विराट गोल्ड कपको तयारी तीव्र, २ करोड ५० लाख खर्च लाग्ने

पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता विराट गोल्डकप आगामी चैत ९ गतेदेखि सुरु हुँदैछ। त्यसका लागि आयोजकले गोल्डकपको तयारी तीव्र पारेको छ। विराटनगरको सहिद रंगशालामा चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने गोल्डकपका लागि रंगशाला मर्मतको काम भइरहेको आयोजकले जनाएको छ।

प्रतियोगिताका सह-संयोजक शुभशिष कोइरालाकाअनुसार सबै खेलहरु रात्रिकालीन हुने छन। त्यसका लागि मैदानको सवलीकरण भइरहेको कोइरालाले बताए।

प्रतियोगितामा नेपालसहित विदेशी टिमको पनि सहभागितामा आयोजकले जनाएको छ। तर, हालसम्म कुन–कुन टिमले सहभागिता जनाउने भन्ने अन्तिम नाम प्रकाशन भइसकेको छैन।

अघिल्ला संस्करणभन्दा यसपटक भिन्न तरिकाले आयोजना गरिएको आयोजकले बताएको छ। यसपटक विद्यालयका युवा विद्यार्थीहरूलाई विराट गोल्डकपको इतिहासको जानकारी दिने उद्देश्य राखिएको छ। आयोजकका अनुसार प्रतियोगितामा २ करोड ५० लाख खर्च लाग्ने अनुमान छ।

यसअघि आयोजकले चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिग आयोजना गर्ने भएपछि विराट गोल्डकपको मिति सरेको हो।

प्रकाशित मिति: : 2023-02-12 10:33:00

प्रतिकृया दिनुहोस्