वेश्यावृत्तिमा लगाउन युगान्डादेखि काठमाडौं ल्याइन्छन् युवती

काठमाडौंका होटेलमा वेश्यावृत्तिमा संलग्न युगान्डाका ६ युवती फेला परेका छन् । अफ्रिकी मुलुक युगान्डादेखि युवती ल्याउने २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाम्बसेम्बा पक्राउ परेपछि उनले युगान्डाका युवती काठमाडौंसम्म ल्याएर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंका होटेलमा वेश्यावृत्तिमा युगान्डाका ६ जना युवती संलग्न भएको भेटिएको जनाएको छ । जबर्जस्ती वेश्यावृत्तिमा लगाइएकी युगान्डाकै एक युवतीले जाहेरी दिएपछि प्रहरीले नतासालाई पक्राउ गरेको हो । अन्यले भने प्रहरीमा जाहेरी दिएका छैनन् । ब्युरो प्रमुख एसएसपी जीवन श्रेष्ठले काठमाडौंमा वेश्यावृत्तिमा लगाउन युगान्डादेखि युवती ल्याउने गरिएको भेटिएको बताए । ‘काठमाडौंका होटेलमा युगान्डादेखि युवती ल्याउने गरिएको भेटिएको छ । सो कार्यमा संलग्न एकजना पक्राउ परेका छन् । उनीविरुद्ध एक पीडितले जाहेरी दिएकी छिन् । सम्पर्कमा रहेका अन्यले भने जाहेरी दिएका छैनन् । अनुसन्धान हुँदै छ,’ उनले भने ।

प्रकाशित मिति: : 2023-03-03 10:16:00

प्रतिकृया दिनुहोस्