राण्डमा घडी बनाउने भनेको छ।
एकदिन हामी ४० जना जत्तिको टोली करिब दुई घण्टाको हाइकिङ गर्ने मौका मिल्यो। हाइकिङ गर्ने बिचमा लञ्च खाने घर थियो। त्यहाँ भाँडाकुँडा सबै पकाउने चिजहरु थियो। खानेकुरा जति हाइकिङ गर्ने मान्छेले बाेकेर लगेको थियो। त्यहाँ भएको सामान सबै प्रयोग गरेपछि, सफा गरेर त्यही ठाउँमा राख्ने रहेछ। फेरि अरुले पनि त्यही भाँडा प्रयोग गर्ने रहेछ।
स्वीस मान्छे इटाली, फ्रेन्च, जर्मन र रोमान्स बोल्ने। अंग्रेजी भाषा त त्यत्ति नबोल्दो रहेछ। पत्रकारले बोलेको अंग्रेजी भाषा त मैले पनि बुझेँ, अनि अंग्रेजीमै जवाफ दिएँ।
हामी धेरै ठाउँ घुम्यो। कति ठाउँको नाम पनि बिर्सियो। मलाई स्वीस साथीहरुले गल्बन्दी, टोपी, व्हिस्की, वाइन, चिज, चक्लेटको गिफ्त धेरै दियो। व्हिस्की चाहिँ हाम्रो एयरपोर्टमा समात्छ भनेर उतै छोडेँ।
घरहरु प्राय: एकनासको, २-३ तला मात्र। किचन, वाथरुम, वेडरुम, लिभिङ रुम अलग। बाटो/घाटो एकदम सफा। हामीले छोयो भने मैला लाग्ने जस्तो। वियर घर-घरमा बनाउने। फोहोर/मैला कतै पनि देखेनँ।
बाटाहरुमा खाल्डाखुल्डी कतै देखेनँ। त्यहाँको विकास देख्दा सपनाजस्तो लाग्यो। यिनीहरुको बुद्धि कहाँबाट आयो होला ? कति सभ्य मान्छे र समृद्ध देश। फर्केर हेर्दा आफ्नो देश किन विकास नभएको होला भनेर अलमल्ल पर्छु। निकै गहिरिएर सोच्छु। प्रकृतिले त नेपालमा सबथोक दिएको छ। हिमाल, पहाड, डाँडा, खोला, नाला, समथल भू-भाग, सबथोक छ। मात्रै विकास छैन।
‘अहो ! स्वीट्जरल्याण्डजस्तो विकास हाम्रो देश नेपाल त १ हजार वर्षमा पनि पुग्दैन होला,’ म सोचेँ।
हाम्रो प्रधानमन्त्री प्रचण्डले नेपाल स्वीट्जरल्याण्डजस्तो बनाउँछ भनेको झट्ट सम्झेँ। कसरी बनाउँछ होला भनेर म त छक्क परेँ।
स्वीट्जरल्याण्डबाट फर्केको पनि दुई हप्ता जति भइसक्यो। कहिले काहीँ त्यहाँको विकासकाे सम्झनामा डुब्छु र फेरि सोच्छु, हाम्रो देश त हजार वर्षमा पनि स्वीट्जरल्याण्डजस्तो बन्दैन होला !
अन्तमा, मैले स्वीट्जरल्याण्ड देश धेरै सुन्दर र विकसित पाएँ। यो मेरो कल्पनाभन्दा बाहिर थियो। मैले त्यहाँ बिताएका प्रत्येक दिन साँच्चै अविस्मरणीय रह्यो। मैले त्यहाँ धेरै रमाइलो गरेँ र म खुसी छु कि मैले एकदिन नि:शुल्क हेलिकप्टर भ्रमण गरायो।
स्वीसको ठुलो हस्पिटलमा अनुभवी डाक्टरको टोलीले मेरो सम्पूर्ण शरीर जाँच गरे। रिपोर्ट देखेर मेरो स्वस्थ्य अवस्था एकदाम ठिक छ भन्नुभयो। मैले त्यहाँ कति धेरै रमाइलो गरेँ भन्ने शब्दकोषमा व्याख्या गर्न सक्दिनँ।
हामीलाई युरोप भ्रमणमा इन्भाइट (निमन्त्रणा) गर्ने दानिएले फोलेत्ती, लारालगायत स्वीट्जरल्याण्ड घुम्न सहयोग गर्ने सबै स्वीस मित्रहरुलालाई मेरो धेरै-धेरै धन्यावाद। मौका मिल्यो भने फेरि स्वीट्जरल्याण्ड भ्रमण गर्नेछु।