आउँदो शनिबार गणतन्त्र नेपालले तेस्रो राष्ट्रपतिको उम्मेदवार पाउने छ। अहिले सिंगो मुलुकको ध्यान त्यतैतिर तानिएको छ। तर, आज मंगलबार भइसक्दा पनि को–को राष्ट्रपतिको लागि उम्मेदवार हुन्छन् र को निर्वाचित हुन्छन्?, त्यसको प्रष्ट चित्र छैन। अनुमानको खेतीमा केही सम्भावित नामको बाली लगाउने मिडिया ट्रायल भने जारी छ।
राष्ट्रपति कसलाई बनाउने भन्ने ट्रमकार्ड माओवादी अध्यक्ष प्रचण्डसँग छ। सात हजार ६४९ मतभार रहेको माओवादीले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउन नसके पनि एमाले वा कांग्रेसको उम्मेदवार जिताउन त्यो मत निर्णायक रहेको बुझेको छ।
त्यही महत्व बुझेका प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवारको पासा फालेर आफ्नो शक्ति आर्जन गर्ने कसरतमा छन्। एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालाई पनि त्यसको महत्व राम्ररी थाहा छ।
ओलीको निरन्तर बालुवाटार यात्रा र प्रचण्डप्रतिको नरम बोली त्यसैको परिणति हो। देउवाले त अझ अगाडि बढेर कांग्रेस शीर्षनेताहरूको बटालियन नै बालुवाटारमा उतारिसकेका छन्।
ओली–प्रचण्ड मिलेर कार्यपालिका र व्यवस्थापिकाको प्रमुख बाँडे, राष्ट्रपतिको पद लिने बेलामा एउटाको पोल्टामा बढी शक्ति जाने भयो भन्ने चिन्ता एकअर्कोलाई हो। यो चिन्ताको समाधान गर्न यी दुई नेता सहमत भए भने कुरै सकिगो, सहमत भएनन् भने प्रचण्ड र देउवा मिलेर राष्ट्रपतिको निर्णय गर्छन्।
सात दलीय सत्ता गठबन्धन भनिए पनि त्यो बन्धन खुकुलो हुँदैछ। गठबन्धनको पहिलो दल एमाले अध्यक्ष ओलीले गठबन्धनको तेस्रो दल रास्वपा र चौथो दल राप्रपासँग हल बाँधेर बालुवाटार पुगेर राष्ट्रपतिमा एमाले उम्मेदवारको पक्षमा जोडबल गरे पनि प्रचण्ड पटक्कै गलिरहेका छैनन्। उनी राष्ट्रिय सहमतिको राष्ट्रपतिकै पक्षमा सत्तिसालझै उभिरहेको जस्तो देखिएको छ।
प्रचण्डको यो चट्टानी अडानका कारण ओलीले गोजीमा राखिसकेको राष्ट्रपति उम्मेदवारको नाम बाहिर ल्याउन सकिरहेका छैनन्। उनलाई थाहा छ, जुन नाम उनको गोजीमा छ, त्यो नाम प्रचण्डका लागि प्रिय छैन र त्यो नाम लिनेबित्तिकै उनी बिच्कने छन्। त्यसपछि पुस १० गते एक शकुनी दाउमार्फत आफ्नो पक्षमा पल्टाएको सत्ताको पासा अर्कोपट्टि पल्टिनेछ र सत्ताको खेल खतम हुन्छ।
यो स्थिति बुझेका ओली राष्ट्रपति उम्मेदवारको नाम उम्मेदवारी दिने दिन पुस १३ गते नै सार्वजनिक गर्ने बताइरहेका छन्। उनको यो चालले प्रचण्ड आशंकित छन् र यहीबीचमा पार्टी पदाधिकारीको बैठकमार्फत केही अप्रत्यासित निर्णय गर्ने दिशातिर धकेलिएका छन्। यसका लागि कांग्रेस सभापति देउवाले पटक्कै ढिलाइ नगर्न दबाब बढाएका छन्। कांग्रेसका शीर्षनेतासहितको पछिल्लो बालुवाटार बैठक पहिलाकै पाँचदलीय गठबन्धन बढी प्राकृतिक हुने निष्कर्षमा पुग्नु पनि त्यसैको परिणाम हो।
रणनीति फेर्न दबाबमा ओली
