नेकपा माओवादी केन्द्र प्रदेश १ का नेता कार्यकर्ताहरुले नेतृत्वमाथि चर्को असन्तोष व्यक्त गरेका छन्। पार्टीले आफ्नो नीति र सिद्धान्त बिर्सिएर काम गर्न थालेको उनीहरुको आरोप छ।
विराटनगरमा बिहीबारबाट सुरु भएको प्रदेश १ समितिको पूर्ण बैठकमा सहभागी प्रदेश सदस्यहरुले पार्टी नेतृत्वप्रति प्रश्न गर्दै हामी कुन पार्टीका सदस्य हौँ? भनेर छुट्याउन गाह्रो भएको बताए।
‘कहिले कांग्रेसलाई भोट हाल्न लाउनुहुन्छ, कहिले एमालेलाई? हामीले हाम्रो चुनाव चिन्हमा भोट हाल्न पाएनौं’ उनीहरुले नेतृत्वसँग आक्रोश व्यक्त गरेका छन्।
बैठकमा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा र स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज राम कार्की सहभागी थिए। बैठकमा सहभागीहरुले नीति र सिद्धान्त गलत्याएर हिँड्दा कहाँ पुग्ने भन्ने बाटोबाट समेत विमूख भएको बताए।
पार्टीमा नातावाद, चुल्होवाद र व्यक्तिवादी प्रवृत्ति हावी भएकोले सुधार गर्नुपर्ने अधिकांश प्रदेश सदस्यहरुको माग थियो। यस्तै उनीहरुले पार्टी कमिटिको बैठक नराख्ने अनि अध्यक्ष र सचिव तथा पदाधिकारीले सबै निर्णय गर्ने गरेको भन्दै आपत्ती जनाएका थिए।
नेताहरुले कमिटीगत रुपमा छलफल नगरी सिधै नेताको नजिक रहेका र नेताको परिवारभित्रका सदस्यलाई मात्र अवसर दिनाले पनि पार्टीप्रतिको विश्वास गुम्दै गएको बैठकमा सहभागी एक नेताले बताए।
ती नेताले भने, ‘पार्टीमा योगदानको कदर हुन छाडेको छ। जसले नेताको चाकरी गर्यो, उसैले अवसर पाउने परिपाटी सिर्जना भएको छ। यस्ता कामले पार्टी कहाँसम्म जाला र?’