पाठ्यपुस्तक सधैंकाे पिराेलाे

हिमाली जिल्लामा फागुन १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु हुन्छ। वार्षिक परीक्षा सकेर पुस १० गतेदेखि माघ अन्तिमसम्म मिन पचासकाे बिदा लगत्तै विद्यालय भर्ना अभियान र पठनपाठन सुरु हुन्छ। तर, यतिबेला हिमाली जिल्लाका विद्यालयहरुमा पठनपाठनकाे निम्ति पाठ्यपुस्तक पुगिसकेका छैनन्।

फागुन एक गतेदेखि नै नयाँ कक्षा संचालन गरिएकाे भएपनि पाठ्यपुस्तक नपाउँदा समस्या भएकाे नेत्रज्योति मावि हाँकुका प्रअ जाजाेलेराज न्याैपानेले बताए।

‘हामीले स्टेसनरीलाई समयमै पाठ्यपुस्तक ल्याइदिन भनेका थियौं तर नपाएकाे भन्ने जवाफ दिएपछि पठनपाठनमा समस्या भइरहेको छ,’ उनले भने,‘अहिले पुराना पाठ्यपुस्तकबाट काम चलाइरहेका छाैं।’

हिमाली जिल्लाका धेरैजसो स्कुलले पठनपाठन सुरु गरेका छन् भने पठनपाठनका निम्ति पुराना पाठ्यपुस्तकले काम चलाएका छन्।

तर, आठ र १० कक्षाकाे पाठ्यक्रम परिवर्तन भएकाे हुँदा समस्या भएकाे रत्नचूडेश्वर माविका प्रअ कृष्णबहादुर राेकायाले बताए।

उनले भने,‘हामीले पनि पुराना पाठ्यपुस्तकबाटै काम चलाएका छाैं। तर, काेर्ष फेरिएका कक्षाकाे लागि निकै समस्या भइरहेकाे छ।’

हरेक वर्ष शैक्षिकसत्र सुरु भएको दुई-तीन महिनासम्म पाठ्यपुस्तक नपुग्दा पठनपाठन सधैँ प्रभावित हुने गरेको छ। पाठ्यपुस्तक अभाव हरेक वर्ष समस्याको विषय हुने जनता मावि महतगाउँका प्रधानाध्यापक हरिकृष्ण महतले बताए।

याे विषयलाई जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले संसदमा समेत उठाए।

‘मतपत्र समयमै पुग्ने कर्णालीमा पाठ्यपुस्तक किन पुग्दैन ?’ उनले सभामुख शिक्षा मन्त्रालय, विभागकाे ध्यानाकर्षण गराउँदै भने, ‘कर्णालीलाई हात खुट्टा बाँधेर प्रतिस्पर्धामा आउ भन्नू एउटा भूगाेललाई अगाडि बड्न नदिने प्रपञ्च हाे।’

विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपर्दा पठनपाठनमा समस्या भएको पातारासी गाउँपालिका- ७ रिनी गाउँस्थित सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सरिता रोकायाकाे गुनासो छ।

‘हरेक वर्ष यस्तै समस्या भोग्नुपरेको छ,’ उनले भनिन्, ‘तर सरोकारवाला निकाय बेखरझैँ हुन्छन्।’

आगामी चैतमा एसईई परीक्षा दिने तयारी गरेर बसेकी तातोपानी गाउँपालिका- २ की अनिता परियारले आफूसँग ऐच्छिक विषयकाे पाठ्यपुस्तक नभएकाे  बताइन्।

‘परीक्षा आउन एक महिनामात्र बाँकी रहँदा हातमा सबै किताब छैनन्। गत मंसिरकाे परीक्षा पनि पाठ्यपुस्तक बिना नै दियाैं,’ उनले भनिन्, ‘आधारभूतदेखि मावि तह अध्ययनको नौं, दस वर्षसम्म कहिल्यै पनि पाठ्यपुस्तक सजिलोसँग पाइएन।’

जुम्लाका सामुदायिक विद्यालयमा ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जुम्लाको सिंजा भेगमा पाठ्यपुस्तक विक्रेता दीपेन्द्र उपाध्यायकाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुर्खेतले पुस्तक दिन मानेको छैन। जुम्ला क्षेत्रका पुस्तक विक्रेता जिपी स्टेसनरीका गणेश राेकायाकाे भनाइ पनि उस्तै छ।

केन्द्रीय कार्यालयबाट बिक्रीको अनुमति नआएको भन्दै सुर्खेत कार्यालयले पाठ्यपुस्तक नदिएको उनीहरुले बताए।

जनक शिक्षाको सुर्खेत कार्यालयकै कारण पुस्तक अभाव भएको जिपी स्टेसनरीका रोकायाको दाबी छ।

लामो समयदेखि जुम्लामा पाठ्यपुस्तक बिक्री-वितरण गर्दै आएका उनले भने,‘फागुन पहिलो सातामै पाठ्यपुस्तक जुम्ला पुग्नुपर्ने हो। हामीले पनि पाठ्यपुस्तक ल्याउन प्रयास गरेका हौं। तर, जनक शिक्षा सामग्रीले दिन मानेको छैन।’

शिक्षा समन्वय इकाइ प्रमुख मक्कर भण्डारीकाअनुसार जुम्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ। तर, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले देशभर वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने सार्वजनिक सूचना जारी गरेको छ। यसले गर्दा हिमाली जिल्लाका विद्यार्थी प्रभावित हुने उनकाे बुझाइ छ।

उनले भने,‘यता स्कुल खुलिसकेका छन्। तर, पाठ्यपुस्तक आउने टुंगो लागिसकेको छैन।’

सरकारले देशभरका सबै विद्यालयमा वैशाख एक गतेदेखि नै नयाँ शैक्षिकसत्र संचालन गर्ने भनेकाे हुनाले अहिले पाठ्यपुस्तक छपाइकाे काम भइरहेको शिक्षा मन्त्रालयका सह-सचिव दीपक शर्माले बताए।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संसाधन विकास केन्द्रले ०७९ माघ ६ गते देशभरका विद्यालयहरुलाई २०८० सालकाे शैक्षिकसत्र वैशाख १ गतेदेखि लागू गर्न निर्देशन दिएकाे छ,’ उनले भने, ‘काेभिडका कारण प्रभावित भएकाे शैक्षिकसत्र मिलानका लागि याे निर्णय गरिएकाे हाे। वैशाख १ सम्म देशभर पाठ्यपुस्तक पुग्छ।’

प्रकाशित मिति: : 2023-02-26 21:00:00

प्रतिकृया दिनुहोस्