यो पछिल्लो परिस्थितिले ओली चर्को दबाबमा धकेलिएका छन्। शायद, अब उनी मनमौजी किसिमले गोजीको राष्ट्रपतिको नाम बाहिर ल्याउन सक्ने अवस्थामा हुँदैनन्। सम्भवतः अब उनी आफ्नो जोजोम्यानलाई राष्ट्रपति बनाउने अडानबाट पछि हटेर पार्टीमा अलि बढी स्वीकार्य नामको पासा फाल्न सक्छन्। त्यो स्थितिले पनि माओवादीलाई कांग्रेसको पक्षमा जानबाट रोक्न नसके उनी माओवादीलाई पनि स्वीकार्य वामपन्थी व्यक्तित्व अगाडि सार्ने स्थितिमा पुग्न सक्छन्। त्यो स्थितिमा नेकपा एकीकृत समाजवादीका कुनै शीर्षनेतालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउनु बढी बुद्धिमानी हुने देखिन्छ।
ओलीका लागि सबैभन्दा बढी बुद्धिमानी निर्णय त एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नै राष्ट्रपति उम्मेदवार बनाउनु हुनेछ। यसो गर्न सके एमाले र एकीकृत समाजवादीबीचको तिक्तता घट्दै अन्ततः पार्टी एकताको दिशातिर मोडिन सक्छ। माओवादी कांग्रेस कित्तामा जाँदैन। फलतः अहिलेकै गबठन्धन जोगिन्छ। यस्तो स्थितिमा मात्र ओलीको फेरि प्रधानमन्त्री हुने सपना साकार हुन्छ।
अहिले ओलीको अर्जुनदृष्टि एमाले राष्ट्रपतिजस्तो देखिए पनि उनको लागि प्रधानमन्त्री हुने शर्तमा त्यो गौण हुन्छ। त्यसैले आफू प्रधानमन्त्री हुन उनले प्रचण्डकै चाहनाको नामलाई राष्ट्रपति उम्मेदवारको रूपमा प्रस्तुत पनि गर्न सक्छन्।
प्रचण्डको रोष्टर र सम्भावनाको खेल
प्रचण्डले प्रस्तुत गर्ने नाममा माधव नेपाल वा डा. बाबुराम भट्टराईको नाम हुनसक्ने प्रवल सम्भावना छ। नेपालको नाम प्रस्तुत गर्दा नेकपामा सँगै हुँदा उनले लगाएको गुन तिर्ने काम मात्र हुँदैन, एकीकृत समाजवादीको साथ र समर्थन पनि माओवादीलाई मिलिरहन्छ।
यो साथ तत्कालका लागि मात्र हैन, भविष्यका लागि पनि काम लाग्छ। यसले माओवादी र एकीकृत समाजवादीलाई एकताको बाटोतिर लैजान मार्गप्रशस्त गर्छ।
तर, नेपालको नाम दिँदा प्रचण्डलाई भारतको साथ र समर्थन नपाइने डर हुनसक्छ। उनलाई यो पनि थाहा छ कि भारतको समर्थनबिना नेपालको सिंहदरबारमा धेरै दिन डेरा बस्न पाइँदैन। यस्तो अवस्थामा राष्ट्रपति उम्मेदवारमा डा. भट्टराई उपयुक्त पात्र हुन सक्छन्। यदि डा. भट्टराईलाई राष्ट्रपति बनाउन सकियो भने एक सहयात्रीको राजनीतिक बिदाइ सुखद् बनाउन सकिन्छ र त्यसबाट माओवादी पार्टीले पनि शक्ति आर्जन गर्छ।
यसै पनि डा. भट्टराईले आफ्नो सुरक्षित क्षेत्र गोरखा–२ प्रचण्डलाई छोडेर गुनमात्र लगाएनन्, एक किसिमले सक्रिय राजनीतिबाट विश्राम पनि लिइसके। यो पृष्ठभूमिका कारण पनि डा. भट्टराई प्रचण्डको रोष्टरमा छन्।
ओलीको कोणबाट पनि यो एक सुरक्षित अवतरण देखिन्छ। यसका ओलीको ढोक्सामा बहुआयामिक फाइदा पर्न सक्छन्। सबैभन्दा ठूलो फाइदा त गठबन्धन जोगिन्छ र अढाई वर्षपछि उनी सिंहदरबार फर्कन्छन्। त्यतिबेला राष्ट्रपतिमा डा. भट्टराई हुने भएकाले भारतसँगको सम्बन्ध सहज हुन्छ। उनलाई दक्षिणतिरको शक्ति सन्तुलनका लागि अतिरिक्त समय खर्चनु पर्दैन।
यो गठबन्धन कायम राखिराख्दा अर्को चुनावमा सहगोत्रीय वामपन्थी गठबन्धन बन्न सक्छ। त्यसले देशलाई वैचारिक आधारको राजनीतिक ध्रुवीकरणतिर लैजान पनि सहयोग नै पुर्याउँछ।
ओलीले त्यसै गर्लान त ?
