पाठ्यपुस्तक नपुगेपछि जुम्लाकाे शैक्षिकसत्र वैशाख १ देखि

BreaknLinks
BreaknLinks

विगतका वर्षहरुमा फागुन १ गतेदेखि सुरु हुने शैक्षिकसत्र याे वर्ष वैशाख एकदेखि सुरु हुने भएको छ।

बुधबार आठवटै पालिकाका शिक्षा प्रमुखहरुकाे बैठक बसेर वैशाख एकदेखि नै शैक्षिकसत्र सुरु गर्ने निर्णय भएकाे जुम्लाका शिक्षा विकास तथा समन्वय एकाई प्रमुख मक्कर भण्डारीले बताए।

'याे वर्ष मन्त्रालय र विभागकाे निर्देशन आएकाे हुनाले नयाँ शैक्षिकसत्र वैशाख १ देखि नै सुरु गर्ने निर्णय गरेका हाैं,' उनले भने, 'नयाँ पाठ्यपुस्तक समेत आइनसकेको हुँदा हामीसँग अर्काे विकल्प छैन।'

पुस १० गतेपछि माघ २५ सम्म हुने मीन पचासकाे बिदा सकिएलगत्तै नयाँ शैक्षिकसत्र सुरु हुने भएकाे जुम्लालगायत हिमाली जिल्लाहरुमा याे वर्ष मन्त्रालय र विभागकाे परिपत्रकाे आधारमा वैशाख १ गतेदेखि नै शैक्षिकसत्र सुरु हुने भएकाे हाे।

यसअघि जुम्लाकाे हिमा गाउँपालिकाले विभागकाे परिपत्र नमान्ने निर्णय गरेकाे थियाे। सबै विद्यालयका हेडमास्टर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुकाे राय लिँदा माघ २५ गतेबाट शैक्षिकसत्रबाट नै उपयुक्त  हुने राय आएपछि निर्णय गरेकाे हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले जानकारी बताए।

हिमाले शैक्षिकसत्र माघबाट सुरु गर्ने भनेपनि पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या आउला भनी वैशाख १ बाट नै शैक्षिकसत्र सुरु गर्ने विषयमा छलफल भएकाे समन्वय प्रमुख भण्डारीले बताए।

उनले भने, 'याे वर्ष हामीले पाठ्यपुस्तक चैत १५ सम्म मात्रै पाउने हुनाले शैक्षिकसत्र वैशाख एकदेखि उपयुक्त हुने ठानेर सबैकाे एक मत भएकाे हाे।'

सरकारले देशभरका सबै विद्यालयमा वैशाख एक गतेदेखि नै नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने भनेकाे हुनाले त्यसमा तलमाथि गर्न नहुने शिक्षा मन्त्रालयका सहसचिव दिपक शर्माले बताए।

'शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संशाधन विकास केन्द्रले ०७९ माघ ६ गते देशभरका विद्यालयहरुलाई २०८० सालकाे शैक्षिकसत्र वैशाख १ गतेदेखि लागू गर्न निर्देशन दिएकाे छ,' उनले भने, 'काेभिडका कारण प्रभावित भएकाे शैक्षिकसत्र मिलानका लागि याे निर्णय गरिएकाे हाे। वैशाख १ सम्म देशभर पाठ्यपुस्तक पुग्छ।'

उनका अनुसार पहिलाे पल्टकाे काेभिडले असाेजसम्म पढाइ बाधा हुँदा शैक्षिकसत्र सारेर असारमा पुर्याउनु परेकाे थियाे। त्यसैगरी दास्राेपल्ट जेठमा र यतिबेला वैशाखमा गरी मिलान गर्ने काेसिस गरिएकाे छ।

'हामीले यसरी मिलाउँदै ल्याएकाे हुनाले आगामी वर्षहरुमा हिमाली जिल्लाहरुमा फागुन १ देखि नै शैक्षिकसत्र सञ्चालनमा समस्या नआउला,' सहसचिव शर्माले भने, 'काेर्स पूरा नभई परीक्षा लिने र शैक्षिकसत्र सञ्चालन गर्ने कुरा व्यवहारिक हुन्न।'

विद्यालयमा एउटा काेर्स पूरा गर्न एक सय साठी पाठ्य घण्टा पढाइ भएकाे हुनुपर्ने हुन्छ।

कर्णालीमा समयमै पाठ्यपुस्तक पठाउन नसक्ने हुनाले आलोचनाबाट जाेगिन देशभरकाे शैक्षिकसत्र एउटै बनाउन खाेजिएकाे त हाेइन? भन्ने बिएल नेपाली सेवाकाे प्रश्नकाे उत्तर दिँदै शिक्षा विभागका निर्देशक चुडामणी पाैडेलले भने, 'एक वर्ष पछाडि याे प्रश्न गर्दा जायज हुन्थ्याे। तर अहिले यसकाे एउटै मात्र जवाफ छ, काेभिडका कारण विथाेलिएकाे पठनपाठन व्यवस्थापन गर्नुछ।'

प्रकाशित मिति: : 2023-03-02 12:51:00

प्रतिकृया दिनुहोस्