ओली नेपाली राजनीतिमा आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने अनिश्चयका आँधी हुन्। उनको पृष्ठभूमिलाई हेर्दा आसन्न राष्ट्रपति निर्वाचनमा अहिले नै ओलीले यसै गर्लान् भन्न सकिने स्थिति छैन।
भन्न त एमालेको पार्टी निर्णय भनिन्छ। तर, एमाले नै ‘बामाले’ भएको यतिबेला त्यो पार्टीमा ओलीले जे भन्छन्, त्यही हुने हो। अरू कसैको दैया चल्नेवाला छैन, सबै उनको निगाहमा चल्ने हुन्। त्यसैले जे भए पनि अबको नेपाली राजनीतिको दशा र दिशा ओलीले राष्ट्रपति उम्मेदवारका सन्दर्भमा लिने निर्णयमै भरपर्ने देखिन्छ।
ओलीले मेरो गोरूको बाह्रै टक्का गरे भने वर्तमान सत्ता गठबन्धन भत्कने र त्यसले नेपाली राजनीतिको पाँचवर्षे कोर्ष नै अर्को दिशातिर मोडिन्छ। ओलीको भागमा अहिलेसम्म परेका संघीय र प्रदेशसभाका सभामुख वा उपसभामुख मात्र बच्ने हुन्।
अहिले एमालेको ढोक्सामा परेका काठमाडौंको सिंहदरबारदेखि प्रदेशका सिंहदरबार पनि बाहिरिने छन्। र, सम्भवतः एमालेका लागि धेरै टाढा–टाढासम्म पनि सत्ता देखिँदैन।
राजनीति सत्ताकै लागि मात्र हो भन्ने भाष्य बन्दै गएको नेपालमा ओलीले यति ठूलो जुवा खेल्लान् जस्तो लाग्दैन। तर, ओली अनुमान बाहिरका ढोक्सा–खेलाडी भएकाले यसै भन्न पनि सकिँदैन। यद्यपि, यसअघि संसद् विघटन, नेकपा विघटन, एमाले विभाजनलगायतमा जुवा खेल्दा लागेका कहिल्यै निको नहुने घाउले अहिले पनि उनलाई पोलिरहेकै छन्।
अब के होला ?
अहिलेसम्मको आन्तरिक राजनीतिक परिस्थिति र बाह्य चलखेल दुवै हेर्दा ओलीको गोजीको राष्ट्रपति हुने सम्भावना टरेको जस्तो देखिएको छ। अझ त्यतिमात्र होइन, राष्ट्रपतिका सम्भावित नामहरूको रोष्टर एमालेको कोर एरियाबाट बाहिर पुग्यो भन्दा पनि फरक नपर्ने दृश्य देखिँदैछ।
यतिबेला राष्ट्रपति उम्मेदवारको रोष्टरमा चार नाम शीर्षपंक्तिमा देखिन्छन्, प्रजातान्त्रिक खेमाका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अनि वामपन्थी खेमाका माधव नेपाल र डा. बाबुराम भट्टराई। यदि कुनै नाटकीय परिवर्तन भएन भने यी चारमध्ये कुनै एक नाम नै नेपालको तेस्रो राष्ट्रपति हुने सम्भावना बढ्दो छ।
तर, सम्भावना उक्लेर जहाँ पुगे पनि त्यसलाई कहीँबाट पनि ओराल्ने क्षमता फेरि पनि प्रचण्ड, ओली र देउवाले राख्छन्। ओलीको गोजीको उम्मेदवारमा प्रचण्ड सहमत भए भने सबै खेल त्यही बिन्दुमा सकिन्छ र उही व्यक्ति नेपालको तेस्रो राष्ट्रपति हुन्छ। तर, त्यसमा प्रचण्ड सहमत भएनन् भने अर्को सम्भावनाको खेल सुुरू हुन्छ।
त्यतिबेला ओलीले प्रचण्ड सहमत हुने नाम दिन सक्छन् या प्रचण्डले ओली सहमत हुने नाम दिन सक्छन्। यी दुवै सहमत हुनसक्ने नामको रोष्टरमा पुग्दा माधव नेपाल वा डा. बाबुराम भट्टराईसम्म पुग्न सकिन्छ।
जब यो स्थितिमा प्रचण्ड र ओली पुग्दैनन्, तब प्रचण्ड र देउवाको खेल सुरू हुँदा कांग्रेसको रोष्टर खुल्ने हो। त्यतिबेला देउवा लगभग निर्णायक अवस्थामा हुन्छन् र उनले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुने सम्भावना बढ्छ। यो स्थितिमा रामचन्द्र पौडेलको पल्ला भारी हुनसक्छ।
तर, भारतीय पक्ष निर्णायक हुने स्थिति आयो भने त्यतिबेला कृष्णप्रसाद सिटौला भारी हुन सक्छन्। प्रचण्डलाई पनि पौडेलभन्दा सिटौला नै बढी ग्राह्य हुन्छन्। यस्तो स्थितिमा सिटौला नेपालको तेस्रो राष्ट्रपति हुने दिन नआउला भन्न सकिन्न।
तर, यी सबै सम्भावनाका खेल हुन्। नेपालको राजनीति सम्भावनाको खेलअनुसार चल्दैन। पार्टी नामका तीन ठूला प्राइभेट कम्पनीका हाकिमले जे चाहन्छन्, त्यही हुने स्थिति छ। कसैले चाहे पनि नचाहे पनि नेपालको राजनीति देउवा, ओली र प्रचण्डकै वरिपरि घुमिरहेको छ र कम्तीमा पनि आउँदा पाँच वर्ष उनीहरूमध्ये कुनै दुईले जे चाहन्छन्, त्यही हुन्छ।
यतिबेलासम्म ओली र प्रचण्ड मिलेर कार्यपालिका र व्यवस्थापिकाको प्रमुख बाँडेर लिए, राष्ट्रपतिको पद लिने बेलामा एउटाको पोल्टामा बढी शक्ति जाने भयो भन्ने चिन्ता अर्कोलाई हो। यो चिन्ताको समाधान गर्न यी दुई नेता सहमत भए भने कुरै सकिगो, सहमत भएनन् भने प्रचण्ड र देउवा मिलेर राष्ट्रपतिको निर्णय गर्छन्।
यो सबै दुरावस्थाका लागि यी तीन नेतालाई मात्र गाली गरेर पुग्दैन, खण्डित जनादेशमार्फत् त्रिशंकु संसद् दिने जनता पनि उत्तिकै जिम्मेवार छन्। त्यसमा हाम्रो देशको मिश्रित निर्वाचन प्रणाली पनि उत्तिकै जिम्मेवार छ। प्रस्तुत पृष्ठभूमिमा हामी सबै यस्तै परिणामका लागि अभिसप्त छौं।
जे होस् अर्को साता मुलुकले तेस्रो राष्ट्रपतिको सम्भावित बिजेता पाइसकेको हुनेछ। कामना गरौं, प्रचण्ड र ओलीमा सद्बुद्धि आउने छ जसले गर्दा राष्ट्रपतिको पदीय गरिमा कायम राख्ने एक सत्पात्र गणतन्त्र नेपालले राष्ट्रपतिका रूपमा पाउने छ।